साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
साल्पापोखरीबाट फर्केपछि गाउँका धामी झारफुक गर्दा भन्थे,
साल्पै जाउला, छोरो पाउला .... सै.. सै...! सै .... सै !!
धामीका कैरनभन्दा पहिले झाक्रीका चमर र घण्टले साल्पाका कथा भन्थे,
साल्पा राजा सै...सै..., सै..सै....! साल्पै रानी सै...सै .. सै.. सै... !!
गाउँघरमा सदियौदेखि विजुवा, झाँकी, धामीको ढ्यांग्रो, घण्ट र चमरले भन्थे,
साल्पा राजा ...ढ्याङ्.... ढ्याङ्....! ढ्याङ्..... ढ्यांङ्.....!!
साल्पा रानी ... सै...सै .. ! सै.. सै... !!
माझकिराँतमा जन्मे, हुर्केका केटाकेटीका कलिला दिमागमा धामी, झाँक्री र विजुवाहरुले साल्पाका कथा रोपे र हुर्काए । साल्पा जाने तिर्थालुहरुले चौतारीको बटबृक्षले सीतलु दिए झै लेक, नागी र गोठका कथाहरुको सिर्जना र संरक्षण गरे । ती कथा सुन्दै हुर्केकाहरुको दिमागमा साल्पापोखरीको सङ्गलो पानी बगिरह्यो । साल्पा जाने बाटोका नागी र लेकमा चर्ने चौंरी र दौडिने घोडाहरुले दिमागमा बुर्कुसी मारे । पिखुवा, हिंखुवा, इर्खुवा, चिखुवा र रावामा बग्ने पानीमा साल्पा र सिलिचुङका कथा सुसाइरहे । ती खोलाको पानी सुनकोशी, अरुण र तमोरको त्रिवेणीको पवित्र खुवालुङ्मा छल्किरह्यो । ती कथाले पारुहाङ् र सुम्निमाको पूजा र प्रार्थना गरे । कालान्तरमा सिलिचुङ् र साल्पाका कथा, कैरन र किंवदन्तीहरु माझकिराँतबाट फैलिँदै गएर देशब्यापी भए । र, धेरै मानिस ती कथाको बाटो खोज्दै मुन्धुम ट्रेलमा पदयात्रा गर्न थाले ।
मुन्धुम ट्रेल अथवा किराँत संस्कृति र सभ्यताका कथा, कैरन र किंबदन्तीहरुले भरिएको बाटो । यो बाटोमा हिँड्ने रहर त पुरानै हो, तर कहिले के, कहिले के ! मुन्धुम ट्रेल जाने निधोमा पुगेपछि कात्तिकको अन्तिम साता आमालाई सोधें ‘तपाई जाँदा साल्पा जाने बाटो कस्तो थियो ?’ आमाका आँखा चहकिला भए । भन्नुभो ‘जुका धेरै लाग्थे, गोठमा बास बस्नु पर्थ्यो । लेकको बाटो, वर्षामास घुम ओढेर गएका हामी !’ आमा साल्पा गएको ६५ वर्षपछि बल्ल मेरो साईत जुर्याे । म जन्मिनुअघि नै चोला उठेका दाजु र दिदीको सन्तापले जलेको मन शान्त पार्न आमा साल्पा जानु भएको रहेछ ।
आमाका सम्झनामा साल्पा जाँदा बास बसेका गोठ, नागीमा चरिरहेका चौंरी, तिनको लामो पुच्छर, आफूहरुले ओढेका घुम, भुटेका मकै भटमास, हिँडेका नागी र साल्पापोखरीको कञ्चन पानी सङ्गलै छन् । साल्पा जाने बाटो र साल्पाको कुरा शुरु भएपछि ज्यान बुढो हुँदै गएको मेरो मन पनि लेक र पाखाको कुहिरोसँगै बतासिन थाल्छ । मनको बतासमा अनेक प्रश्न उड्छन् ‘कस्तो होला साल्पापोखरी, कस्ता होलान् साल्पा राजा र रानी, अनि कस्तो होला साल्पा जाने बाटो !’ आमाभन्दा अघि आमाका पितामाताहरु साल्पा गए । त्योभन्दा अघि उनीहरुका आमा, बा र हजुरआमा हजुरबाले साल्पा पुगेर सुनपाती लगाए । पोखरीको पानीमा नुहाए । भदौरे, मंसिरे र वैशाखे पूर्णिमामा साल्पा जानेहरुको लर्को लाग्थ्यो हामी केटाकेटी छँदा । पुस्तौ अघि शुरु भएको साल्पा जाने लर्को घर फर्केर आउँदा अनेक कथा पनि गाउँ आईपुग्थे । त्यसैले साल्पाका कथा शुरु भएपछि अहिले पनि मन आफै सै... सै गर्न थाल्छ । साल्पा राजा सै...सै..., सै..सै...., साल्पा रानी सै...सै .. सै.. सै... !
मनले साल्पा जान सै...सै थालेको धेरै वर्ष भयो । धेरै वर्षपछि साल्पा जाने बाटोमा पहिलो पाईला चाहिँ गएको कात्तिक मसान्तका दिन बिहान मात्र पर्यो । भोजपुर र खोटाङको सिमानामा पर्ने चखेवा भञ्ज्याङ नजिकैको गोठेसिंह होमस्टेमा डा. उध्दव राईले हामीलाई (पुरुषोत्तम आचार्य, उमेशसिंह भण्डारी, सुमन खनाल र म) बिदाइको हात हल्लाउँदा बिहानको साढे ७ बजेको थियो ।
मुन्धुम ट्रेल शुरु हुने चखेवा भञ्ज्याङको तीन किलोमिटर पूर्वमा पर्ने गोठेसिंह होमस्टेबाट शुरु भएको गोरेटो ठाडै उकालो लाग्यो । उकालो चढेर हल्का तेर्सो उकालो लागेपछि माङ्लुवा पोखरी पुग्नुअघि नै हामीले चखेवाबाट आएको मुन्धुम ट्रेल भेट्यौं । पदयात्रा गर्न सजिलो होस् भनेर खनेको र ढुङ्गा छापेको बाटो रुवालुङ् हुँदै मेरुङ्को जङ्गलमा पस्यो । यो जङ्गल भोजपुरको छिनामखु नजिकैबाट बग्ने हिंखुवा खोलाको मुहान हो । मेरुङ्को जङ्गल सकिएपछि शुरु भयो बुकी फूलले ढाकिएको नागी, बुकिचुङ् ।
हिउँद वर्षे बुकी फूलले ढाकिने बुकिचुङ् डाँडा लमतन्नै परेको छ । यहाँबाट बाटो हल्का ओरालो लाग्छ । यो ओरालो केहीबेरमा आधा दर्जन घर भएको धोद्रे गाउँमा पुग्छ । चखेवाबाट बिहानै यात्रा थालेका फटाफट हिँड्ने पदयात्री यहाँ खाना खान आई पुग्छन् । अबेला यात्रा शुरु गर्ने र बिस्तारै हिँड्ने पदयात्रीहरु यही बास बस्छन् । चखेवा भञ्ज्याङबाट हिँडेपछि भेटिने यो पहिलो बस्ती हो । पदयात्रा शुरु भएको झन्डै चार घण्टा लेकाली जङ्गल, पाखा र नागीहरु हुँदै यहाँ आईपुगिन्छ । यहाँ खाना खान र बास बस्न होमस्टे छन् ।
धोद्रेबाट अगाडि बढेपछि मैयुङ्को पल्लो किनारा नपुगी बास पाईंदैन । त्यसैले बास बस्न मैयुङ् ताकेर हिड्नेहरु खाना खाएर फटाफट छिमालुङ डाँडाको उकालो लाग्छन् । छिमालुंङ् डाँडा चढेपछि लामो नागी र ओसिलो लेकाली जङ्गल शुरु हुन्छ । नागीमा कतै-कतै घोडा चरिरहेका देखिन्छन् । जलजले नामको यो नागी दुई घण्टाभन्दा धेरै समय लाएर पार नगर्दै बखुवा खोला शुरु हुन्छ । लेकको नागीमा बग्ने यो खोला चारपल्ट तरेपछि शुरु हुन्छ एउटा कडा उकालो । यो उकालो मात्तिम पाखाको डाँडा चढ्दै दिल्पा नागीमा पुग्छ । दिल्पा नागीको तेर्पाया उकालो छिचोलेर नागीको सिरानमा पुगेपछि देखिन्छ मैयुङ्को डाँडा र नागवेली परेर पत्रैपत्रमा फैलिएको विशाल र विस्तारित नागी । मैयुङ्का होमस्टेमा बास बस्ने खबर पहिल्यै गर्नुपर्छ । यो ठाउँमा दुईवटा होमस्टेले पदयात्रीको स्वागत गर्छन्, जसलाई स्थानीयहरु तल्लो र माथिल्लो होमस्टेका नामले पुकार्छन् ।
बिहान साढे सात बजे शुरु भएको पहिलो दिनको हाम्रो यात्रा मैयुङ्को तल्लो होमस्टेमा बिसाउँदा साँझ साढे छ बजेको थियो । पूर्णिमाको झलमल्ल जुनमा हाम्रा धमिला अनुहारलाई अजंगको कुकुरले भुकेर स्वागत गर्यो । होमस्टेका सञ्चालक मनिराज राई रेड पाण्डा संरक्षण गर्ने सामूहिक अभियानका वन रक्षक हुन् । खोटाङ, सोलुखुम्बु र भोजपुरका डाँडा र जङ्गलमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम चलेको दुई वर्ष भयो । रेडपाण्डाको संरक्षणमा यहाँ विद्यालय र सामुदायिक वन समूह सकृय छन् । मनिराज राई रेडपाण्डा संरक्षण गर्ने समुदायको यही अभियानका एक हिस्सा हुन् ।
मुन्धुमको छोटो यात्रा गर्नेहरु मैयुङडाँडाबाटै भोजपुरको सुन्तलेतिर झर्छन् । बाटोमा भेटिएर हामीसितै अघिपछि गर्दै आएका काठमाण्डाै र पर्वतका दुईजनाको गन्तव्य मैयुङसम्म थियो । तर हामीलाई मुन्धुम पदयात्रामा पूरै फेरो मार्नु थियो । मुन्धुमको फेरो मार्नेहरु यहाँबाट देब्रे लागेर अर्को दिन कुलुपङ्खो पुग्छन् । त्यहाँबाट फेरि एक घण्टा उकालो चढेर साल्पापोखरी पुग्छन् । साल्पाबाट सिलिचुङ चढेर पारुहाङ् र सुम्निमाको परिक्रमा र पूजा गर्छन् । अनि तीन दिन चढेको उकालो एकैदिनमा झरेर बास बस्न भोजपुरको पूर्वी भेगको फेदी बजार झर्छन् ।
हाम्रो लक्ष्य पनि मुन्धुमको फेरो नै हो, तर मैयुङ्मा मध्यराति हल्का असिना पर्यो । असिना त दश बाह्र दाना मात्रै पर्यो । तर, टीनमा खसेको त्यति असिनाले पनि हाम्रो सातो खायो । भोलि बास बसेको ठाउँमा यसैगरि असिना वा पानी पर्यो भने ....!
अत्यास लाग्दालाग्दै उज्यालो भयो । तर, बिहान आकाश खुलेको थियो । चउर तुसारोले ढाकिएर सेतै थियो । सेतो चउरमा टल्केका घामका किरणले रातको चिन्ता छुमन्तर गरे । बिहानी घामको उर्जाले हामीलाई दोस्रो दिनको यात्रा गर्न हौसला थप्यो । र, हामी सोझियौं पूर्वतिर ।
मैयुङका नागीबाट पूर्वमा बाक्लो जङ्गल छ । जङ्गलको बीचमा एउटा भव्य पोखरी छ, जहाँ बिहानैदेखि हाँसका बथान जलकृडामा निमग्न देखिन्छन् । हाँसका जोडी र बथानको कृडास्थल भएकैले होला, यो पोखरी हाँसपोखरीका नामले प्रख्यात छ । भोजपुर जिल्लाको सबैभन्दा लामो खोला पिखुवाको मुहान यही पोखरी हो । यहाँबाट शुरु भएको पिखुवा खोला भोजपुर जिल्लाको मध्यभाग हुँदै ठूल्ठूला फाँटलाई सिञ्चन गरेर पूर्व र पश्चिमबाट आएका अनेक खोलालाई समाहित गर्दै राईघाटमा पुगेर अरुण नदीमा मिसिन्छ । अरुणसित मिसिन पुग्दा पिखुवा आफै असवावको भइसक्छ ।
पिखुवाको मुहान हाँसपोखरीबाट उकालो लागेपछि नागीको टुप्पामा पानी विनाको पोखरी भेटिन्छ । यसलाई यहाँका पाका मानिस तारा खसेको पोखरी भन्छन् । वर्षामा पानीले भरिएको पोखरीमाथि चम्कने तारा पोखरीमा खसेका जस्तो लाग्ने भएकाले यसको नाम तारा खसेको पोखरी भएको होला भन्छन् हाम्रा पथप्रदर्शक शिबहाङ् ।
तारा खसेको पोखरीको किनार नपुग्दै पल्लो डाँडामा देखिने हिमालका चुचुराहरुले पदयात्रीको स्वागत गर्छन् । यहाँबाट शुरु भएका हिमालका चुचुराहरु फोक्टे खर्क, हाङ्मा कुवा हुँदै सातदोबाटो पुग्दा पदयात्रीलाई अगाँलो नै हालुला जसरी नजिकिन्छन् । सातदोवाटोमा उभिँदा मकालु, चारपाटे, सगरमाथा र चोयुबाट आएको हावाले गाला छोएर जान्छ । यहाँबाट बाटो फेरि हल्का ओरालो लाग्छ । र यो ओरालो बाटो बलौटे भञ्ज्याङमा पुग्छ । बलौटेमा आधा दर्जन जति गोठहरु छन् । तर गोठमा मानिस कमै बस्छन् ।
हाम्रा पथप्रदर्शक भन्छन् बलौटेबाट हिडेपछि कुलुपङ्खाे भञ्ज्याङ नपुगि मान्छेको बस्ती भेटिंदैन । आजको रात हामीले पनि गोठमा काट्नु पर्ने छ । हिजो परेको पूर्णिमाको मेला भरेर फर्कने यात्रुहरुले भरिएर बास बस्ने गोठ नपाईने डर पनि छ । त्यसैले, हाम्रो टोलीका गणेश साङपाङ् बिहानै हामीलाई छाडेर अघि लागे ।
भरेको बास बस्ने रावाधापको गोठ कव्जा गर्न हाँसपोखरीबाट अघि लागेका गणेश हामीभन्दा दुई घण्टा अघि बलौटे पुगे । हामी सबैलाई खाना पकाउने बन्दोवस्त मिलाए र अघि लागे । हामी बलौटे पुग्दा उनी खाना खाएर ह्याकुलेको उकालो लागिसकेका थिए । उनले भरेका लागि साग, आलु र नून तेल सहित मसला पिधेर लगेको थाहा पाएपछि हामीले पनि फटाफट खाना खायौं ।
गणेशका पदचाप पछ्याउँदै हामी पनि ह्याकुलेको उकालो चढेर हर्कटे र जुके हुँदै गुँरासेको जङ्गलमा पस्यौं । मुन्धुम पदयात्रीका लागि गुराँसे यस्तो जङ्गल हो, जहाँ कम्तीमा १५ प्रजातिका गुराँसले २५ खालका रङ्गहरु भरेर यो जङ्गललाई रङ्गहरुको क्यानभास बनाउँछन् । तर, अहिले गुराँस फुल्ने मौसम होईन । तर पनि गुराँसको जङ्गल हराभरा छ । यो ठाउँबाट अघि बढेपछि पुगिने लौरेको फे्दबाट मुन्धुम पदयात्राको चुनौतीले भरिपूर्ण बाटो शुरु हुन्छ, जस्लाई लौरी विनाको उकालो भनिन्छ ।
हर्कटे छाडेर जुँके पुगेपछि मुन्धुम मार्गमा पदयात्रीका लागि छापिएका ढुङ्गा हराउँछन् र खनेको बाटो पनि सकिन्छ । लौरे फेदबाट शुरु हुने लौरी विनाको उकालो ठाडो त छँदैछ, बाटो पनि तारेभीर हुँदै उकालो चढ्छ । छङ्गाछुर भीरलाई वादलले छोपेको बेला त आँखालाई खासै कष्ट हुँदैन, तर दिन खुलेको छ र घाम पनि लागेको छ भने उचाई भयको लक्षण भएका मानिसको हंसले ठाउँ छाड्छ । स्थानीय मानिसले झन्डै दुई किलोमिटर ठाडो उकालो डेढ घण्टामा छिचोल्छन् । पदयात्रीका लागि लौरेको उकालो चढ्न कम्तीमा दुई घण्टा लाग्छ । बाटो साँघुरो र ठाडो छ । काँसका बुटा समातेर यो उकालो चढ्दा कुनै–कुनै ठाउँमा मलाई मेरो मुटु हातमा छ कि पातमा छ जस्तो लागिरह्यो ।
उकालोको टुप्पामा पुगेपछि हिमालको लर्को देखिन्छ देब्रेतिर । अनि केही तेर्सो हिडेर पुगिन्छ बास बस्ने ठाउँ रावाधाप भञ्ज्याङ् । यो खोटाङ जिल्लाको रावा खोलाको सिरान हो र मुन्धुम यात्राको दोस्रो दिनको बिसौनी पनि । तर, यहाँ सास फेर्ने प्राणी बटुवाहरु मात्र हुन्छन् । गोठ त छन्, तर मानिस, चौरी र भेडा बस्दैनन् । वर्षामा भरिने गोठहरु हिउँदमा खाली हुन्छन् । बास तिनै रित्ता गोठमा बस्नुपर्छ । त्यसैले, रातको बास र अन्नपानीको जाहो आफैले गर्नुपर्छ । झन्डै ३५ सय मिटर उचाईको भञ्ज्याङ्मा हिमालबाट आएको चिसो सिरेटोले गोठका चित्रा र भित्ताका कापबाट पसेर पदयात्रीलाई रातभरि चिल्छ । चित्रामाथि म्याट, म्याट माथि ओछ्याएको स्लिपिङ् व्यागभित्र जीउलाई बेरेका तीनपत्र लुगाले पनि यहाँको चिसोलाई रोक्न सक्दैन । त्यसैले, धेरै पदयात्रीहरु यहाँ अबेलासम्म झिक्रा बालेर आगो वरिपरि गीत गाउँदै बस्छन् । एक झमट निद्रा पर्यो भने यहाँको रात मज्जाले बितेको ठान्नुपर्छ । शिबहाङ र गणेश धेरैपल्ट यहाँ बास बसे, तर पनि रावाधापको रात निद्रामा बिताएको एउटा पनि सम्झना छैन उनीहरुसित पनि । तर, हामी यति थाकेका थियौं, निदाउन नसेकेको पीरमा कतिबेला एक झमट निदाइयो भन्ने कसैलाई पनि थाहा भएन ।
यो कष्टकर रातको अनावरण अति आकर्षक र लोमहर्षक हुन्छ । रात सकिन नपाउँदै पूर्वका डाँडा कालाबाट राता हुन थाल्छन् । अनि राता हिमालका चुचुरा बिस्तारै सुनौला भएर खुल्न थाल्छन् । यी चुचुराहरु अरुण उपत्यकाबाट उठेको सेतो कुहिरो छेडेर घाम ताप्न माथि उठेको देख्दा लाग्छ म शशरीर कुनै देवभूमीमा उपस्थित छु । अरुण उपत्याकाको कुहिरोमाथि उठेका हिमालका चुचुरा हेरेपछि गोठको बास र रातको कष्ट एकसाथ छु मन्तर हुन्छन् ।
यहाँबाट अघि बढेपछि कतै पनि पानीका मुहान छैनन् । त्यसैले रावाधापमै पानी तताएर बोक्नुपर्छ । यहाँबाट यात्रा शुरु गर्नुअघि तातो र पोषिलो खानेकुरा पनि खानुपर्छ । रावाधापबाट बास बस्ने ठाउँमा नपुगेसम्म बाटोमा पानीका मुहान त भेटिदैनन् नै, खानेकुरा बेच्ने पसल र गोठ पनि भेटिंदैनन् । कम्तीमा छ देखि आठ घण्टा यात्रा नगरि कुलुपङ्खो पुगिंदैन । आजको यात्राको अन्तिम विन्दु मावा बजार वा कुलुपङ्खो हो । त्यहाँ पुगेपछि मात्र खान र बस्न पाइन्छ । त्यसैले, बाटामा खाने खाजा पनि भोजपुर वा चखेवाबाटै झोला र खल्तीमा राखेर जानुपर्छ ।
पानी र खाना नपाइने भए पनि यो दिनको यात्राको आफ्नै मज्जा छ । रावाधापबाट देब्रे मोडिएर दाहिने लागेपछि शुरु हुन्छ बाक्लो धुपीको जङ्गल । बाँझको जङ्गल हिजै सकियो भनेर चिन्ता गर्नु पर्दैन । रावाधापबाट पदमार्गमा फेरि ढुङ्गा छापिएको फराकिलो बाटो शुरु हुन्छ । यो बाटो धुपी सल्लाको जङ्गल हुँदै ओरालो झर्छ । खारिएको र ढुङ्गा छापिएको पदमार्ग हल्का ओरालो झर्दै आज अर्को जलजले पुग्छ । जलजले चउरको दाहिनेपट्टी हाँडीपोखरी र देब्रेपट्टी मुन्दुम पोखरी छन् । मुन्दुम पोखरीबाट देब्रे मोडिएपछि शुरु हुने जङ्गलमा हल्का उकालो चढ्दै गएपछि पुगिने ठाउँलाई निकास भनिन्छ । निकासमा पनि पर्वका बेला मेला लाग्छ । तर पानीको मुहान यहाँबाट एक किलोमीटर टाढा छ । निकासबाट हल्का उकालो चढ्दै गएपछि फेरि आजको गुराँसे आउँछ । गुराँसेबाट शुरु हुन्छ अघिल्लै दिनको जस्तो कडा ठाडो उकालो । यो उकालोलाई रुनाको उकालो भनिन्छ । रुनाको उकालो पनि ठाडो छ, तर पदमार्गमा छापिएका ढुङ्गा र फराकिलो बाटोका कारण उकालो चढ्न सजिलो लाग्छ । रुनाको उकालो चढ्न सरदर दुई घण्टा लाग्छ । यो उकालो विषेचुङ्मा पुग्छ । बिषे चुङ् अथवा विष लागेको डाँडा । किम्बदन्ती सम्झदै शिबहाङ भन्छ्न् ‘यो डाँडामा एकजना धामी बिष लागेर फत्र्याक–फत्र्याक परेका थिए रे । पारुहाङले बचाएपछि उनी बचेर सिलिचुङ पुगेछन् । त्यसपछि यो ठाउँको नाम बिषे चुङ् अथवा विष लागेको डाडा भयो रे !’
बिषे चुङबाट तेर्सो बाटो शुरु हुन्छ । घाम लागेका बेला गाउँहरु निकै त....ल....र प...र .. देखिन्छन् । पहाडको काछैकाछ आधा घण्टाजति तेर्सो बाटो हिडेर एउटा मोडमा पुग्दा अचानक एउटा घरको आँगनमा पुगिन्छ । त्यो घर पार गर्नासाथ भञ्ज्याङमा दुई, तीन घर देखिन्छन् । पूर्वी भोजपुर र सङ्खुवासभाबाट सोलुखुम्बु आउजाउ गर्ने पदयात्रीहरु भेटिने कुलुपङ्खो भञ्ज्याङमा एउटा पसल खुलै हुन्छ । म्हेन्दो शेर्पाको यो पसलमा खान र बस्न पाइन्छ । हिजो दिउँसो पछि भेटिएको मानव बस्तीमा मानिस देख्दा मन आल्हादित हुन्छ । सोलुखुम्वु जिल्लाको महाकुलुङ र भोजपुरको साल्पा सिलिचो गाउँलाई जोड्ने यो भञ्ज्याङ ३३ सय मीटरभन्दा बढी उचाइमा छ ।
यहाँबाट साल्पापोखरी जान अर्को ४५ मिनेट उकालो चढ्नुपर्छ । तर हामीलाई हतार छैन । भोलि बिहानै साल्पापोखरी जाने तय भए पनि सिलिचुङमा चढ्ने कि नचढ्ने भन्ने कुरा रातको मौसमले तय गर्नेछ । तर, मलाई हिजैदेखि हल्का लेक लागेको छ । साथीहरु पनि लगातार तीन दिन हिडेर थाकेका छन् । रातिमा पर्ने बाक्लो तुसारो, टुप्पामा पुगेपछि अचानक लाग्नसक्ने बादल र बास बसेको ठाउँबाट झन्डै नौ सय मिटरको कडा उकालो ! सुत्नु अघि हामीले साल्पा पोखरीबाट फेदी मोडिने निश्चय गर्यौं । र, भोलिपल्ट बिहान ७ बजे साल्पा पोखरी जाने उकालो चढ्यौं ।
कुलुपङ्खोबाट हल्का उकालो लागेको बाटो अघि बढ्दै जाँदा उकालो ठडिंदै जान्छ । झन्डै ४५ मिनेटमा साल्पापोखरीको द्वारमा पुगेर हेर्दा लाग्छ पोखरी कति सानो ! तर, साल्पापोखरीलाई घेरेको पर्खाल वरपर हेर्दा यो पोखरी विशाल होला भन्ने अनुमान गनुपर्छ । नजिक पुगेपछि त झन् पोखरीको सुन्दरता, व्यापकता र गहिराई अथाह लाग्छ । पोखरीको पानीको माथ्लो भाग चिसोले जमेको छ । त्यसैले हामीले हातका मुठीले जमेको पानीको पारो फुटायौं र अञ्जुलीले उघाएको पानीले अनुहार र आँखा भिजायौं । पानीभित्र देखिने आकास, जङ्गल र पूर्व र पश्चिममा ठडिएका मानेका प्रतिछायाले पोखरीको सुन्दरता वर्णनातित बनाएका छन् । चिसो खपि नसक्नु भए पनि बिहानको एक घण्टा पोखरी वरपरको सुन्दरतामा यसरी बित्छ, हामी सबै मन्त्रमुग्ध !
पदयात्रीलाई मन्त्रमुग्ध पार्ने सबै थोक छन् मुन्धुम पदयात्रामा ! साल्पापोखरी जस्ता अनेक पोखरी....., बाटाका नागी र विशाल फाँटहरु...., बाँझ र गुरासका जङ्गल, बुकिफूलले ढाकेका पहाड र हुर्हराएर कुद्ने कुहिरो, अनि आँखै अगाडि उठेका अग्ला हिमालका चुचुरा..! मानिसको अतिक्रमणबाट अहिलेसम्म अछुत प्रकृतिको सुन्दरता हाम्रा पितापुर्खाका पालामा कस्तो थियो होला ! साल्पा पोखरी उबेला कति सुन्दर, गहिरो र निर्मल थियो होला ! उबेलै साल्पा गएर फर्कनेहहरु भन्थे साल्पापोखरीहरुको पनि राजा पोखरी ! सिलिचुङ् चुड्हरुको पनि शीर ! यही शीरमा जन्मे, हुर्के र खेले पारुहाङ् र सुम्निमा ! पारुहाङ् र सुम्निमाका सन्तान, हाम्रा पिता पुर्खा वर्षैपिच्छे साल्पा गए, कथा ल्याए । सिलिचुङ्मा उक्लेर कथा सुने र गाउँमा मिथक लिएर आए । यसरी नै साल्पा र सिलिचुङ्को कथा अमर भयो ...। र, त्यही अमर कथा हिजोआजको मुन्धुम ट्रेल भयो ।
मुन्धुम ट्रेलको यो कथा सुन्नेलाई सुनको माला ! र पदमार्गको रेखाचित्र बनाउने, पथप्रदर्शक, बास, खाजापानीको बन्दोवस्त मिलाउने र स्वागत र बिदाइ गरेर यात्रालाई स्मरणीय बनाउने मित्रहरु डा. उध्दब राई र गणेश श्रेष्ठलाई फूलको माला !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गोपाल गुरागाईं चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ।