विश्व बैंकले नेपालका लागि साढे १३ अर्ब रुपैयाँभन्दा धेरै ऋण स्वीकृत गर्‍याे

 मंसिर २८, २०८१ शुक्रबार १७:५७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले नेपालका लागि एक सय मिलियन डलरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । हरियाली र समावेशी विकासका लागि नेपालको नीतिगत ढाँचालाई सहयोग गर्न विश्व बैंकले एक सय मिलियन अर्थात् १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको हो ।

नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ । डीपीओको दोस्रो शृङ्खलाअन्तर्गत यो ऋण सहयोग प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका क्षेत्रीय देश निर्देशक डेभिड सिस्लेनले यो सहयोग सबै नेपालीका लागि दीर्घकालीन विकासको आधारलाई अघि बढाउन र सुरक्षा प्रदान गर्न प्रयोग हुने बताउनुभएको छ । यस ऋणले हरित विकास, जल सुरक्षा, सिँचाइ, भू–उपयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन, जलवायु तथा विपद् सूचना प्रणालीलगायतका विभिन्न क्षेत्रमा नेपालको नीति कार्यक्रमलाई समर्थन गरेको उहाँको भनाइ छ ।

सन् २०२१ देखि नेपाल सरकारले वातावरणीय स्थिरता, लचिलोपन र समावेशी विकासको क्षेत्रमा कार्य गर्ने महत्त्वाकाङ्क्षी कार्यक्रम तय गरेको छ । तर बेरोजगारी, महामारी, कमजोर समूहरूका लागि आर्थिक अवसरहरूको विस्तार, जलवायु र अन्य वातावरणीय जोखिमहरूको सामना गर्न नेपाललाई थप आर्थिक सहयोग चाहिएको छ । वायुको गुणस्तर सुधार गर्नु, विपत्ति जोखिम कम गर्न जलविद्युत् सेवाहरूको विस्तार गर्नु, वर्षभरि सिँचाइ र सुरक्षित पानीको आपूर्ति बढाएर पानीको सुरक्षा सुधार गर्नु, सामुदायिक वन व्यवस्थापनलाई सुदृढ पार्नु र भू–उपयोग योजनालाई बढाउनु यो ऋणको उद्देश्य हुनेछ ।

यस्तै रोजगारी, जीविकोपार्जन र स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण विभिन्न क्षेत्रमा लगानी आकर्षित गर्न र विस्तार गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया