गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
रुकुम पूर्व – प्राकृतिक सम्पदा, स्थानीय श्रोत, बहुमल्य खानी तथा खनिज नेपालका अमूल्य सम्पदा हुन् । तर, स्थानीय स्तरमा रहेका विभिन्न खानी र सम्पतिको पहिचान गरी उपयोग गर्न नसक्दा सुनको सिरानी हालेर नुन खोज्ने अवस्था रहेको छ ।
४ दशकअघि गाउँकै तामाखानीबाट निकालिएका भाँडावर्तन रुकुम पूर्वस्थित भुमे गाउँपालिकाका अधिकांश स्थानीयको घरमा छन् । तिनै तामाखानी वर्षौँसम्म पनि उत्खनन नगरिदिँदा लोप हुने अवस्थामा छन् । सरकारी उदासीनताको कारण लामो समयसम्म तामा निकालिएका खानी हाल भग्नावशेषको रुपमा मात्रै छन् ।
पतेराखोला तामाखानी, खादीखोला तामाखानी, कोप्चे तामाखानी, रातापट्टी तामाखानी, ठूलपैरा तामाखानी, ढ्वाले तामाखानी र ड्वाङड्वाङे खानी लोप हुने स्थितिमा पुगेका छन् । विगतमा तामा निकालिएका खानीहरु त्यसपछि क्रमशः पुरिँदै गएका छन् । यसको साथै गोठिवाङ, टिमुरवाङ, डाङलीका, तुनवाङ, खासीवाङ, चौरीवाङ धजाहाल्ने, डिमुरगैरामा पनि केही दशक अघिसम्म तामा निकालिएको भुमे गाउँपालिका–३, झुम्लावाङका स्थानीयबासीहरु बताउँछन् ।
खानीबाट तामा निकालेर भाडाँकुडा बनाइरहेको भए पनि पछिल्लो समयमा खानी उत्खनन र प्रयोग गर्ने काम भएको छैन । त्यस गाउँमा पहिले तामा निकालेको ठाउँठाउँमा खाल्डाहरु रहेका छन् । झुम्लावाङमा तामाखानी रहेको र त्यो खानीबाट आफ्नो बुवाहरुले समेत तामा निकालेर भाडाँकुडा बनाएको स्थानीय भत्तिराम कामी बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘झुम्लावाङमा त मेरो बुवाले नै खानीबाट तामा निकालेर भाडाकुँडा बनाएको मलाई पनि थाहा छ ।’
त्यस क्षेत्रमा सुरुमा बस्ती नभए पनि खानी पत्ता लागेपछि देशका अन्य ठाउँहरुबाट समेत त्यहाँ गएर बस्ती नै बसेको स्थानीयहरुको भनाई छ । तिनै ठाउँबाट तामा निकालेर बनाइएका भाँडावर्तन हरेक झुम्लावाङबासीको घरमा पाइन्छन् । नजिकैको खानीमा तामा निकालेर बनाइएको हुन्ना, खर्काउँलादेखि स–साना भाँडाकुँडा झुम्लावाङका प्रायजसो सबै घरमा छन् ।
समाजसेवी रामबहादुर बुढामगरले २०१८ सालसम्म झुम्लावाङमा तामा निकालिएको बताउनुभयो । उहाँका अनुसार झुम्लावाङमा तामाका पैसासमेत बनाइएको थियो । पुर्खाहरुलाई उद्धृत गर्दै बुढाले भन्नुभयो, ‘यहाँको तामाबाट सरकारले पैसा समेत काटेको थियो ।’ आफूले थाहा पाउँदासम्म पनि तामा निकाल्ने गरिएको उहाँले बताउनुभयो । तामाखानीबाट धाउ निकालेर त्यसलाई पगाली तामा बनाइने गरेको बुढाले बताउनुभयो ।
८ धार्नी ढाउबाट एक धार्नी तामा तयार गरेको आफैले थाहा पाएको उहाँले जनाउनुभयो । झुम्लावाङको वनभर तामा रहेको दाबी उहाँको छ । प्रशस्त तामाखानी भएका कारणले मात्रै झुम्लावाङमा मानव बस्ती बसेको बताइएको छ । तामाखानी पाइएपछि सरकारले पैसा काट्न थाल्यो, त्यसैमा काम गर्न देशका विभिन्न ठाउँबाट आएकाहरुले त्यतै बस्न थालेका थिए ।
भएको सम्पदाको प्रयोग नहुँदा स्थानीय भने दुःखी छन् । प्रशस्त तामा पाइने खानी भए पनि त्यसको उत्खननका लागि कतैबाट पहल तथा प्रयास नहुनु दुःखद भएको स्थानीयले बताएका छन् । स्थानीय कमला बुढाले भूमेमा तामाखानीको राम्रो सम्भावना रहे पनि सरकारले उत्खनन्मा चासो नदिएको गुनासो गर्नुभयो ।
‘हाम्रो गाउँठाउँमा तामा खानीको राम्रो सम्भावना र अवसर भए पनि सरकारले उत्खनन गरेर प्रयोग गर्नमा किन ध्यान दिइरहेको छैन हामी नै अचम्ममा छौँ’, बुढाले भन्नुभयो, ‘धेरै पहिले नै हाम्रो पुर्खाहरुले समेत तामा निकालेर प्रयोगमा ल्याएको देखिन्छ, आजभोलि त झन विज्ञान प्रविधिको युग अझ सजिलोसँग उत्खनन् गर्न सकिन्थ्यो होला ।’
खानी रहेका क्षेत्रमा उत्खनन गर्दा समग्र देशसँगै स्थानीय नागरिकलाई समेत रोजगारको अवस्था सिर्जना भएर आयआर्जनमा समेत सहयोग पुग्ने उहाँको भनाई छ । स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा गाउँघरमा रहेका खानीहरुलाई उत्खनन गरी रोजगारी सगै हाल विदेशबाट निर्यात भैरहेको विभिन्न बस्तुहरुलाई रोक्न सकिन्छ भन्ने विश्वास उहाँको छ ।
भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले गाउँमा रहेको तामाखानीबारे आफूलाई पनि जानकारी रहेको भए पनि कानुनी जटिलताका कारण उत्खनन् गर्न नसकिएको बताउनुभयो । अध्यक्ष बुढाले स्थानीय सरकारलाई खानीको उत्खनन् गर्ने अधिकार स्थानीय सरकारलाई नभएको बताउनुभयो ।
‘हामीलाई खानीहरुको संरक्षण गर्ने अधिकार छ, उत्खनन र प्रशोधनको को अधिकार छैन’, अध्यक्ष बुढाले भन्नुभयो, ‘हामीले उत्खननका लागि संघीय सरकारलाई आग्रह गरिसकेका छौँ ।’ उहाँका अनुसार गाउँपालिकाको ३ नम्बर वडाको झुम्लावाङका साथै ४ नम्बरको काँडा र ५ नम्बरको स्यावाङ्गका विभिन्न ठाउँमा तामाखानी रहेका छन् । २ नम्बर वडाको काँक्री र ६ नम्बर वडाको महतमा फलाम खानीसमेत रहेको जानकारी अध्यक्ष बुढाले दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।