उपचुनावको चर्चामा कीर्तिपुर : उम्मेदवारले ठोस योजना नल्याएको मतदाताको गुनासो

 मंसिर ६, २०८१ बिहीबार १३:४९:३५ | विकाश चापागाईँ
unn.prixa.net

काठमाण्डौ – आउँदो मङ्सिर १६ गते पालिकाका रिक्त विभिन्न ४४ पदका लागि उपचुनाव हुँदैछ । चुनाव हुने सबै ठाउँमा उत्साह भए पनि सबैभन्दा बढी चर्चा र चासो चाहिँ कीर्तिपुरमा छ ।

नागरपालिकाको मेयरको लागि कीर्तिपुरमा मात्रै उपचुनाव हुने भएकाले दल र उम्मेदवारको ध्यान पनि यहीँ बढी केन्द्रित छ । कीर्तिपुरका तत्कालिन मेयर राजकुमार नकर्मीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो ।

यहाँ मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । १० वडा, २० मतदानस्थल र ३८ वटा मतदान केन्द्र रहेको कीर्तिपुरमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

कीर्तिपुरको मेयर पदका लागि नेपाली कांग्रेसले कृष्णमान डङ्गोल, एमालेले डा.सुरेन्द्र मानन्धर, माओवादीले प्राध्यापक डा.शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा उठाएका छन् । नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीको साथ लिएर उम्मेदवारी दर्ता गरेको हो ।

माओवादीको उम्मेदवारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको पनि साथ छ । स्वतन्त्रबाट ११ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाए पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी (नयाँ शक्ति) पनि प्रतिस्पर्धामा छन् । 

मतदाताको गुनासो

सबैले चासोका साथ हेरेको कीर्तिपुर नगरपालिकाका चाेक, चिया पसल, चौतारा, फल्चालगायतका ठाउँमा उपचुनावकोबारे छलफल हुन थालेको छ । मतदाताहरु नगरपालिकामा नयाँ जनप्रतिनिधि आएर विकास हुन्छ भन्नेमा अझै विश्वस्त देखिँदैनन् । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकता नभएको उनीहरुको गुनासो छ ।

कीर्तिपुरको पाँगा बस्ने ६४ वर्षीय प्रकाश महर्जनले पञ्चायतकालदेखिको चुनाव हेर्दै आउनुभएको छ । २०७९ सालमा भएको पालिकाको चुनावमा निजामती कर्मचारी रहनुभएका महर्जन अरु पालिकाको मतदानस्थलमा खटिँदा मत हाल्न पाउनुभएन । 

‘पहिलेको चुनावमा पार्टीहरुले घोषणा पत्र लिएर आउँथे, अहिले कुनै पार्टीले घोषणा पत्र ल्याएका छैनन्’ उहाँले भन्नुभयो, ‘स्वतन्त्र उम्मदेवारी दिने व्यक्तिले पनि ठोस कार्ययोजना ल्याएको देखिँदैन । हामी बालेन जस्तै हौँ मात्र भन्छन् ।’

कीर्तिपुर नगरपालिकाको खासीबजार बस्ने ५० वर्षीय रमेश बज्राचार्य १३ वर्षपछि वैदेशिक रोजगारीबाट फर्किनुभएको छ । मङ्सिर १६ गते कीर्तिपुर नगरपालिकाको मेयर र दुई वटा वडाअध्यक्ष पदको उपचुनाव हुुने भए पनि खासै उत्साह नदेखिएको उहाँ बताउनुहुन्छ ।

‘अहिलेसम्म उम्मेदवारीले खासै प्रचारप्रसार गरेको देखिँदैन, बाहिरबाट केही मानिस ल्याएर देखाएको जस्तो लाग्छ,’ उहाँले भन्नुभयो, ‘नगरपालिकामा लाग्दै आएको कर, बाह्रै महिना पानी र फोहरको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउने उम्मदेवारलाई मात्र मत दिन्छौँ ।’

‘सङ्घीयता पछि दुई वटा चुनाव भए, केही काम चाहिँ भएका छन्,’ कीर्तिपुर देवढोका बस्ने ७८ वर्षीय मन्तकाजी महर्जन भन्नुहुन्छ, ‘चुनवाका बेला सबै उम्मेदवारले विकास गर्छु भन्छन् तर सोचेअनुसार अझै काम हुन सकेको छैन ।’

२०७९ सालको उपचुनावको नतिजा 

२०७९ सालमा भएको पालिका चुनावमा कीर्तिपुरमा सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा थिए । कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर विजयी हुनुभएको थियो । एमाले उम्मेदवार केशरत्न बज्राचार्यको पाँच हजार पाँच सय सात र माओवादी केन्द्रका शिवशरण महर्जनको चार हजार ९० मत आएको थियो ।

नेकपा एकीकृत समाजवादीका बटुकृष्ण थापाले एक हजार एक सय ५३ मत ल्याउनुभएको थियो । राप्रपाका जीतबहादुर विष्टको पाँच सय ७२, नेपाल मजदुर किसानका श्रीकृष्ण महर्जनको पाँच सय ३२, स्वतन्त्रका मनोज बुढाथोकीको पाँच सय ३२ मत आएको थियो । यसअघि एमालेले जित्दै आएको कीर्तिपुरमा २०७९ को पालिका चुनाव कांग्रेसले जितेको थियो ।
सात सय मतदाता थपिए

निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुरकी निर्वाचन अधिकृत इन्दिरा कार्कीकाअनुसार २०७९ सालको वैशाखमा भएको चुनावमा कीर्तिपुर नगरपालिकामा ३० हजार तीन सय २८ मतदाता रहेकामा अहिले सात सय ८४ जना थपिएर ३१ हजार एक सय १२ जना पुगेका छन् ।

कीर्तिपुर नगरपालिकामा १० वडा, २० मतदानस्थल र ३८ वटा मतदान केन्द्र रहनेछ । पहिले मतगणनास्थल त्रिभुवन विश्वविद्यालयको सभा हलमा हुन्थ्यो । अहिले नजिकै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) हुने भएकाले सुरक्षा चुनौती थपिएको छ । ‘हामीले मतगणनाका लागि उपयुक्त ठाउँ खोजिरहेका छौँ ।,’ निर्वाचन अधिकृत कार्कीले भन्नुभयो, ‘प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायसँग छलफल गरिरहेका छौँ ।’ 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया