भारतीय विमानमा बम राखिएको भन्दै यो वर्ष झन्डै एक हजार पटक धम्की प्राप्त

 मंसिर १४, २०८१ शुक्रबार १५:१२:९ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

यो वर्ष भारतीय एअरलाइन्समा झन्डै एक हजार पटक बमको धम्की आएको छ । यो वर्षको नोभेम्बर १४ सम्म भारतका एअरलाइन्स र विमानस्थलमा बम राखेको भन्दै ९ सय ९९ पटक नक्कली धम्की प्राप्त भएको देशका उप–नागरिक उड्डयनमन्त्रीले संसद्लाई बताएका बीबीसीले जनाएको छ ।

यो गएको वर्ष प्राप्त धम्कीभन्दा झन्डै १० गुणाले बढी रहेको उप–नागरिक उड्डयनमन्त्री मुरलीधर मोहलले बताउनुभएको छ । अक्टोबरको अन्तिम दुई हप्तामा ५ सयभन्दा धेरै पटक धम्की प्राप्त भएको खबरमा उल्लेख छ ।

बम राखेको भन्दै धम्की आउने क्रम बढेसँगै भारतीय एअरलाइन्सहरूको उडान तालिका अस्तव्यस्त बनेको थियो, हवाई सेवामा व्यापक अवरोध उत्पन्न भएको थियो । पछिल्ला धम्कीहरू सबै झुटा रहेका र भारतको कुनै पनि विमानस्थल र विमानमा खतरा नभेटिएको उप–नागरिकमन्त्री मोहलले भन्नुभयो । भारतीय प्रहरीले यी घटनामा दुई सय ५६ वटा उजुरी दर्ता गरेको र १२ जनालाई पक्राउ गरेको बीबीसीको खबरमा उल्लेख छ ।

सन् २०१४ र २०१७ का बीचमा विमानस्थलहरूमा बम राखिएको भन्ने एक सय २० वटा धम्की वा सूचना प्राप्त भएका भारतीय अधिकारीहरूले बताएका छन् । तीमध्ये आधाजति दिल्ली र मुम्बईजस्ता भारतका ठूला विमानस्थल लक्षित थिए ।

नागरिक उड्डयन मन्त्रालयका अनुसार गएको वर्ष भारतमा १५ करोड जनाभन्दा धेरै यात्रुले आन्तरिक उडान गरेका थिए । देशभरि ३३ अन्तर्राष्ट्रियसहित सञ्चालनमा रहेका एक सय ५० वटा विमानस्थलबाट दैनिक तीन हजार उडान हुने गर्छन् ।

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया