तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जना...
पुस ७, २०८१ आइतबार
आजभोलि सामाजिक सञ्जालमा उनको तस्बीर देख्दा त्यही दिनको याद आउँछ । मलाई थाहा थिएन त्यो एक घन्टी मेरो जीवनको अविस्मरणीय घण्टी बन्छ भनेर । भर्खर–भर्खर एन्ड्रोइड मोबाइल बोक्न थालेको थिएँ । लाग्छ, आजभन्दा नौ वर्ष अगाडिको घटना हो । स्पष्ट सम्झना त छैन । तैपनि ती तस्विर आँखा सामू आइरहन्छ । बेलुकीको समय थियो सायद । खान खाइ सकेर कोठामा गफिदै थिएँ । मेरो सानो छोरी खेल्दै थिई । सायद भूकम्प गएको एक वर्ष मात्र भएको हुनुपर्छ ।
टिरिङ... टिरिङ... । अचानक फोनको बज्यो । त्यतिबेला एन्ड्रोइड मोबाइलको बेग्लै रिङटोन थियो । छोरीसँगै थिई । पलङमा भएको फोन लिन गई । फेरि अर्को घन्टी बज्यो । टिरिङ... टिरिङ...। यतिबेला घन्टी लामै बज्यो । मैले सोचेँ, कुनै साथीभाइको फोन हुनुपर्छ ।
फोनमा एक महिला बोल्न थाली– बचाऊ, मलाई बचाऊ, मलाई यहाँ मार्न लागिसके ।
सुन्दा परिचित आवाज जस्तो लाग्यो । मैले बिस्तारै सबै कुरा बताउन अनुरोध गरेँ । उनी आतिएकी थिई । उनको आवाज मैले बुझिनँ । फोन काटियो । मनमा चिसो पस्यो । त्यो बेलुकीको समय मलाई फोन गर्ने उनी को होलिन् ? अनि किन आँटिएकी होलिन् ? के भन्न खोजिरहेकी होलिन् ? मनमा थुप्रै कुराहरु खेले । मोबाइलमा फोन नम्बर चेक गरेँ । फोन नम्बर नेपालको थिएन । फोनको रेकर्डले सल्लालह भन्ने ठाउँ देखायो । नेपालमा यस्तो नामको स्थानबारे मलाई जानकारी थिएन । फेरि हेरेँ, सल्लालहको पछाडि लेखिएको थियो, ओमान ।
अहिलेको जस्तो इन्टरनेट सहज थिएन । ओमान भन्ने देशबारे मैले सुनेकै थिएन । मोबाइलको डाटा खोलेर गुगलमा खोजेँ । ओमान भन्ने देश त खाडी राष्ट्र रहेछ । खाडी राष्ट्रबाट त्यस्तो चित्कार पोख्ने को होलिन् ? मनमा चलेका अनेक तर्कनाबीच मैले सम्झेँ, उही नुना श्रेष्ठ । हामी सँगै कलेज पढ्थ्यौँ । उनी नेपालमा केही गर्न नसकेकाले विदेश जाने परिकल्पना गर्दथी । म प्रायः विदेश जाने नै भए राम्ररी बुझेर श्रम इजाजत लिएर मात्र जानुपर्छ, भन्थेँ ।
मसँग उनको परिवारको फोन नम्बर समेत थिएन । कहाँ बस्छिन्, के गर्छिन् थाहा थिएन । पढे लेखिकी नुना कसरी दलालको चङ्गुलमा पर्छिन् र ? विश्वास गर्न पनि गाह्रो भयो । फेरि समस्या नपरी फोन गर्ला र भन्ने भयो । अनि ल्यापटपमा उनीसँग सम्बन्धित केही कागज होला कि भनेर खोजेँ । केही थिएन ।
फेरि घण्टी बज्यो, टिरिङ टिरिङ । आवाज स्पष्ट थिएन, स्वर डरले काँपेको थियो । शब्दहरु दोहोरिरहे, मलाई बचाऊ–मलाई बचाऊ । मैले फोनको रेकर्ड मोड अन गरेँ, अनि भनेँ बिस्तारै सबै भन्नू, म सुन्दैछु । केही कुरा बुझियो, कुवेत भनेर ओमान पुर्याइएकी रहिछिन् । फोन काटियो ।
के गर्ने ? कसो गर्ने ? थाहै भएन । ओमान भन्ने देशको कुन ठाउँमा कुन अवस्थामा होलिन् भन्ने चिन्ताले म आत्तिएँ । पुन: फोन गर्ने प्रयास भयो । म सफल भइनँ । कल बाइपास भएको रहेछ । मैले श्रीमतीलाई आश्वासन दिएँ, म नुनालाई बचाउँछु भनेर । मैले आश्वासन त दिएँ , तर केही प्रमाण थिएन मसँग । अनि ओमान देशको बारे केही सुनेकै थिएन । आपतमा काम नलाग्ने मेरो दिमागले फोन रेकर्ड गर्न भ्याएछ ।
म चिन्तित थिएँ । आफू धार्मिक स्वभावको भएको हुनाले काठमाण्डौको एक मन्दिरमा भाकल पूजा गरेँ, त्यसकै भोलिपल्ट ल्यापटपमा खोज्दै गर्दा नुनाको भाई विश्वासको मोबाइल नम्बर भेटेँ । मेरो पहिलो कदम सफल भो । नुना फर्काउने सम्भावित उपायहरु खोज्न त्यस लगतै दुइटा कामहरु गरेँ । पहिलो काम, सम्पूर्ण कलहरु रेकर्ड गर्ने, विश्वासलाई भेट्ने र दोस्रो काम, उपयुक्त प्रमाण र भरपर्दो च्यानल खोज्ने । पहिलो काम श्रीमतीले गरिन् र दोस्रो मैले । अफिसमा बिदा लिई शुभ चिन्तकसँग भेट्न थालेँ र विश्वासलाई शुरुमै भेट्न त सकिनँ । तैपनि उता श्रीमतीले कल रेकर्ड गर्न थालिन् भने खोजीकार्य मैले । तर मसँग महत्वपूर्ण सूचना थिएन । यही क्रममा ओमानबाट मसँग धम्कीपूर्ण सन्देश आउन थालेका थिए, तीन लाख रुपैयाँ माग्दै ।
भाग्यले नुनाको भाइलाई फोन लाग्यो । धन्य, समयमै भाइले फोन उठायो । मैले बेलिविस्तार लगाएँ । मन अनियन्त्रित थियो । हामी नेपाल वैदेशिक रोजगार विभाग पुग्यौँ । जाँदा हाकिमले जाँदा श्रम स्वीकृति नलिने अनि अहिले कसरी बचाउने भनेर बेस्सरी थर्काए । मन आत्तियो । मनमा डर थियो र विश्वास पनि । पिपल्स फोरमको सहयोगले चिठी बन्यो । तर श्रम इजाजत नभएकोले त्यहाँ काम नहुने भयो । हामीलाई अझै एजेन्टबारे थाहा थिएन । त्यही दिन अन्नपूर्ण पोस्टमा एउटा समाचार छापियो, ओमानमा एक नेपाली महिलाको विवत्स हत्याबारे । त्यसमा एजेन्टको नाम उल्लेख थियो । मैले उसैलाई शङ्का गरेँ । अनि अपराध अनुसन्धान महाशाखामा उजूरी गरेँ । तर केही उँभो लागेन ।
श्रम विभागमा पुग्दा नि उस्तै जवाफ भो । विचलित मन यहीँ रोक्न मानेन र अनि साथीहरुलाई जानकारी गराएँ । उनीहरुले पहिला राहदानीको प्रतिलिपि चाहिने बताए । साथीहरुकै सल्लाहमा राहदानी विभाग पुगियो । राहदानी प्रतिलिपी त पाएनौँ तर विदेश जाँदा भरेको फारम भेटायौँ ।
त्यसैबाट उनी पुगेको देश र नेपाल छोडेको मिति प्राप्त भयो । समग्र जानकारी त थिएन । तैपनि हामी नेपालको कन्सुलर अफिस पुग्यौँ । रिपोर्ट गर्यौँ । भाग्यबस मध्य एसिया क्षेत्र हेर्ने एक जना पत्रकारसँग मेरो सम्पर्क भयो । उनले नेपालको एजेन्सीसँग सम्पर्क गर्नै कुरामा विश्वास दिलायो । पछि महानगरीय प्रहरी परिसर टेकुमा सर्वेन्द्र खनालसँग भेट भयो । उहासँगको भेटपछि जाहेरी दिने कुरा भयो । जाहेरी दिइयो । तर उल्टो नुनाले फोनमा कुटपिटमा परेको र चरम यातना दिन शुरु गरेको बताइन् । मैले पनि अनेक धम्की पाएँ र अनजान नम्बरबाट फोन गरी फिर्तीको लागि पैसा माग्न थाले । अति भएपछि बाध्य भएर केन्द्रीय अनुसन्धान ब्यूरो पनि पुगियो । भाग्य नै भन्नुपर्छ, एक हप्तामा नुना फर्की । ओमानको प्रहरीले उद्धार गरी नेपालको टिकट काटेर पठाएको रहेछ । नेपालको एक सामाजिक संस्थाले त्रिभुवन विमानस्थलबाट उनको उद्धार गरे ।
भोलिपल्ट मेरो मोबाइलमा फेरि एक घन्टी बज्यो, टिरिङ...टिरिङ । फोनमा नुना सुकसुकाई । भोलिपल्ट उनको भाइसँगै उनलाई भेट्न गएँ । उनी ललाइफकाइमा परी कसरी दिल्ली, कोलम्बो हुँदै ओमानमा बेचिइन् भन्ने उनकै मुखबाट सुनेँ । मैले सोधेँ, नुना यस्तो कसरी भयो? उनी डाँको छोडेर रुन थालिन् ।
‘तिमी त पढे लेखेकी केटी हौ ? कसैलाई जानकारी नदिई विदेश त नजानुपर्ने हो ।’ मैले भनेँ । हुने कुरा भइसक्यो । मैले त्यस्तो प्रश्न सोध्नु हुन्थेन । उनी झन् रुन थालिन् । रुँदा–रुँदा उनको स्वर नै सुकिसकेको थियो । उनी मेरो सामुन्ने रहेको एउटा सानो प्लास्टिकको मेचमा थचक्क बसिन् । उनी टाउको उठाएर बोल्न पनि सकिरहेकी थिइनन् । हिक्क ..हिक्क गर्दै रुन्चे स्वरमा उनी भन्दै गइन् ।
साथी विनायक, स्नातक तह पढेर पनि कुनै काम नपाएपछि नेपालमा बस्नै मन लागेन । साथीहरु सबैजना विभिन्न ओहदामा काम गरिरहँदा म भने पूरै बेरोजगार थिएँ । विदेश जान त मन थिएन, तर यहीँ बस्न सक्ने अवस्था थिएन । आमाबाबुसँग दैनिक खर्च माग्न पनि त मिलेन । आफू त हुर्कीसकेकी चेली, बुढेसकालमा आमाबाबुलाई भार बन्न पनि मन लागेन । काम खोज्दा खोज्दा हैरान भएपछि नचाहदा नचाहदै विदेश जाने इच्छा पलाउन थाल्यो । आमा बुबा नजान भन्नु हुन्थ्यो र यहीँ घरको काम गरी बस्न भन्नुहुन्थ्यो ।
भीरमा हामफाल्न लागेको गोरु म । आमाबाबुले बचाउन सक्ने कुरै भएन । एक एजेन्टको प्रलोभनमा परी कुवेत जान तयार भएँ । एजेन्टले सित्तैमा कुवेत पुर्याउने भनेपछि त के चाहियो र ? तर एजेन्टको सर्त चाहिँ परिवारलाई खबर गरेर जाने भए सबै शुल्क आफैँले व्यहोर्नु पर्ने भन्ने थियो । श्रम इजाजतको कुरा पनि नउठेको होइन । झन्झटिलो प्रकृयाबारे एजेन्टबाट सुनेपछि एजेन्टलाई नै विश्वास गर्न पुगेँ । आमाबुबाको कुरा नसुनेको म पछुताइरहेछु । भाइ त सानै थियो, उसलाई के थाहा ?
म काठमाण्डौैको गोङगबु बसपार्कबाट धुलिखेल, मुग्लिन, नारायणघाट, हेटौडा हुँदै झापाको बिर्तामोड पुगेँ । त्यहाँ राई थर गरेकी एक महिलाको घरमा एजेन्टले बास बसाए । दुई दिनको बासपछि हामी जीपबाट बिराटनगर पुग्यौँ । त्यसपछि रिक्सामा नेपालको सिमाना काट्ने कुरा भयो । हामीहरु आठ जना थियौँ । सबै एकैसाथ जाँदा नेपाल प्रहरीले अनावश्क दुःख दिने भनेर हामीलाई ती राई महिलाले तर्साए । अनि एक एक जना गरेर सिमाना काट्न लगाएपछि एक जना भारतीयले हामीलाई लिन आए । त्यो भारतीयसँग हाम्रो फोटो थियो । हामीलाई उनको नाम थाहा भएन । पढ्ने लेख्ने भएर नहुने रहेछ, व्यवहारमा उतार्न नजानेपछि । बिहान १०ः ३० बजेतिर जोगबनी रेलेवे स्टेसनबाट झन्डै एक सय १० किलोमिटरको दूरीमा यात्रा गर्दै दिउँसोको एक बजेतिर काटिहार रेल्वे स्टेसन पुग्यौँ । त्यहाँ खाना खाएर फेरि दिल्लीको रेल समात्यौँ । दिल्ली पुग्न करिब २२ घण्टा लाग्दोरहेछ ।
पुरानो दिल्लीको चाँदनी चोक नजिक एक होटलमा तीन चार रात बस्यौँ । जामा मस्जिद राम्रो लाग्यो । हामीलाई आफ्नै खर्चमा दिल्ली घुम्न अनुमति थियो । त्यहाँ सबै राम्रै थियो र घरमा फोन गर्न पनि दिइन्थ्यो । तर मेरो भने फोन गर्ने आँट नै भएन । दिल्लीमा केही दिन बसाइपछि हामीलाई कोलम्बो लगियो । कोलम्बोमा पुग्ने बितिकै हाम्रो फोन पासपोर्ट सबै हामीबाट खोसियो । जब आफू लगायत अरू नेपाली महिलाहरुलाई होटलको कोठाबाट बाहिर जान दिइएन र झ्यालको पर्दा खोल्न दिइएन तब मात्र आफू बेचिएको थाहा पायौँ हामीले ।
नुना हिक्कहिक्क गर्दै बोल्दै थिइन् । झोलाबाट पानी निकालेर खान दिएँ । उनी बोल्दै गइन् । कोलम्बोको गोप्य बन्दीगृहबाट ओमान पुगेको उनको कथा सुनेर मेरो जीउ सिरिङ्ग भयो ।
आधुनिक युगको मानव तस्करी कथा त खसी बेच्ने खसी बजारभन्दा फरक रहेनछ, उनले बताइन् । नेपाली चेलीलाई घरेलु कामदारको रूपमा लगेर यौन दासीसमेत बनाउने कुरा उनले आफैले देखेको बताइन् । हामीलाई ओमानको मस्कट शहरको एउटा नेपालीकै कार्यालयमा राखिएको थियो । बिहान र बेलुकी सुख्खा रोटी खान दिइन्थ्यो । हामीलाई ओमानीको माझमा लाइनै राखिन्थ्यो । हामीमध्ये मनपर्ने कुनै व्यक्ति छानेर ओमानीको घरमा घरेलु काममा लगिन्थ्यो । कसैलाई आठ दश दिनमा कार्यालय फर्काइन्थ्यो त कसैलाई दुई तीन दिनमा । मलाई पनि विभिन्न घरमा लगियो । बच्चाको दिसा पुछ्नेदेखि शौचालय सफा गर्ने काम लगाइन्थ्यो । काममा चित्त नबुझ्दा छातीमा बुटको वर्षा हुन्थ्यो । साहुनीले नराम्रो नजरले हेर्थे । तापनि साहूनी भएको घरमा सुरक्षित भएको महसुस हुन्थ्यो । किनकी अन्य घरमा त साहूको नजरबाट बचेर हिँड्नुपथ्र्यो । मेरो उमेर पनि गइसकेको र भाग्यमानी भएर होला , म यौन हिँसाबाट चैँ बचेँ । तर साथीकाे शरीरमा चुरोटको दाम हुन्थ्यो । शरीर सुम्पनुभन्दा बाहेक अरू उपाय नभएको उनीहरु सुनाउँथे । पैसाको त कुरै नगरौँ । बाँच्न पाए पुग्थ्यो ।
नुनाको कुरा सुन्दा सुन्दा मेरा आँखा रसाए ।
जब मैले नेपाल फर्काउन अनुरोध गरेँ । त्यसपछि यातनाको ताण्डब शुरु भयो । मलाई शौचालयमै थुनियो । कैयौँ चोटी मेरो कपाल लुछियो र छालाको बुटले हिर्काए। म बिरामी पर्न थालेँ । भाग्य नै भन्नुपर्छ, एउटा ओमानी साहुले मेरो यातना सहन नसकी नेपालमा फोन गर्न लगाए । मलाई तिम्रो नम्बर याद थियो । तिमीलाई नै फोन गरेँ । फोन गरेको निहुँमा मलाई काममा लगाउने नेपाली एजेन्टले दिनहुँ कुटपिट गर्थे । जसै तिमीले प्रहरीमा उजुरी दियौ, उनीहरु डराए । तर धम्की दिन छोडेनन् ।
बाहिर ओमान प्रहरीको गाडीको साइरन बज्दा मलाई नै लिन आएको जस्तो लाग्थ्यो । हरेक रात पशुपतिनाथलाई पुकार्थे ं। मलाई फोन गर्न दिने ओमानी साहूले नेपाली एजेन्टलाई धम्काएरै मलाई उहाँको घरमा लैजानुभयो । थाहा थिएन, उहाँ त ओमानी मन्त्री पो रहेछन् । तिम्रो रिपोर्ट उसले पाइसकेको रहेछ । आफ्नै पैसामा टिकट काटेर नेपाल फर्काउने वचन दिनुभयो । उहाँले खाना पनि राम्रै दिनुभयो । भोलिपल्ट एअरपोर्टबाट मलाई नेपाल पठाउनुभयो । मलाई बिदा गर्दा उहाँको आँखामा गहभरी आँसु थियो । सायद भगवान पशुतिनाथ नै ओमानी मन्त्री भएर आएको जस्तो लाग्यो ।
अनि विनायक, म कलेजमा तिमीसँग नजिकिन त सकिनँ । तर तिम्रो गुण यो जीवन रहेसम्म बिर्सने छैन । उनी उठेर म बसेको ठाउँमा आई अँगालो हालेर रोइरहिन् । म शब्दविहीन भएर नुनाको कुरा सुनिरहेँ ।
नुनाको पीडा सुनेर मन नै भारी भयो ।
आफ्नो समयमै उद्धार भएर मात्र आफू बचेको बताउने उनको कथा सुनेर म निशब्द भएँ ।
टिरिङ...टिरिङ... । फोनमा घण्टी बज्यो ।
म भने उनको तस्बीरमै भुलिरहेँ । जुन् तस्बीर मैले देखेँ, सायद कहिल्यै देखेको थिइनँ । त्यो तस्बीरमा मैले नेपाली विदेशिनुको पीडा र छटपटी सँगै देखेँ । म त्यो तस्बीर सधैँ सम्झिरहनेछु ।
मेरा लागि उनको तस्बीर नै उनको कथा हो । नारीको कथा सुन्न नचाहने यो समाजमा नुनाले आफ्ना कथा तस्बीरसँगै भनिरहेकी छिन् । अपराधीहरु खुलेआम हिंडिरहे पनि न्यायको लागि उनको लडाइ अझै सकेको छैन । गत वर्ष मात्र एक अपराधी तीन वर्षको जेलजीवन र क्षतिपूर्ति पछि केही रकम तिरेर जेलबाट मुक्त भए । यस्तै छ देशको कानून । अझै अपराधीहरु जोगिएर हिँडिरहेको तीतो सत्यले नुनालाई पोलिरहन्छ । तै पनि मनलाई सम्हालेर अघि बढिरहेको देख्दा नुनाप्रति गर्व लाग्छ । किनकी नुना आफू मानव बेचविखनमा परेर उद्धारपछि मानब तस्करसँग लडेर सबैलाई नसके पनि केही अपराधीहरुलाई जेलको यात्रा गर्न बाध्य पार्ने साहसी महिला हुन् । जिन्दगीको त्यो घण्टीले मलाई ठूलो पाठ सिकायो ।
उही नुना आजभोलि सामाजिक सञ्जालमा फोटो पोस्ट गरिरहन्छे । म भने कहिल्यै नविर्सने त्यही घण्टी सम्झिरहन्छु । टिरिङ..टिरिङ ...
(लेखक अहिले ख्वप मा.वि./कलेज, भक्तपुरमा अध्यापनरत हुनुहुन्छ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ख्वप माध्यमिक विद्यालय भक्तपुरमा अध्यापनरत हुनुहुन्छ।