निर्मला हत्याकाण्ड : पक्राउ परेका आठ प्रहरीमध्ये ६ जना धरौटीमा रिहा

 फागुन ३०, २०७५ बिहीबार १६:५१:३९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी बिहीबार धरौटीमा रिहा भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनचेक बहसपछि बिहीबार ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश गर्नुभएको हो । 

गएको पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले ८ जना प्रहरीविरुद्ध सार्वजनिक कसुरअन्तर्गत र दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले यातनाविरुद्धको कसुरमा चार जना प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिनुभएको थियो । 

अदालतका अनुसार सार्वजनिक न्या विरुद्धको कसुरमा तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का र जगदीशप्रसाद भट्टलाई चार/चार लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ । 

यसैगरी, त्यसै मुद्दाका प्रतिवादीहरु तत्कालीन प्रहरी नायव निरीक्षक हरिसिंह धामीलाई तीन लाख ५० हजार, प्रहरी नायव निरीक्षक रामसिंह धामीलाई तीन लाख र प्रहरी जवान चादँनी साउँदलाई २ लाख ५० हजार रुपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत कञ्चनपुरका डिठ्ठा रुद्रप्रसाद बोगटीले बताउनुभयो । 

उहाँले बिहीबार बेलुकी ५ बजेसम्म धरौटी बुझाउन नसक्ने प्रतिवादीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिने बताउनुभयो । 

उता, यातनाविरुद्धको कसुरमा मुद्दामा समेत अदालतले प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई पाँच÷पाँच लाख धरौटीमा रिहाको आदेश दिएको छ ।

बोगटीका अनुसार दुबै मुद्दाका प्रतिवादी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक अंगुर जिसी फरार रहेका छन् । 

फरार रहेका विष्ट र जिसीलाई पक्राउ गर्नका लागि ३५ दिने सूचना जारी गरिएको अदालतले जनाएको छ ।

साथीको घरमा गृहकार्य गरेर घर फर्किने क्रममा भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन ११ गते बिहा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।
 

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया