पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
नेपालमा प्रजातन्त्रको सूत्रपात भएपश्चात कयौँपटक सत्ताको बागडोर सम्हालेको र त्यसमा पनि बहुमतको सरकारको अनुभव नेपाली कांग्रेसको सुखद इतिहासको संक्षिप्त हो । नेपाल गणतन्त्रात्मक देश भएपछि पनि २०७० को चुनावमा पहिलो पार्टी भएको र दुईपटक सरकारको नेतृत्व गरिसकेको नेपाली कांग्रेस यतिबेला भने बिरानो ठाउँमा बाटो बिराएको बटुवा जस्तै भएको छ ।
कसैले बाटो देखाउला कि भन्ने आश गरेर बस्नु र जसले जता बाटो देखायो उतै कुद्नुपरिरहेको कांग्रेसको तीतो वर्तमान हो । कांग्रेसको अबको राजनीतिको मुद्दा के हो र राष्ट्रिय राजनीतिको उसको लाइन के हो भन्ने कुरामा नागरिक मात्रै होइनन् कांग्रेसकै नेता कार्यकर्ताहरु पनि अन्यौलमा छन् ।
एकातिर नेपालको उपलब्धि भनिएका संविधान निर्माण, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको प्राप्तिमा कांग्रेसको उच्च योगदान र बलिदानको दावी कायमै छ भने अर्कोतिर कांग्रेसकै केही केन्द्रीय नेताहरु यीमध्ये केही विषयहरुमा जनमत संग्रह गर्नुपर्छ भनिरहेका छन् । तर यो विषयमा सिंगो पार्टीको धारणा के हो अझै अस्पष्ट छ ।
योबाहेक सुरुदेखि नै जुट र फुटको अवस्थाबाट गुज्रिँदै आएको कांग्रेसमा यतिबेला पनि आन्तरिक वैचारिक बिमती वा फरक– फरक र गुटगत स्वार्थका धाँजाहरु छर्लङ्गै छन् । कहिले पार्टी केन्द्रीय कार्यालयमै जिन्दावाद र मूर्दावादका नारा, ढुङ्गा हानाहान त कहिले पार्टी नेतृत्वको विरोधमा पार्टीभित्रै मोर्चाबन्दीका समाचारहरु बाहिर आउनुले यो कुराको पुष्टी गर्दछ ।
पछिल्लो संघीय, प्रादेशिक र स्थानीय तहको चुनावमा प्रतिपक्षको भूमिकामा पुगेको कांग्रेसले संघीय र प्रदेश संसदहरुमा सशक्त प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकेको कतिपय कांग्रेस नेताहरुकै टिप्पणी छ ।
संविधानसभा सदस्यको लागि भएको दोस्रो चुनावमा नेपाली नागरिकले पहिलो पार्टी बनाए पनि कांग्रेसले त्यो जनमत र जन विश्वास चार वर्ष पनि टिकाउन सकेन । सत्तामा पुगेपछि चालिएका कतिपय अलोकप्रिय कदम र व्यवहारले कांग्रेस नेतृत्वलाई आलोचित मात्रै बनाएन आफैंले सम्पन्न गराएको चुनावमा स्थानीय तहदेखि केन्द्रसम्म पराजयको सामना गर्नुपर्यो ।
पराजयको कारण खोज्न गरिएका समीक्षा र छलफलहरु अर्को गुटतिर आँैला सोझ्याउँदै सकिए । चुनावको वर्ष दिनसम्मै समीक्षा चल्यो, तर नेताहरु त्यसको निक्र्यौलमा अझै पुग्न सकेका छैनन् । केहीले ‘नाच्न नजान्ने आँगन टेढो’ भन्ने उखानलाई चरितार्थ गर्न हारको कारण नेकपाको एकतालाई ठाने पनि मुख्य कारण कांग्रेसको व्यवहार र विचारगत विचलन नै थियो भन्ने कुरा स्वंय नेताहरुको अन्तरमनले स्वीकार गरिसकेको छ । त्योभन्दा पनि धेरैले कांग्रेसको हारको प्रमुख कारण उसको रणनीतिक असफलता र नेतृत्वको आन्तरिक व्यवस्थापन क्षमताको कमीलाई मानेका छन् ।
आफ्नो राम्रो भन्दा अर्काको नराम्रोले टिक्ने रानीतिक संस्कार
आफ्नो राम्रो देखाएर भन्दा पनि अर्काको नराम्रो देखाएर आफ्नो पक्षमा जनमत बनाउनु नेपाली राजनीतिको पुरानै संस्कार हो । मसँग के छ भन्दा पनि उसँग के छैनले राजनीतिका नाराहरु तय गरिन्छन् । हाम्रो राजनीतिमा सत्ता र प्रतिपक्षको कथाबस्तु खासै परिवर्तन हँुदैन । परिवर्तन हुन्छ त केवल पात्र, परिवेश र समय मात्रै ।
यतिबेला दुई तिहाई जनमतसहित सत्तामा रहेको नेकपाले जनअपेक्षा अनुसार काम गर्न नसकेको चौतर्फी गुनासो बढिरहेका बेला प्रतिपक्ष भने सरकारसँग जनमत टाढिएला र आफू नजिक होला भन्ने सपना बुनेर बसिरहेको छ । नेकपा सरकारको एक वर्ष बिते पनि अझै उसँग झण्डै चार वर्षको समय बाँकी छ । अर्को चुनावसम्म नेकपाले पाउने र गुमाउनेको हिसाबकिताब उसले एक वर्षमा गरेका काम र बाँकी चार वर्षको कामले निर्धारण गर्नेछ ।
आगामी चार वर्षमा सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्न नसके कांग्रेसको लागि केही सहज त होला । तर आम नेपाली नागरिकका निम्ति भने त्यो निकै पीडादायि र पट्यारलाग्दो हुनेछ । सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थकता दिन र आम नागरिकको सपना साकार गर्न प्रतिपक्षले कर्मकाण्डी प्रतिपक्ष भएर होइन की रचनात्मक प्रतिपक्ष भएर आफूलाई उभ्याउनु आवश्यक छ ।
अहिले रचनात्मक प्रतिपक्षको भूमिका निभाउन नसकेको अवस्थामा कालान्तरमा देशले घाटा बेहोर्नुपर्नेछ भने कांग्रेसलाई पनि आफ्नो पुरानो साख फर्काउन त्यति सहज हुने छैन ।
‘खोलो तर्यो लौरो बिर्सियो’ भनेजस्तै चुनाव जितेपछि सीमित समूहको स्वार्थमै अलमलिएर बिर्सिएका घोषणापत्रका प्रतिबद्धता र मतदादातालाई दिइएका अश्वासन त फेरि पनि भेटिएलान् ।
तर कांग्रेसको निम्ती हिजो बिर्सिएको त्यो ‘लौरो’ भेटाउन कति संघर्ष गर्नु पर्ने हो ? त्यो महत्वपूर्ण छ । प्रमुख प्रतिपक्षी कांग्रेसको नजरबाट हेर्ने हो भने उसको प्रमुख प्रश्न हो, के खोलो तरिसकेपछि अलपत्र छोडेको त्यो लौरो फेरि सहजै भेटिएला त ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।