गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
डोटीमा समयमै नदी कटान र पहिरो नियन्त्रणको पहल नहुँदा डोटीमा बग्ने सेती, अछाम–बाजुरामा बग्ने बुढी गंगा र अन्य शाखा खोलानाला छेउछाउका दर्जनौ बस्ती जोखिममा पर्दै गएका छन् ।
गएको वर्ष जेठ २६ गते आएको बाढी पहिरो शिखर नगरपालिका ९ को तिलतालीसैन गाउँमा पसेपछि बस्ती नै जोखिममा परेको छ ।
झण्डै डेढ सय परिवार पहिरोको जोखिममा छन् । डोटीकै शिखर नगरपालिका बारपाटा गाउँको वडा नं. २ र ३ का ४८ परिवार सेती नदी र हारेखोलाको कटानले बस्तीनै उठीबास हुनसक्ने खतरामा छ ।
त्यस्तै सेती नदीको कटानले बारपाटाको वडा नं. ६ मा रहेको बल्लेगडा गाउँका विष्ट परिवार पनि जोखिममा छन् ।
नदी कटानका कारण विष्टगाउँका १४ परिवारमा बर्सेनि असार, साउन महिनामा त्रास बढ्दै गएको स्थानीय गणेश विष्टले बताउनुभयो ।
२०७३ साल साउनमा ६ जनाको ज्यान जाने गरी सायल गाउँपालिकामा रहेको डौड तोलेनीका ७ गाउँ स्थानीय साइलीगाडमा आएको बाढी र गाउँमाथि खसेको पहिरोले जमिन चिराचिरा पारेको छ ।
बाढी र पहिरोले पूरै गाउँको भूगोल फेरिएको स्थानीय डिलबहादुर सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘बाढी पहिरोले पूरै गाउँ र जमिनको मुहारै फेरेको छ । बस्तीमाथि पूरै चिरैचिरा परेको छ, कतिबेला के हुन्छ भन्न सक्ने अवस्था छैन, डरैडरमा रात बित्छ ।’
यस्तै शिखर नगरपालिकाको बानेडुंग्रीसैन क्षेत्र नदी कटानको उच्च जोखिममा छ ।
त्यहाँको सिद्धेश्वर उच्च माविको पर्खाल नदीले बर्सेनि काटिरहेको र नदी गाउँतिर सोझिएकाले सयौं परिवार घरबारविहीन हुनसक्ने सम्भावना रहेको स्थानीय नरेन्द्र बलायरले बताउनुभयो ।
उता डोटीको पूर्वी क्षेत्रमा रहेको बोगटान गाउँपालिकाको वडा नं. ८ मा रहेको मल्लागाउको तल्लो भेगको जमिन पनि भासिन थालेको र जमिन फुटेर बर्सेनि १०÷१५ फिट तल भासिन लागेको स्थानीय हर्कबहादुर बमले बताउनुभयो ।
समयमै नियन्त्रणका लागि पहल नगरे ४५ परिवार रहेकोे गाउ संकटमा पर्ने उहाँको भनाई छ ।
उता बाजुरा–अछाममा बग्ने बुढीगंगा नदीको कटानले अछामको साँफेबगरदेखि कैलाशखोला र बाजुराको मार्तडीमा रहेको पावरहाउसदेखि लेकसम्मको भागमा बर्सेनि नोक्सान पार्दै आएको छ ।
जलउत्पन्न प्रकोप व्यवस्थापन सव–डिभिजन कार्यालय दिपायल राजपुरका प्रमुख कुमारबहादुर खड्काले बुढीगंगा नदिको गुरुयोजना तयार पारेर नोक्सानी नियन्त्रण गर्ने प्रयास भईरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘अब साना तथा टुक्रे योजनामा बढी ध्यान दिनेछैनौं, गुरुयोजना बनाएर काममा लाग्ने तयारीमा छौं ।’
कर्णाली नदीले अछामका कालिकास्थान, रानीबन र ढुंगाचाल्ना क्षेत्रमा तीव्र क्षति पारिरहेको छ भने डोटीको सायलीगाड र दक्षिण क्षेत्रमा बग्ने ठुलीगाडमा नदी कटान अनियन्त्रित बन्दै गएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लाका बोगटान, सायल, बारपाटा, जोरायल लगायतका १० वटा क्षेत्रलाई उच्च जोखिममा राखेको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादबले जिल्लामा बर्षात्को समयमा हुनसक्ने घटनाहरुबाट कसरी उद्धार गर्न सकिन्छ भन्ने तयारीमा रहनुका साथै विपत्ति नियन्त्रणका लागि पहल भइरहेको बताउनुभयो ।
जलउत्पन्न प्रकोप व्यवस्थापन सव–डिभिजन कार्यालय राजपुरले सेती नदी आसपासका बस्तीहरुलाई जोखिमबाट बचाउन गुरुयोजना तयार गरी काम भईरहेको जनाएको छ ।
गुरुयोजनाले सेती नदीले माथिल्लो भेग गिरीचौकाबाट क्षति गर्दै तल तिखात्तरको नारीदाङ्ग सम्म असर पारेको उल्लेख गरेको छ ।
गुरु योजना अनुसार विभिन्न ११ वटा ठाउँमा नदी नियन्त्रणका लागि काम गरिरहेको कार्यालयका खरिदार दिपेन्द्र शाहले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।