तिहार सकियो : काठमाण्डौसहित तराई/मधेसमा छठ पर्वको तयारी शुरु

 कात्तिक १९, २०८१ सोमबार ६:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाए । यस्तै दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटिकासँगै झिलिमिली पर्व तिहार सकिएको छ ।

यसैबीच तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु भएको छ । काठमाण्डौसहित तराई/मधेसका जिल्लामा छठको तयारी शुरु भएको हो । गुह्येश्वरी मन्दिरमुनिको बाग्मती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ । विशेषगरी सन्तानको सुख, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।

छठमा प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुलालगायत किनमेलका लागि जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।

तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेहरुको भीडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, मुला, अदुवाको बोट पर्छन् । अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् ।

घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । केही भारतीय नागरिकसमेत नेपाली बजारमा छठका लागि माटोका भाँडो बिक्रि गर्न आउन थालेका छन् ।

धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया