डोटीमा अझै हटेन छाउपडी प्रथा

 माघ ८, २०७५ मंगलबार १४:२४:३५ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरुमा छाउपडी गोठहरु धमाधम भत्काउन थालेपनि डोटीमा भने छाउपडी प्रथा र गोठहरु कायमै रहेका छन् । 

विभिन्न देवी देउताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै रहेको छ । यहाँका ग्रामीण बस्तिका गाउँ गाउँमा छाउपडी गोठहरु रहेको र महिलाहरुले महिनावारी भएका बेला छाउगोठमै सुत्नु पर्ने अवस्था रहेको बडीकेदार गाउँपालिका–१ की मुना मटेलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिनावारी भए घरैमा सुते अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण हामीहरु अहिले पनि छाउगोठमा बस्न बाध्य छौँ ।’

त्यस्तै डोटीको सायल गाउँपालिका–२, सिर्मामा रहेको तामेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोमा खातीले महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विद्यालय समयमै पनि छात्रा छाउ (महिनावारी) भइन् भने भागेर जाने र चार दिन भएपछि मात्रै विद्यालय आउने गर्छन् ।’ 

२०६२ साल वैशाख १९ गते सर्वोच्च अदालतले मासिकश्राव भएको महिलालाई छाउपडी गोठमा पठाउने प्रथा कुरीति भएको घोषणा गरी सरकारका नाममा आदेश जारी गरेको भएपनि डोटीमा त्यसको कसैलेपनि पालना नगरेको महिला अधिकारकर्मी तुलसी शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘छाउपडी प्रथा कुरीति हो भनेर अदालतले भने पनि यहाँका शिक्षित वर्गका घरमा नै बढी छाउपडी प्रथा मान्ने चलन कायमै छ, हटाउने कस्ले ?’ 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सुदूरपश्चिममा २०६२ साल यता करीव दुई दर्जनले छाउपडी प्रथाकै कारण ज्यान गुमाइसकेका छन् । गएकाे भदौ १ गतेदेखि लागू भएको मुलुकी (अपराध संहिता) ऐन, २०७४ को दफा १६८ को उपदफा (३) मा छाउपडी प्रथा कसैले गरेमा कानुनी सजाय हुने उल्लेख गरिएको छ ।

दफा ३ को उपदफा (४) मा कसैले यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने व्यवस्था छ । 
तर ऐन लागू भएको पाँच महिना बित्दा पनि यो व्यवस्था अनुसार डोटी लागयतका अन्य जिल्लाहरुमा यो छाउपडी प्रथा मान्ने कसैलाई कारबाही भएको छैन ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया