ट्यूबबाट सेती नदी तर्छन् नागरिक, राजमार्गमा सरर हुइँकिने मन्त्री र नेतालाई वास्तै छैन

 मंसिर १९, २०७५ बुधबार १६:४२:३८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–३, बाफी गाउँका स्थानीयहरु आफ्नो घर जानका लागि पुल नहुँदा ट्यूबबाट सेती नदी वारपार गर्न बाध्य भएका छन् ।

बाफी गाउँमा जानका लागि गएको वर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरी केही महिना पहिला समूहागाढको गेरुपानी नजिक झोलुंगे पुल निर्माण गरिए पनि त्यो पुल उद्घाटन हुन नपाउँदै भत्कियो । पुल बनेपछि सुरक्षित यात्रा गर्न पाइने भयो भनेर खुशी भएका स्थानीयहरु एकाएक दुखी हुनुपर्यो ।

पुल उद्घाटन हुन नपाउँदै भत्किएपछि स्थानीयहरु पहिलेको जस्तै ट्यूबको भरमा यात्रा गर्न र सरसामान बोक्न बाध्य भएको बाफी गाउँका स्थानीय कलिभान साउदले बताउनुभयो ।

‘हामी गरिबको भाग्य नै यस्तै हो, पुलमा हिँड्न नपाउँदै भत्कियो । फेरि त्यही ट्यूब काम लाग्नेभयो’, उहाँले भन्नुभयो, ‘गरिब नागरिकलाई जताबाट पनि दसै–दसा ।’

असार–साउनको भेलामा अन्तैबाट यात्रा गरे पनि त्यस गाउँका स्थानीयहरु हिउँदे महिनामा सधैँ ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् । सेती नदीमा ज्यान जोखिममा राखेर ट्यूबमा यात्रा गर्ने गरेको नजिकैको केआइ सिंह राजमार्गमा हिँड्ने नेता तथा मन्त्रीहरुले देखे पनि उनीहरुको बारेमा कसैले नबोलेको स्थानीयको आरोप छ ।

सेती नदीमा जोखिम मोलेर यात्रा गर्दा अहिलेसम्म दर्जनौँले ज्यान गुमाइसकको स्मरण आफूसँग अझै ताजै रहेको अर्का स्थानीय महानन्द साउदले बताउनुभयो ।
‘ट्यूबमा यात्रा गर्दा पल्टिएर कति सेती नदीमा डुबेर मरिसके’, उहाँले भन्नुभयो, ‘पुल नबने अझै कतिले ज्यान गुमाउने हुन थाहा छैन् ।’

चुनावका बेला नेताहरुले बाफी गाउँका स्थानीयका लागि पुल बनाउने आश्वासन दिए पनि चुनाव सकिएपछि कोही पनि फर्किएर नआएको स्थानीयहरुको आरोप छ । गाउँमा झण्डै दुई सय घरधुरी रहेका छन् । गाउँका स्थानीयहरुले सामान्य घरखर्चको सामान किन्न पनि नजिकैको कालागाढ भन्ने ठाउँको बजारमा आउनुपर्छ । त्यो बजारमा आउनका लागि स्थानीय महिला, केटाकेटीलगायतकाले ट्यूबको भरमा यात्रा गर्ने गरेको स्थानीयवासीहरु बताउँछन् ।

पुल नहुँदा बाफी गाउँका स्थानीयलाई निकै समस्या भएको शिखर नगरपालिका–१, कालागाढका स्थानीय चेत बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिउँसो त केही भइहाले नि पत्ता लागिहाल्छ । कतिपय त राति घर जान्छन, कसरी घर पुग्छन पत्तो हुँदैन् ।’

त्यस गाउँमा पुलको समस्या मात्र होइन, खानेपानी, शिक्षा, स्वास्थ्य र यातायातको पहुँचबाट पनि निकै टाढा रहेको स्थानीयवासीहरु बताउँछन् । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बाफी गाउँका स्थानीयलाई आवतजावतमा सहज होस् भन्नका लागि पुल निर्माणको कार्य अगाडि बढाइएको बताउनुभयो ।

‘बाफी गाउँका स्थानीयका लागि पुल त गएको वर्ष नै निर्माण भएको हो तर पुल एकाएक भत्किएपछि मैले अनुगमन गरेर तत्काल पुल बनाउन ठेकेदारसँग आग्रह गरेकी छु’, उहाँले भन्नुभयो, ‘निकट भविष्यमै पुल बन्छ र बाफी गाउँका नागरिकको यात्रा सहज हुन्छ ।’ 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया