बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग जोखिमपूर्ण

 फागुन ४, २०८१ आइतबार ९:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोखरामा हिजो भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमी देखिएको विज्ञहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक सन्तोष खनालले दुर्घटनामा लापरवाही र प्राविधिक ज्ञानको कमी देखिएको बताउनुभयो । उहाँका अनुसार बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग जोखिमपूर्ण हुन्छ ।

पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा पोखरा महानगरले ब्यानर उडाउन बेलुनमा हाइड्रोजन ग्यास भरेको थियो । आयोजकको आग्रहअनुसार अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यले बेलुन उडाउन लाग्दा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू ‘फायर क्यान्डिल’बाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि विस्फोटसहित आगोको मुस्लो निस्किएको थियो ।

रसायनशास्त्रका विज्ञहरुका अनुसार हाइड्रोजन ग्यास ब्रम्हाण्डमा पाइने सबैभन्दा हलुका र प्रज्वलनशील ग्यास हो । यो ग्यास भरिएको बेलुन तातो हुँदा पनि जल्ने गर्छ । बेलुनमा भरेर उडाउनै पर्ने हिलियम ग्यासको प्रयोग गर्नुपर्छ ।

हिलियम ग्यास हाइड्रोजन जस्तो अति प्रज्वलनशील नहुने विज्ञहरुको भनाइ छ । तर हाइड्रोजनको तुलनामा हिलियम ग्यास धेरै महँगो पर्ने भएकाले बेलुनमा हावा भर्दा धेरैले हाइड्रोजन ग्यास भर्ने गरेका छन् । आउँदा दिनमा यस्तो ग्यास भरिएको बेलुन प्रयोग गर्दा सचेत हुनुपर्ने उपप्रध्यापक खनालले बताउनुभयो । आगोको सामान्य फिलिङ्गोसँग पनि हाइड्रोजनले प्रतिक्रिया जनाउने भएकाले यसलाई प्रयोग गर्दा उच्च सतर्कता अपनाउन उहाँको सुझाव छ ।

उपप्राध्यापक खनालका अनुसार हाइड्रोजन ग्यासका विषयमा विद्यालय तहदेखि नै पढाइ हुन्छ । विद्यार्थीले विद्यालयकै प्रयोगशालामा हाइड्रोजन ग्यास कति प्रज्वलनशील छ भनेर प्रयोग गरेर हेर्ने र शिक्षकले सबैभन्दा प्रज्वलनशील ग्यास भएकाले यसको प्रयोगमा सचेत हुन सिकाउने गर्छन् । तर बालबालिकाको खेलौना बेलुन र कार्यक्रमको उद्घाटन कार्यक्रममा उडाउने बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग गर्ने गरिएको छ । यस्ता दुर्घटना फेरि पनि हुन सक्ने भएकाले बेलुनमा हाइड्रोजन ग्यास भर्न नदिन विज्ञले सुझाव दिएका छन् ।

गृहमन्त्री रमेश लेखकले यस विषयमा सरकार गम्भीर भएको बताउनुभएको छ । बेलुन पड्किएर आगो लाग्दा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई कीर्तिपुर अस्पतालमा भेटेपछि उहाँले यस्ता घटना दोहोरिन नदिन सरकारले सतर्कता अपनाउन सबैलाई निर्देशित गर्नुपर्ने देखिएको बताउनुभयो । गृहमन्त्री लेखकले यस्तो शैलीको कार्यक्रम आयोजना नगर्न सरकारीस्तरबाटै व्यवस्था गर्ने पनि बताउनुभएको छ ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया