पालिका उपचुनावको परिणाम उत्साहजनक भएको माओवादीको निष्कर्ष

 मंसिर २०, २०८१ बिहीबार १५:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र)ले पालिका उपचुनावको परिणाम उत्साहजनक भएको र यसले आउँदो चुनावमा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यसले अब आउँदो चुनावमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै चुनावमा जाने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष रहेको उहाँको भनाइ छ । यसअघि माओवादीले जितेका रुकुमपूर्वको पुथाउत्तरगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रूपमा लिएको छ ।

अन्य सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडालगायत ठाउँमा भारी मतान्तरले विजयी हुनु, काठमाण्डौको कीर्तिपुर नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मत पाउनुलाई नागरिकमा माओवादीप्रति बढेको विश्वास र उत्साहको रूपमा लिइएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

नागरिकसँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीका रूपमा लिँदै माओवादीले आफ्नो वर्गप्रति फर्कने अभियान शुरु गरेको प्रवक्ता सापकोटाको भनाइ छ । बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया