नयाँ बसपार्कबाट मात्रै सार्वजनिक बस सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय कार्यान्वयन भएन

 मंसिर ८, २०८१ शनिबार ८:४३:२७ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौबाट बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक बसलाई नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

महानगरले अघिल्लो वर्ष जेठ १९ गते सूचना निकालेर असार एक गतेदेखि काठमाण्डौको चक्रपथ वरपरबाट उपत्यकाबाहिर सञ्चालन हुँदै आएका गाडीलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि यो निर्णय प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको हो ।

पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बाग्मती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोबीखोला करिडोर, गोँगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलङ्की र बल्खुलगायत चक्रपथ वरपर सडक तथा करिडोरबाट सञ्चालन हुँदै आएका बस नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

गोँगबुको विष्णुमती नदी किनारामा रहेको आफ्नै स्वामित्वको एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने भनिएकोमा पालना गर्न अटेरी हुँदै आएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्न समस्या भइरहेको बताउनुभयो । महानगरले सूचना निकालेपछि काठमाण्डौबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन हुन थालेका उहाँको भनाइ छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे महानगरपालिकाले गरेको सूचना कार्यान्वयनको चरणमा रहेको बताउनुहुन्छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला व्यवसायी र सरकार दुवैलाई सहज हुने ढङ्गले सार्वजनिक गाडी सञ्चालन र व्यवस्थापन हुनुपर्नेमा जोड दिनुहुन्छ । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया