अर्जुन ट्रफी क्रिकेटको उपाधिका लागि आज अत्तरिया र डडेलधुरा खेल्दै
माघ २८, २०८१ सोमबार
च्याटमा ‘जे पायो त्यही’ अथवा ‘जेपिटी’ लेख्न र बोल्न थालेको धेरै भैसक्यो । ‘च्याटजेपिटी’ (च्याटमा जे पायो त्यही लेख्ने र बोल्ने काम) मा लामै अनुभव प्राप्त गरेपछि बल्ल ‘च्याटजिपिटी’ आयो । ‘च्याटजिपिटी’मा समेत ‘जेपिटी’ सोधेर टाइमपास गर्ने बानी भएका हामीलाई फेरि चीनको ‘डीपसीक’ भन्ने नयाँ एआई प्रविधिले आहा बनाइदिएको छ । च्याटजीपीटीबाट ‘डीपफेक’ अर्थात् नक्कली भिडियो, तस्वीर र आवाज बनाउने कला सिक्न थाल्दा चीनको ‘डीपसीक’ भन्ने अर्को प्रविधि आयो । कामभन्दा फुर्सद बढी र प्रविधिको सदुपयोगभन्दा दुरुपयोग गर्न सिपालु हामीलाई अब कसले सक्छ !
अरू देश कृत्रिम बौद्धिकता अर्थात् 'आर्टिफिसिएल इन्टेलिजेन्स' (एआई) प्रविधि बनाउने र त्यसको सदुपयोग बढाउने होडमा ‘तँ भन्दा म के कम’ शैलीमा दौडिन थालेका छन् । अमेरिकी एआई कम्पनीले केही महिनाअघि मात्रै मान्छेले जस्तै कुराकानी गर्न सक्ने तर मान्छेभन्दा कयौं गुणा बाठो र बुद्धि भएको च्याटजीपीटी ल्यायो । मान्छेलेजस्तै कुरा गर्ने । जे सोध्यो फ्याट्टै भनिहाल्ने । जे अह्रायो, त्यही गर्ने ।
अमेरिकाले बनाएको च्याटजीपीटीले संसार हल्लाउँदै थियो । चीनले त्योभन्दा धेरै बुद्धि भएको ‘डीपसीक’ ल्याएर एकसातामै संसारभर तहल्का मच्चाई दियो । च्याटजीपीटीको जन्मेकै अमेरिकामा समेत चीनको डीपसीकले तहल्का मच्चाइरहेको छ । अमेरिकाको च्याटजीपीटी र चीनको डीपसीकजस्तै अरू देशहरू पनि अरू खालका एआई प्रविधिको निर्माण र प्रयोगको होडमा लागेका हामीले पनि चाल पाएका छौं ।
अरू देशले यसरी एआईमा फड्को मार्दा नेपालले चाहिँ के गरिरहेको छ त भन्ने प्रश्न उठ्न सक्छ । हामीले आफ्नै मोबाइल र कम्प्युटर खोलेर सामाजिक सञ्जाल हेर्दा यसको उत्तर सजिलै मिल्छ । नेपाल एआईका यस्ता प्रविधिभन्दा अघि छ र अहिले पनि यी प्रविधिको सहारामा अरूले गर्न नखोजेका काममा ध्यान दिइरहेको छ ।
च्याटजीपीटीकै कुरा गर्नुस् । संसारमा यसको प्रयोग हुन थालेको केही महिना मात्रै भएको छ । तर च्याटजीपीटी आउनुभन्दा धेरै पहिलेदेखि हामी नेपाली च्याटजेपिटीमा रमाउन थालेका हौं । च्याटजेपिटी अर्थात् च्याटमा जे पायो त्यही लेख्ने र बोल्ने काम । तपाईं आफ्नो सामाजिक सञ्जालको म्यासेन्जर हेर्नुहोस्, पहिलेदेखि अहिलेसम्मका । म्यासेन्जरमा भएका सबै कुराकानीलाई दुई भागमा छुट्याउनुहोस् । एउटा कामकै लागि भएका कुराकानी । अर्को टाइमपासका लागि गरिएका जेपिटी कुराकानी । दुई वटाको तुलना गर्नुहोस् । पक्कै जेपिटी कुराकानीको मात्रा धेरै छ । तपाईंको आफ्नै साथीभाइ र आफन्तको मेसेन्जर हेर्नुहोस् । हुन त अरूको मेसेन्जर हेर्न मिल्दैन । तर फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा त अरूका पोस्ट र सामग्री हेर्न मिल्छ नि । हेर्नुहोस् त, कामका भन्दा बेकामका जेपिटी सामग्री नै बढी देखिन्छ । भनेपछि हामी ‘च्याटजीपीटी’ भन्दा पहिलेदेखि नै ‘च्याटजेपिटी’ मा अनुभवी र लोकप्रिय छौं ।
चीनको एआई प्रविधि ‘डीपसीक’को नाम सुनेको केही दिन मात्रै भयो । ‘डीपसीक’ भन्दा पहिले नै हामी ‘डिपफेक’ मा रमाउन थालिसकेका हौं । पहिले एआई नहुँदा पनि हामी अरूको फोटो र भिडियो बिगारेर डीपफेक बनाउने काममा अगाडि छौं । अहिले त एआईले यो कामलाई झन् आहा बनाइदियो । अरूको आवाज, फोटो र भिडियोलाई डीपफेक अर्थात् नक्कली बनाएर हामीले सामाजिक सञ्जालमा आफ्नो सक्कली अनुहार देखाइरहेका छौं ।
कसैकसैले डीपफेकलाई पनि राम्रो काममा सदुपयोग गरेका छन् । डीपफेकबाट ‘भर्चुअल टुर प्रोग्राम’ मार्फत घरमा बसीबसी नयाँनयाँ रमणीय ठाउँहरू आफैं पुगे जस्तो गरी घुमाइको रमाइलो अनुभव गर्न सकिन्छ । घरमा एक्लै बस्ने ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकसँग डीपफेकबाट दोहोरो कुराकानी गरी मनोरञ्जन दिन मिल्छ । बालबालिकालाई कम्प्युटरका माध्यमबाट प्रभावकारी तरिकाले पढाउने गुरू, गुरूआमा पनि डीपफेकको प्रयोगबाट बनाउन सकिन्छ । नागरिकलाई सेवा दिने कार्यालयहरूले पनि डीपफेकको प्रयोग गरी कम्प्युटर स्क्रिनमा दोहोरो संवाद गरेर अनलाइनमार्फत प्रभावकारी जनसेवा दिन सक्छन् । तर प्रविधिमार्फत गर्न सकिने यस्ता उपयोगी काम हामीलाई मन नै पर्दैन । यस्ता उपयोगी कामबाट मनोरञ्जन पनि मिल्दैन । हामीलाई त प्रविधिको दुरुपयोग गरेर मनोरञ्जन लिने बानी भैसकेको छ । त्यसैले व्यक्तिको हाउभाउलाई अर्कै व्यक्तिको अनुहारमा देखाएर व्यक्तिको चरित्रहत्या गर्ने, ब्ल्याकमेलिङ गर्ने काम फस्टाएको छ । एक व्यक्तिले गरेको अपराध अर्को व्यक्तिले गरेको जस्तो देखाउने गैरकानूनी कामले बढावा पाएको छ । अश्लील फोटो र भिडिओ सामग्री बनाएर चर्चित सेलिब्रेटीको बदनाम गर्ने कुलत बढेको छ । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल हेर्नुहोस् त ! डीपफेकको दुरुपयोगमा हामी अरूभन्दा धेरै अगाडि पुगिसक्यौं ।
अरू ‘च्याटजीपीटी’ र ‘डीपसीक’ को प्रतिस्पर्धामा लागिरहून् । हामीलाई ‘च्याटजेपिटी’ र ‘डीपफेक’ बाट बाहिर निस्कने फुर्सद छैन । अरूलाई नयाँ एआई प्रविधि बनाउन र सदुपयोग गर्न भ्याइनभ्याइ छ, हामीलाई हाम्रै पारा र प्रवृत्ति नै आहा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।