पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
नेपाली हुनुमा गर्व नगर्ने र खुशी नहुने नेपाली सायदै कोही होलान् । हामी गर्व गर्छौ नेपाली भएकोमा र खुशी हुन्छौँ, नेपालमा जन्म लिएकोमा । गर्व गर्ने, गर्व गनुपर्ने र खुशी हुने विभिन्न कारणहरु छन् होलान् ।
अवस्था, परिस्थिति, धुँवा धुलो, महंगी, असुविधा, अभावका कुरा एकछिनलाई थाती राख्ने हो भने वीर पुर्खाहरुको देश, बुद्धको देश, सगरमाथाको देश, सुन्दर प्रकृतिको देश आदि तपाईँ हाम्रा नेपाली हुनमा गर्व गर्ने र खुशी हुने केही कारणहरु हुन् ।
यी त तपाईँ हामी पौने तीन करोड नेपालीका सामान्य खुशीका विषय भए । यसबाहेक हिजोआज तपाईँ हामीभन्दा पनि नेपालमा जन्मेकोमा कोही सबैभन्दा बढी खुशी हुँदो हो त त्यो हो निर्मलाको बलात्कारी हत्यारा । उ खुशी हुँदो हो त्यस्तो राज्य प्रणाली भएको देशमा जन्मेकोमा जहाँ चेत गुमाएको न्यायालय, श्रवणशक्ति गुमाएको सरकार, सामर्थ्य गुमाएको राज्य संयन्त्र छ ।
उसले बेलाबेला हिसाब लगाउँदो हो यदि नेपालबाहेक अन्य कुनै देशमा यस्तो क्रुर र जघन्य अपराध गरेको हुँदो हो त कि त अहिलेसम्म फाँसीमा झुण्डी सकेको हुन्थ्यो । नभए पनि जिन्दगीभरका लागि जेलको चिसो छिँडीको यात्रा गरिसकेको हुँदा हो । त्यस्तो जघन्य अपराध गरेपछि पनि यसरी पाँच, पाँच महिनासम्म स्वतन्त्र भएर खुला वायुमण्डलमा सास लिन नपाउँदो हो ।
‘निर्मला’ सम्भवतः साउन ११ गते यता नेपालमा र नेपाली भएको ठाउँमा संसारभरि नै सञ्चारमाध्यमहरुमा र आम मानिसले सबैभन्दा बढी प्रयोग गरेको शव्द हो । निर्मला अर्थात् न्याय नपाएकी नारी । निर्मला अर्थात न्याय माग्दा माग्दै मानसिक स्थिति गुमाउन पुगेका आमाबाबुकी स्वर्गीय छोरी ।
योभन्दा पनि सरल वाक्यमा भन्दा समृद्ध नेपाल सुखी नेपाली नारा बनाइएको देशमा बलात्कारपछि विभत्स हत्या गरिएकी र न्याय नपाएकी पात्र हुन् निर्मला । यस अर्थमा निर्मला एउटा पात्र मात्र होइनन्, यस्ता अनेकौँ बलात्कार र हत्याको सिकार भएकी र न्याय नपाएका नारीहरुको प्रतिनिधि पात्र पनि हुन् ।
साउनको दोस्रो हप्तादेखि आजसम्म सयौँ पटक सयौँ सञ्चारमाध्यमहरुको लागि हेडलाइन बनिन् निर्मला । हजारौँ कोणसभामा भाषणको शीर्षक बनिन् निर्मला । त्यसपछिका सयौं पटकको आन्दोनको नारा बनिन् निर्मला । यसबीचमा निर्मला हत्याकाण्डसँग जोडिएका कैयाैँ रहस्यहबाट पर्दा खुल्यो । प्रहरी प्रशासनको लापर्वाही बाहिर आयो । कयौं छानबिन समितिहरु पनि बने, प्रतिवेदनहरु बाहिर आए । तर हत्यारालाई अझै कानुनको कठघरामा उभ्याउन सकिएन ।
गएको साउन १० गते साथीको घरमा जान्छु भनेर गएकी निर्मलाको शव भोलिपल्ट अर्थात् साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएको थियो । त्यसबेलादेखि निर्मला हत्याकाण्डका बारेमा कसले के लेख्यो र कसले के भन्यो चर्चा परिचर्चाहरु भए, बहसहरु भए । वाद प्रतिवादहरु भए ।
यी त भए अरुका कुरा । बलात्कारी पनि त यो संसारमै छ होला नि । उसले पनि त सुन्दो हो यी सबै समाचारहरु । पत्रपत्रिकाका, रेडियो र अनलाइनका हेडलाइनहरु । सामाजिक सञ्जालहरुमामा हुने गरेका बहसहरु । ध्यान दिएर सुन्दो र पढ्दो हो । पटक–पटक एकपछि अर्को गठन गरिएका छानबिन समितिहरुको बारेमा र तिनीहरुले काल्पनिक तथा कथा शैलीमा लेखेका प्रतिवेदनहरुको बारेमा ।
कहिलेकाहीँ एक्लै पेट मिचीमिची हाँस्दो हो प्रहरीले नै नाटकीय शैलीमा नक्कली अपराधी खडा गरेको देखेर । कहिलेकाहीँ डराउँदो पनि हो देशैभरि गरिएका आन्दोलन र यो विषय मत्थर नभएको देखेर । तर उसलाई सबैभन्दा खुशी त त्यतिखेर लाग्दो हो जब स्वयम प्रधानमन्त्री नै सञ्चारमाध्यमहरुमा हत्यारा पत्ता लाग्न १० वर्ष पनि लाग्नसक्छ भन्ने अभिव्यक्ति दिनुहुन्छ र सोच्दो हो त्यसो भए कमसेकम १० वर्ष त ढुक्क छु ।
बेलाबेला गृहमन्त्रीलगायत सरकारका प्रतिनिधिहरुले चाँडै हत्यारा सार्वजनिक गर्छौँ भनेको पनि सुन्दो हो । त्यतिखेर मुटु अलिअलि ढुकढुक हुँदो हो । तर बारम्बार महिनौँसम्म त्यही भाषण जस्ताको त्यस्तै दोहर्याएको देख्दा मनमनै सोच्दो हो सायद चाँडै भनेको दश/पन्ध्र वर्ष नै हो की ? पत्रपत्रिकामा प्रहरी प्रशासनले दिने गरेको ‘अनुसन्धान अपराधीको नजिक’ भन्ने अभिव्यक्ति पढी एकछिन झस्किएर आफ्नो वरिपरि हेर्दो हो र त्यसपछि त्यस वाक्याशंलाई ‘जोक अफ् द डे’ मानेर मनमनै हाँस्दो हो ।
सत्य डग्दैन र पाप धुरीबाट कराउँछ भनेझैं आशा गरौँ एक न एक दिन त अपराधी पक्कै सार्वजनिक होला । अथवा हत्यारा पत्ता नलाग्न पनि सक्छ भन्ने भनाईलाइ काट्ने बलियो तर्क नभएको अवस्थामा भविष्यको बारेमा भविष्यले नै जानोस् ।
तर सरकार र सरोकारवालाहरुलाई ढिला न्याय दिनु भनेको न्याय नदिनु बराबर हो भन्ने यथार्थ र आफ्नो असक्षमताको कारण अपराधीलाई कहिलेसम्म खुशी बनाउने ? भन्ने प्रश्नले भने कालान्तरसम्म घोचिरहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।