तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जना...
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – धादिङको रुवीभ्याली घुम्न जाने रहर पहिलेदेखि नै थियो । तर मौका मिलेको थिएन । यसपटक गजबको मौका मिल्यो, रुवीभ्यालीको बस्ती कटेर त्योभन्दा पनि माथि गणेश हिमालमा पर्ने कालोदह, सेतोदह, आधार शिविर र गणेशकुण्ड पुग्ने । पदयात्राको चाँजोपाँजो मिलाएको थियो डिभिजन वन कार्यालय धादिङले । वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको घुमाइ अनुभव र रुवीभ्यालीको वर्णन पढेको थिएँ । रुवीभ्यालीलाई राम्रोसँग चिनेका उनै आचार्यको नेतृत्वमा घुम्न पाइने भएकाले मन उत्साहित भयो । पत्रकार महासङ्घ धादिङका अध्यक्षसमेत रहेका दाजु राजाराम शर्माले आचार्यसँग सम्पर्क गराइदिनुभयो । आचार्यसँग कुरा भएपछि १० दिनको गणेश हिमाल पदयात्राको तयारीमा लागें ।
सूर्यको पूजाआराधना गर्ने छठ पर्वको दिन कात्तिक २२ गते सूर्यको पहिलो किरण पर्ने हिमाली क्षेत्रको पदयात्राका लागि हामी धादिङबेसीबाट निस्क्यौं । साथमा डिभिजन वन कार्यालय र रुवीभ्याली गाउँपालिकाका प्रतिनिधिसँगै धादिङका पत्रकार साथी आकाश र लेखक नविनवन्धु पहाडी पनि हुनुहुन्थ्यो । बिहान ७ बजे धादिङबेसीबाट हाम्रो यात्रा शुरु भयो । रुवीभ्याली र गणेश हिमालको पर्यापर्यटनको लागि पदमार्ग पहिचान गर्ने लक्ष्यका साथ वन कार्यालयले उचाइ नाप्ने उपकरण र ठाउँ–ठाउँमा सङ्केत लेख्ने इनामेलसहित आवश्यक सामग्री जोहो गरेको थियो ।
घर धादिङ भए पनि धादिङबेसीबाट उत्तरी क्षेत्रको लागि मेरो यो यात्रा नै पहिलो थियो । धादिङबेसीबाट साङ्कोष, टोड्के, लपाङबेसी, किन्ताङफेदी, दार्खाफेदी, केराबारी, डुन्डुरे, झार्लाङ, बोराङ हुँदै तिप्लिङसम्म पुग्न गाडीमा नौ घण्टा लाग्यो । त्यहाँबाट अर्को बस्ती पुरु र लिङ्जोसम्म पनि कच्ची मोटरबाटो पुगेको छ । तर अशोजको वर्षा र पहिरोले बिगारेको सडक बनेको छैन । त्यसैले पहिलो दिनको बास बस्ने ठाउँ पुरु पुग्न तिप्लिङबाट झन्डै दुई घण्टा पैदल हिँड्नुपर्यो ।
रुवीभ्यालीको नामजस्तै ठाउँ पनि उत्तिकै राम्रो । बहुमूल्य पत्थर रुबी पाइने ठाउँ भएकाले साविकको तिप्लिङ, सेर्तुङ र लापा गाविसलाई समेटेर रुवीभ्याली नामाकरण गरिएको हो । तर बहुमूल्य पत्थर रुवी जोकोहीले देख्न र भेट्न सक्दैन । रुवीजत्तिकै महत्वका प्राकृतिक सम्पदा, तामाङ समुदायका संस्कृति, रहनसहन, भेषभुषा अनि हरियाली खेतबारी र भीरपाखा भने मज्जाले देख्न र महसुस गर्न पाइन्छ ।
‘यहाँका खेतबारी कहिल्यै खाली हुँदैनन्, सधैँ हराभरा हुन्छन्’ डिभिजन वन कार्यालयका प्रमुख आचार्यले भन्नुभयो । ‘हामी बालीनालीमा विषादी पनि प्रयोग गर्दैनौं, सबै अर्गानिक हुन्छन्’ सँगै हिँडिरहेका स्थानीय प्रकाश घलेले थप्नुभयो । सामुदायिक वनका अध्यक्षसमेत रहेका प्रकाश घलेकै घरमा हाम्रो पहिलो दिनको बास थियो ।
दोस्रो दिन हामी पुरुबाट झन्डै डेढघण्टा हिँडेर धादिङको सबैभन्दा उत्तरको गाउँ रुवीभ्यालीको लिङ्जो पुग्यौं । चिटिक्क मिलेका बस्ती, उस्तै हराभरा फाँट, सुन्दर डाँडाकाँडा र हरियाली । जता हेर्यो, उतै मनमोहक दृश्य । लिङ्जो घर भएका सामुदायिक वनका अर्का अध्यक्ष प्रकाश घलेको घरमा बिहानको खाना खाएर हामी माथितिर लाग्यौं । त्यहाँबाट केही स्थानीयबासिन्दा पनि थपिनुभयो । अबको यात्रा वस्तीभन्दा पर चौंरीखर्कतिर थियो । ‘अब हामी केहीबेर सजिलो बाटो हिँड्छौं, त्यसपछि चौंरी र भेडा हिँड्ने बाटो आउँछ जुन सजिलो हुँदैन’ हाम्रो लागि खाना र बासको नेतृत्व गरेर अघि हिँड्नुभएका स्थानीय मर्कुस तामाङले भन्नुभयो । लिङ्जोबाट अबाम खोला, आपहम खोला र नुमसिं खर्कसम्मको यात्रा त्यति अप्ठ्यारो लागेन ।
नुमसिं खर्कमा एउटा चौंरी गोठ भेटियो । गोठमा छुर्पी बनाउँदै हुनुहुन्थ्यो, स्थानीय योरानी तामाङ । उहाँले चौंरीको दूध र छुर्पी चाख्न दिनुभयो । त्यसपछि हामी उकालो चढ्यौं । कामधेनु ओडार, काम्धुमी खोला, सङ्सो खर्क, बाबिल खोला, बाबिल तातोपानी हुँदै सुन्दर चोहो खर्कमा पुग्दा झमक्क साँझ पर्न लागेको थियो । हामीभन्दा अगाडि पुगेका मर्कुस तामाङ, सञ्जय थापा, प्रेमराज घले, मनिष तामाङ, विशाल तामाङ लगायतका साथीहरुले खाना बसाल्ने तयारी गरिसक्नु भएको थियो । ठूल्ठूला मुढा बालेर लहरै प्रेसर कुकर बसालेर खाना पकाउने उहाँहरुको शैली नयाँ र रोचक लाग्यो । त्यो रात हामी चौंरीको गोठभित्र टेन्ट टाँगेर सुत्यौं ।
भोलिपल्ट तेस्रो दिन बिहानै हाम्रो यात्रा शुरु भयो । सुन्दर चोहो खर्कबाट ठूलो बाबिल खर्क, गुलुङ खोला, रिसर खर्क, लिक्र खर्क, न्याङगाङ खोला हुँदै छ्यारो चो खर्कसम्म पुग्न ६ घण्टा लाग्यो । जति उचाइमा पुग्यो, त्यति नै हिँड्न अप्ठ्यारो । अलिअलि तेर्सो, तर धेरै ठाडो उकालो । झण्डै ४ हजार मिटरको उचाइमा रहेको छ्यारो चो खर्कमा त्यो दिनको बास थियो । अघिल्लो दिन बास बसेको ठाउँ सुन्दर चोहो खर्कमा दाउराको दुःख थिएन । तर चार हजार मिटरभन्दा माथिको उचाइमा रुखविरुवा कमै हुने भएकाले दाउरा पाउन मुश्किल थियो । तर मर्कुस तामाङ र उहाँका साथीहरुले बास बस्ने ठाउँभन्दा तल झरेर दाहुरा बटुल्नुभयो र मीठो खाना पकाएर खुवाउनुभयो । त्यो रात शून्य डिग्री सेल्सियस तापक्रमको अत्यन्तै चिसो ठाउँमा टेन्टभित्रको बास भयो ।
भोलिपल्ट बिहान छ्यारा र्चो खर्कबाट हामी उकालो चढ्यौं । जति माथि पुग्यो, उति चिसो र सिरेटोे । अघिल्लो दिनसम्म त अलिअलि हिँड्ने बाटो थियो । अबको यात्रामा भने बाटोको नामोनिशान थिएन । हामीलाई बाटो देखाउन अगाडि लागेका स्थानीय वीबहादुर तामाङ र टिस्मान तामाङको पाइला पच्छ्याउँदै हामी ठाडै उकालो चढ्यौं । तलतिर बादल, माथि चिसो हावा । हुस्सुले वरपर केही नदेखिने ठाउँ । टोपी खस्ने उकालोमा अलिकति हिँड्दैमा स्याँस्याँ हुने । बल्लतल्ल खुट्टा घिसार्दै, हातले टेक्दै, घस्र्रंदै हामी हाँहाँ खर्क, खर्चीदावाको मुनी हुँदै चार हजार छ सय ५२ मिटरको उचाइमा रहेको खर्चीपासमा उक्लियौं । जहाँ पुरै सेताम्य हिउँ थियो । हिउँ पर्ने ठाउँ कालिञ्चोक र मुक्तिनाथ पुगे पनि हिउँले ढाकेको हिमाल नै पुगेको मेरो यो पहिलो अनुभव थियो । हाम्रो १० दिने यात्राको सबैभन्दा उचाइको ठाउँ नै यही थियो । त्यसपछिको हाम्रो गन्तव्य चार हजार दुई सयमिटर भन्दा माथिको थिएन । यात्राको सबैभन्दा उचाइमा रहेको ठाउँमा पुग्न सफल भएकोमा हामी गदगद थियौं । एकछिन हिउँको मज्जा लिएपछि हामी ओरालो झर्यौं । जति ओरालो झर्याे, उति सजिलो भयो । त्यो दिनको हाम्रो बास थियो कालोदह र सेतोदह नजिक पर्ने चार हजार एक सय मिटर उचाइमा रहेको खर्कमा ।
रातभर फुर्रफुर्र हिउँ परे पनि भोलिपल्ट बिहान उज्यालो हुनेबित्तिकै पारिलो घाम लाग्यो । पारिलो घाममा वरपरका डाँडा र गणेश हिमाल मनमोहक देखिए । आँखै अगाडि देखिएका हिमाल र डाँडाकाँडा हेर्दै हामी नजिकै रहेको सेतोदह र कालोदहतिर लाग्यौं । सेतोदहमा पानी थिएन । तर कालोदह पानीले भरिएको थियो । कालोदहको दक्षिणतिर किनारबाट हेर्दा गणेश हिमालको सुन्दर छाया पानीमुनी देखियो । पोखराको फेवातालमा माछापुच्छ्रेको छायाँजस्तै कालोदहमा गणेश हिमालको छायाँ । वर्णन गरेर नसकिने मनमोहक दृश्य । स्थानीयबासिन्दाका अनुसार बोन्पो धर्ममा विश्वास गर्ने धामीझाँक्रीले आफूलाई दीक्षित गर्ने क्रममा यो दहमा आएपछि मात्र आफ्नो शिक्षा पूरा हुने मानिन्छ । यहाँ जनै पूर्णिमाको बेलामा लामा झाँक्रीहरुले विशेष पूजा गर्छन् । गोसाईंकुण्डजस्तै पवित्र तीर्थस्थल मानिने यो ठाउँ प्रचारको कमीले ओझेलमा परेको रहेछ ।
कालोदहको सुन्दर दृश्यले मोहित हुँदै हामी अर्को गन्तव्यको तयारीमा लाग्यौं । अबको हाम्रो यात्रा गणेश हिमाल आधारशिविर र गणेश कुण्डको थियो । कालोदह हाराहारीकै उचाइमा रहेको यो ठाउँमा पुग्न तेर्सो र सजिलो बाटो थिएन । ‘यहाँबाट निकै ओरालो झरेर तेर्सो लागेर बास बस्ने, अनि उकालो लागेर फेरि बास बसेपछि अर्को दिनको बिहान मात्रै आधारशिविर पुग्न सकिन्छ’ हामीलाई बाटो देखाउने वीबहादुर तामाङले भन्नुभयो । ‘हिउँ परेर बाटो बिग्रेको छ रे, तर हामी खुकुरीले खुर्केर बाटो बनाउँदै तपाईंहरुलाई लैजान्छौं,’ बाटो देखाउने अर्का साथी टिस्मान तामाङले भन्नुभयो । अघिल्लो दिन हिँडेकोजस्तो उचाइमा पुग्न नपर्ने भन्ने सुनेर एक मन उत्साहित भयो, तर बाटो अप्ठ्यारो छ भन्ने सुनेपछि डर पनि लाग्यो । त्यसमाथि चार दिनसम्म उकालो हिँडेर ज्यान लखतरान भएर गलेको छ । तै पनि हिँड्नै भनेर आएकाले पछि हट्ने कुरो भएन । त्यसपछि हामी आजको बास बस्ने ठाउँतिर ओरालो झर्यौं ।
लाङमा खर्कबाट कलासिं खर्कसम्म भेडा हिँड्ने बाटो ठिकठिकै थियो । त्यसपछि फेरि बाटोको नामोनिशान थिएन । हामीलाई बाटो देखाउन हिँडेका स्थानीय साथीहरुले निगालोघारी र लालीगुराँसको घारी हुँदै लैजानुभयो । कतै अक्करिलो भीर, कतै खोला र पहिरो । अलिकति खुट्टा चिप्लियो भने सिधै तल खोंचमा पुग्ने । डर लागे पनि नहिँडी सुख थिएन । बल्लतल्ल हामी आँखु खोलाको मुहानमा पर्ने ब्लोन्दङ खोला र बगम खोलाको दोभानमा पुग्यौं । त्यो दिन हामी चार हजार एक सय मिटरबाट एकैचोटी तीन हजार ९० मिटरमा झर्याैँ । त्यहाँबाट फेरि एक हजार मिटरभन्दा बढी उचाइमा उक्लनै बाँकी छ । बाटो भएको भए तेर्सो आउन हुन्थ्यो, तर निगालोघारीमा त बाटो भेटिएन, हिमालमा तेर्सो हिँड्ने बाटो कसरी भेट्नु ?
आँखु खोलाको मुहानमा पर्ने निगालोघारीमा बास बसेपछि भोलिपल्ट बिहान हामी गणेश हिमाल आधार शिविरतिर उक्ल्यौं । तीन घण्टा उक्लेपछि खाना खाने, त्यहाँबाट दुई घण्टा उक्लिएपछि बास बस्ने, अनि भोलिपल्ट बिहान आधारशिविर पुगेर त्यहीँ फर्कने र त्यहाँ फेरि बास बसेपछि अर्को दिन गणेशकुण्ड र तातोपानी हुँदै धादिङबेसी झर्ने योजना थियो । तर तीन घण्टा उकालो चढेर खाना खाने ठाउँमा पुग्दा सँगै गएका एकजना साथी सिकिस्त बिरामी हुनुभयो । अरू केही साथीहरुलाई पनि चिसोले सताएको थियो । अब यहाँबाट उकालो लाग्दा बिरामीको अवस्था झन बिग्रने जोखिम भएकाले पदयात्राका बाँकी कार्यक्रम स्थगित गरौं भन्ने विष्णु सरको प्रस्तावमा हामी सबैले समर्थन जनायौं । त्यसपछि हामी फेरि ओरालो झर्यौं । त्यो दिन थारा उ भन्ने ठूलो ओडारमा हाम्रो बास भयो ।
बिरामीको अवस्था झन् झन् गम्भीर भएकाले हेलिकोप्टरबाट उद्धार गर्नुको अर्को विकल्प भएन । नवीन सर, वन कार्यालयका साथी सन्दीप र म अरू तीनजना स्थानीय बासिन्दालाई साथमा लिएर भोलिपल्ट बिहानै उद्धारको लागि प्रशासनलाई खबर गर्न भनेर हिँड्यौं । विष्णु सरसहित अरू साथीहरु बिरामी कुरेर बस्नुभयो । बस्तीभन्दा निकै टाढा र खोंच भएकाले फोन सम्पर्क हुँदैन थियो । हामी आफैं चार दिनदेखि फोन सम्पर्कबाट टाढा थियौं । जङ्गल, खोला, पहिरो र अक्करिलो भीर पार गर्दै ६ घण्टा हिँडेपछि बल्लतल्ल फोन सम्पर्क भयो । प्रमुख जिल्ला अधिकारीसँगै गृह मन्त्रालय, नेपाली सेना र धादिङका पत्रकार साथीहरुसँग छिटो उद्धारको लागि पहल गर्न अनुरोध गर्याैँ । तर आकश्मिक उद्धारमा पनि अनेक प्रशासनिक प्रक्रियामा अल्झिंदा त्यो दिन ढिलो भयो । खराब मौसमले हेलिकोप्टर बस्न सकेन । हामी निराश हुँदै हेल्दुङ गाउँतिर अगाडि बढिरह्यौं । बाटोमा स्थानीय साथीहरुले नयाँ तरिकाले चाउचाउ पकाएर खुवाउनुभयो । चाउचाउ पकाउने भाँडा थिएन । उहाँहरुले चाउचाउको प्याकेटमै पानी हालेर टमक्क बाँधी आगोमा सेकाउनुभयो । भाँडोमा पकाएजस्तै स्वाद । त्यो दिन त्यही चाउचाउको भरमा हामी १४ घण्टा हिँडेर हिन्दुङमा बास बस्न पुग्यौं ।
बिहान छोडेर हिँडेका बिरामी र अरू साथीहरुको अवस्था के भयो भन्ने केही थाहा थिएन । भोलिपल्ट बिहान हुनेबित्तिकै फेरि हामीले उद्धारको लागि प्रशासनसँग अनुरोध गर्याैँ । रुवीभ्याली गाउँपालिकाका प्रतिनिधि विपिन तामाङ लगायत हेन्दुङका साथीहरु र धादिङका पत्रकार साथीहरुले पनि साथ दिनुभयो । सबैको प्रयासबाट बिरामीको सकुशल उद्धार भयो । बिरामी र बिरामी कुर्न बसेका सबै सकुशल भएको खबर थाहा पाएर हामीले सन्तोषको सास फेर्याैँ । त्यसपछि हिन्दुङ गाउँको तल रहेको तातोपानीमा नुहाएर धादिङबेसी फर्कियौं ।
एक हप्ताको गणेश हिमालको यात्रामा अनगिन्ती अनुभव हासिल भयो । हिमाली जनजीवन, संस्कृति र रहनसहनलाई नजिकबाट नियाल्न र महसुस गर्न पाइयो । चार हजार छ सय ५२ मिटरको हार्चीपास हुँदै कालोदह र सेतोदह पुग्न सफल भइयो । स्थानीय वीबहादुर तामाङ र टिस्मान तामाङले खुकुरीले खुर्केको हिउँमा टेक्दै गणेशकुण्ड र आधार शिविरसम्म पुग्ने योजना भने अधुरै रह्यो ।
याे पनि पढ्नुहाेस् :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।