एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
शरद् ऋतुको मौसम, छर्लङ्गै देखिने हिमाल अनि पदयात्राका लागि अनुकूल समय । यस समयको भरपुर सदुपयोग गर्दै हामी लाग्यौँ मार्दी पदयात्रामा । अमेरिकी नागरिक पेट्रिक र आबी, नर्वेली नागरिक इनग्रिड, सिलिया र ओडभर अनि हामी दुई नेपाली । इनग्रिड भने पहिलो पटक नेपाल आउनुभएको रहेछ– विशेष नेपालका हिमाल हेर्नलाई । दुई अमेरिकी साथीहरू यसअघि नै एबीसीको पदयात्रामा गइसक्नुभएको रहेछ । नर्वेली साथीहरूले पनि नेपालका विभिन्न हिमाली पदयात्राको अनुभव गरिसक्नुभएको रहेछ । तर यो मेरो पहिलो पदयात्रा थियो । मार्दी पदयात्रालाई सबैभन्दा सजिलो र छिटो पदयात्राको रूपमा लिए पनि मेरा लागि यो चुनौती थियो, अझ साहसिक चुनौती । किनभने मेरो पदयात्राको अनुभव थिएन, हिँड्ने बानी हटिसकेको थियो । तर आँट गरेरै भए पनि जाने निधो गरेँ । पदयात्राका लागि सम्पूर्ण समानहरू तयार पारेँ, झोला लागभग ११ किलो भएछ । साथमा २ किलो क्यामरा अनि गोप्रो ।
पहिलो दिनको यात्राः
पोखरा–बाग्लुङ सडक हुँदै १ घन्टाको जीपको यात्रापछि लागभग दिउँसोको ४ बजेतिर काँडेबाट हामीले मार्दीको पदयात्रा शुरू गर्यौँ । आफ्नो हातखुट्टालाई बलियो पार्दै र साहसिक मन बनाउँदै गोलडाँडाको उकालो चढ्न थाल्यौँ । बाटोमा साना नानीहरूले ‘नमस्ते’ भन्दै गरेको सत्कारले हाम्रो मन प्रफुल्ल भयो । कुहिरोले ढपक्क ढाकेका पहाडहरू, एकोहोरो ती किराका किररररर आवाजहरूलाई सुन्दै हामीले लामा–लामा पाइला चाल्यौँ । बाटोमा बिछ्याइएका ढुङ्गाका खुड्किलो चढ्दै गायक राजु लामाको ‘हिमालले डाक्यो मलाई, पहाडले सम्झ्यो मलाई...’ बोलको गीत गुनगुनाउँदै म पनि अगाडि बढेँ । बिस्तारै सेतो कुहिरो विलिन हुँदै अँध्यारो हुँदै गयो । उकालो सँगसँगै श्वास पनि बढ्दै गएको अनुभूति भयो । लगाएका सुकिला लुगाहरू पसिनाले निथ्रुक्क भिजे ।
तै पनि करिब ३ घण्टाको उकालो यात्रापछि अस्ट्रेलियन बेस क्याम्प पुग्न सफल भयौँ । नेपाली भूभाग तर नाम अस्ट्रेलियन क्याम्प किन राखिएको भनेर जान्न मन लाग्यो । होटल सञ्चालकले भनेबमोजिम, अझै उहाँकै भाषामा– ‘पहिले पहिले युरोपको अस्ट्रियाबाट यहाँ पर्यटकहरू आएर क्याम्पिङ गर्ने गर्थे । उनीहरूले नै यस ठाउँलाई अस्ट्रियन क्याम्प भन्ने नाम दिएको हो तर हामी (स्थानीय) हरूले अस्ट्रिया भन्न नजानेर अस्ट्रेलियन क्याम्प भन्न थालिएको हो ।’ पदयात्राको सिजन भएर पनि होला सबैजसो होटलहरू भरिभराउ थिए । हामीले मुस्किलले कोठा पायौँ र थकित शरीरलाई विश्राम दियौँ ।
दोस्रो दिनको यात्राः
बिहानै झुल्केको सूर्यको किरणले माछापुच्छ्रेको सेतो चुचुरोलाई सुनौलो रङमा परिणत गरिदिएछ । यही मनमोहक दृश्यको आनन्द लिँदै बिहानीको खाजा खायौँ र यात्रा पुनः शुरू भयो । अलिकति पर पोथाना पुगेपछि अन्नपूर्ण क्षेत्रको चेक पोइन्टमा हाम्रा साथीहरूले अनुमतिपत्र बुझाउनुभयो । विदेशी पर्यटकहरूका लागि अन्नपूर्ण क्षेत्रको पदयात्रा जानुअघि ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) द्वारा अनुमतिपत्र लिनुपर्ने रहेछ । हाम्रो पनि व्यक्तिगत जानकारी त्यहाँ लिइयो । त्यसपछि हामी अघि बढ्यौँ ।
आजको गन्तव्य थियो फरेस्ट क्याम्प । त्यहाँ पुग्न प्रायः जङ्गलै जङ्गलको बाटो हिँड्नुपर्ने रहेछ । केही समय हिँडेपछि हामी लब्ली डाडाँमा चियाका लागि रोकियौँ । अर्को पर्यटकको टोली लिएर केही नेपाली गाइडहरू पनि त्यहाँ खाना खान आइपुगे । तर हामी चाहिँ अर्को स्टपमा खाना खाने निर्णय गरी अगाडि लाग्यौँ । उकाली र ओराली गर्दै, कहिले घाम त कहिले रुखको शीतल ताप्दै, पहाराका खोँच र देउराली छिचोल्दै हामी पुग्यौँ फरेस्ट क्याम्प । दिनको उज्यालो अझै बाँकी भएकाले साथी ओडभरले अलि पर रेस्ट क्याम्पसम्म पुग्ने प्रस्ताव राखे । शरीरमा केही बल अझै भएकाले त्यस प्रस्तावलाई सहर्ष स्वीकार गर्यौँ । केही नास्ता पानी गरी हामी अघि बढ्यौँ र लगभग १ घन्टाको अथक हिँडाइपछि हामी रेस्ट क्याम्प पुग्यौँ र त्यहीँ रात बितायौँ ।
तेस्रो दिनको यात्राः
खुलेका अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यले आरोहीहरूको मनलाई खिचिरहेको थियो । हामीले पनि त्यही मनोरम दृश्य र न्यानो सूर्यको तापमा बस्दै चिया नास्ता गर्यौँ । साथीहरूसँगको रमाइलो गफले पनि हाम्रो समयलाई अझ सुमधुर बनाइदियो । आज हाई क्याम्पसम्मै पुग्ने लक्ष्य थियो, हाई क्याम्प ३५ सय ५० मिटरको उचाइमा छ । गुराँसको जङ्गलको बाटो हुँदै लाग्यौँ उकालो नै उकालो । उचाइ जति बढ्दै गयो, थकाइ पनि बढ्दै जाने ।
जङ्गलको उकालो पार गरिसकेपछि बादलसँग लुकामारी गर्दै गरेको नाङ्गा डाँडाहरूले हामीलाई स्वागत गर्यो । हामी बादल डाँडा आइपुगेका रहेछौँ । त्यहाँ एउटा चिया पसलमा कफी बनाउने मेशिन देख्दा हाम्रा विदेशी साथीहरू फुरुक्क रमाउनुभयो, उहाँहरूले कफी पिउनुभयो । म चाहिँ चियाको पारखी भएकाले चिया नै पिएँ । तातो–तातो चिया र कफीले हाम्रो शरीरलाई हिँड्न ऊर्जा दियो र पल्लो बादल डाँडामा खानाका लागि बस्यौँ । जति माथि गयो, खानाको मूल्य बढ्दै जाने !
त्यसपछिको हिडाँइको अनुभूति छुट्टै थियो । कहिले बादलमाथि हिँडिरहेको जस्तो भने कहिले बादलले छोपेर आफ्नो अगाडि हिँडेको साथी पनि नदेखिने । हाई क्याम्प पुग्दा जाडो निकै बढेको थियो । बाक्लो हुस्सुले हाई क्याम्प पूरै ढाकेको थियो । बाटोमा एकजना दिदीले ‘होटेल चाहिएको हो?’ भनेर सोध्नुभयो । मैले सबै जना आएपछि निधो गरौँला भनेँ । संयोगले अर्को साथीले ती दिदीलाई चिन्नुहुँदो रहेछ । हामी त्यहीँ बस्ने निर्णय गर्यौँ । होटल सञ्चालक दिदी कविता गुरुङको अतिथि सत्कार गजबै थियो । लगतै अगेनामा जीउ तताउन भित्र पसिहाल्यौँ । अरू साथीहरू नुहाउन थाल्नुभयो । नुहाएको एक हजार रहेछ तर साहुनी दिदीले ५ सय रुपैयाँ छुट गरिदिन्छु भन्नुभयो ।
बेलुकाको खानामा च्याङ्ग्राको सुकुटी र टिमुरको छोपको स्वादको मजा बेग्लै थियो । हामीले थपीथपी अर्गानिक खाना खायौँ । अब सुत्ने कोठातिर प्रस्थान गर्ने सोचले बाहिर निस्कँदा नौलाख तारा आकाशमा चम्किरहेको थियो र आफ्नै आँखा अगाडि मधुर प्रकाशमा चम्किरहेको सेतो हिमशिखर । यस्तो दृश्य जीवनमा मैले कहिल्यै देखेको थिइनँ । हत्तपत्त क्यामेरा लिएर त्यसलाई कैद गर्न दौडेँ । केही समयको प्रयासपछि बल्ल अलि राम्रो तस्वीर खिँच्न सफल भएँ । बिहान सबेरै ३ बजे उठेर भ्यूपोइन्टको यात्रा शुरू गर्ने योजना बनाएर लागियो बिस्तारातर्फ ।
चौथो दिनको यात्राः
मन नलागी नलागी बिहानै ३ बजे चिसोमा उठ्यौँ । बाहिर मुटु छेड्ने जाडो र चिसो हावामा बिस्तारै भ्यू पोइन्टतर्फ लाग्यौँ । बाटो पूरै अन्धकार, ठाडो उकालो, सहारा केवल टाउकाको बत्ती र वाकिङ स्टिक । मनमनै त्यो लोभलाग्दो दृश्यको कौतुहलता, लेक लाग्ने होकी भनेर मनमा अलिअलि डर लिँदै अगाडि बढेँ । हिँड्दाहिँड्दै उकालोमा भेडाको बथानसँग जम्काभेट भयो । बाटो सबै छेकेर बसेका । हातको स्टिकले पन्छाउँदै अगाडि बढ्यौँ । पर अँध्यारो डाँडामा देखिएका जुनकीरी जस्तै लामलस्कर आरोहीहरू देख्दा मन प्रफुल्ल भयो ।
३ दिनको लगातार हिँडाइले गलेका शरीर झन गल्न थाले । थकित शरीरलाई घिसार्दै घिसार्दै ठाडो उकालो उक्लियौँ । बिस्तारै अँध्यारोबाट उज्यालो हुँदै गयो । मन फुरुङ्ग भयो । करिब २ घण्टाको थकित हिँडाइपछि भ्यू पोइन्ट आइपुगियो । म ढुङ्गामा थचक्क बस्दै पसिनाले भिजेका शरीरलाई वास्ता नगरी हिमाललाई नियाल्न थालें। ती २ घण्टाको थकित हिँडाइलाई एक निमेषमै बिर्सिएँ । खुशीको सीमा रहेन, पहिलोपल्ट म हिमालसँग आमुन्नेसामुन्ने भएँ ।
बिस्तारै मौसम छर्लङ्गै खुल्यो। अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई सूर्यको किरणले चुम्न थाल्यो, सेतो हिमाल पहेँलो भयो । वरपर रहेका स–साना छाप्रोका टी हाउसहरूमा चियाका लागि आरोहीहरूको भीड लाग्न थाल्यो । चियाको चुस्कीसँग सबै जना हिमालसँग रमाउन थाले । कोही टिकटकमा, कोही फोटो सेसनमा व्यस्त र कोही नेपालको झण्डा बोक्दै दौडिरहेका !
अन्नपूर्ण प्रथम, माछापुच्छ्रे र हिउँचुलीलगायत हिमाल देखेर साँच्चै नै हिमालले हामीलाई डाकिरहेको जस्तो । हिमाल हामीसँग बातचित गरिरहेकको जस्तो । मनैमनले भनिरहेको थियो– माछापुच्छ्रेको टुप्पोमा गएर अट्टहासले कराऔँ । मैले सक्दो फोटो, भिडियो खिचेँ । जाडो छल्नका लागि चिया पियौँ । हामीले नेपालको झण्डा बोकेर सामूहिक तस्वीर पनि खिच्यौँ ।
फर्किंदा त्यो ठाडो ओरालो हिँड्न बडो कष्टकर भयो । कछुवाको हिँडाइमै हामी सिदिङसम्म आइपुग्यौँ । तल पुग्दा हामीलाई जीपले कुरिरहेको थियो । जीपको सिटमा थचक्क बस्दा खुट्टाले पनि धन्यवाद भने झैँ महसुस भयो । त्यसपछि करिब २ घन्टामा मिर्मिरे उज्यालोमा हामी पोखरा आइपुग्यौँ ।
पदयात्राको अर्को रमाइलो भनेको नयाँ मान्छेहरू भेट्नु र सम्बन्ध गाँस्नु हो । ती ठाउँ, दृश्य, व्यक्ति र सँगै बिताएका क्षणहरू मानसपटलमा नमेटिने गरी सजाउनु पनि हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।