तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
युएई, जेठ ५ – युएईबाट बाहिर जाने पर्यटकहरुको पहिलो रोजाइमा नेपाल परेको छ । युएईमा विभिन्न पेशा, व्यवसाय गरिरहेका विदेशी नागरिकहरुको घुम्न जाने पहिलो रोजाइमा नेपाल परेको पर्यटन प्रवद्र्धन सम्बन्धी काम गरिरहेका प्रतिष्ठानहरुलाई उदृत गर्दै यहाँका स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् ।
यो वर्ष गर्मी मौसमको सुरुवातसँगै घुम्न जानेको पहिलो रोजाइमा नेपाल र त्यसपछि सेचेल्स तथा अर्मेनिया परेका छन् । ती देश घुम्न जाने पर्यटकहरुको टिकट बुकिङ अपेक्षा गरे भन्दा धेरै बढेको एयरलाइन्सहरुले जनाएका छन् ।
यो वर्ष रमजान छिट्टै सुरु भएको तथा इदको माहोल र विद्यालय बिदा पनि सुरु भएकाले घुम्न जान हवाइ टिकट तथा अन्य बूकिङ गर्ने क्रम तेब्बर रुपमा बढेको ट्राभल पोर्टका प्रबन्ध निर्देशक पावेल माथेवको भनाइ छ ।
गर्मीको समयमा युएई भित्रिने पर्यटकको सख्या घट्ने गर्छ । यहाँ पेशा व्यवसाय गरिरहेकाहरु पनि चिसो मौसम भएका देश र ठाउँमा जाने गर्छन् । युएईमा भित्रिने पर्यटक औसतमा मे महिनामा १० प्रतिशत र जुनमा ३६ प्रतिशतले घट्ने गरेको युरो मनिटर इन्टरनेशलनका विश्लेषक रबिया यसमिनले बताएको गल्फ न्युजले उल्लेख गरेको छ ।
नेपालका लागि नेपाल एयरलाइन्सले धेरै वर्षपछि दुवईबाट उडान सुरु गरे लगत्तै पर्यटकका थप अतिरिक्त उडान गर्न पाएको जनाएको छ । इदको समयमा साउदीको मक्का मदिनाका क्षेत्रमा उमरा जानेहरु बढे पनि औसतमा नेपाल रोज्ने पर्यटकको सख्या बढेको छ ।
नेपाल एयरलाइन्स आफैंले यहाँका ठूला कर्पोरेटसँग समन्वय गरेर पर्यटक भित्राउन पहल गरिरहेको छ । एयरलाइन्स आँफैले प्रचारात्मक सामाग्री बनाएर वितरण गर्ने गरेको तथा सम्पर्क गरेर होलिडे प्याकेज गर्ने ठूला ट्राभल्स कम्पनीसँग पहल गरिरहेको नेपाल एयरलाइन्सका युएई कन्ट्री म्यानेजर रमेश पौडेलले बताउनुभयो । एयरलाइन्सले दुवईबाट हप्तामा ४ दिन उडान गर्दै आएको छ ।
नेपाली दूतावास आबुधाबीले गएको एक बर्षमा १ हजार ५२ जनाको भिसा जारी गरेको छ । दूतावासमा आएर भिसा आवेदन दिने १ हजार ५२ जना बिदेशी नागरिकलाई भिसा प्रदान गरेको दुतावासले जनाएको छ। भ्रमण गर्नेमा धेरै सार्क मुलुक भन्दा बाहिरका नागरिक छन् ।
छुट्टीको समयमा उनीहरु नेपाल जाने गरेको पाईएको दूतावासले जनाएको छ । नेपालमा पर्यटक प्रवद्र्धन गर्न आगामी आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रमका लागि परराष्ट्र मन्त्रालयमा माग गरिएको कार्यबाहक राजदुत सागरप्रसाद फुँयालले उज्यालोलाई बताउनुभयो ।
नेपालमा अन अराइभल भिसा नपाउने १२ देशहरु नाइजेरिया, घाना, जिम्बावे, स्वीटजरल्याण्ड, क्यामरुन,सोमालिया, लिबिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले आफ्नो सम्बन्धित देशको दूतावास तथा वाणिज्य दूतावासबाट कागजात प्रमाणिकरण गरेर सिफारिसपत्र सहित नेपाली दूतावासमा भिसाका लागि आवेदन दिनुपर्छ ।
तर अन्य अराइभल भिसा पाउने देशका नागरिकले समेत नेपालको विमानस्थलमा पुगेर लाइनमा बस्नुपर्ने वा अन्य झन्झट ब्यहोर्नु पर्ने भन्दै दूतावासमै पुगेर भिसा लिने गरेको दूतावासले जनाएको छ ।
सार्क राष्ट्रका नागरिकलाई एक वर्षभित्र एक पटक मात्रै नेपाल भ्रमण गर्न जाँदा राजश्व शुल्क लाग्दैन । १० वर्ष मुनिका बालबालिकालाई पनि नेपाल जाने प्रवेशाज्ञा निशुल्क पाइन्छ ।
भिसामा शुल्क नलागेपनि पर्यटक बनेर नेपाल पुग्ने व्यक्तिले गर्ने खर्चले देशमा आम्दानी थपिने भएकाले पर्यटकको सख्या बढेसगैं देशको आर्थिक अवस्था पनि उकासिने दूतावासका तृतीय सचिव तथा भिसा सम्बन्धी कामकाज हेरिरहनु भएका नारायण ज्ञवालीले बताउनुभयो ।
नेपालमा पर्यटकसँगै लगानी भित्र्याउन पनि दूतावासले यहाँका स्थानीय सरोकारवालासँग पहल गरिरहेको दूतावासको भनाइ छ । यही प्रयास स्वरुप युएईको ठूलो व्यापारिक समुहले नेपाल भ्रमणको तयारी गरिरहेको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिनुभयो ।
दूतावासले नेपाल भ्रमणका लागि भिसा पाउन आवश्यक पर्ने कागजातका विषयमा आफ्नो वेबसाइड तथा प्रकाशन गरेको पुस्तकमा उल्लेख गरेको छ । त्यस्तै दूतावासले डिजिटल बडापत्रमा समेत आवश्यक कागजातका बारेमा लेखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।