नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
भारतमा १७औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी) ले ३०२ सिटसहित विजयी भएपछि नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विदेशी पाहुनासहित झण्डै ६ हजार व्यक्तिका बीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नरेन्द्र मोदी र मन्त्रिमण्डलका सदस्यहरुलाई सपथ खुवाएका हुन् । नरेन्द्र मोदीले भारतको १५औँ प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् ।
नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा किर्गिस्तानका राष्ट्रपति सुरोनबी जीनबेकोव तथा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरु उपस्थित भएका छन् । मोदीको सपथ ग्रहणमा सहभागी हुने विशिष्ट पाहुनाहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भुटानका प्रधानमन्त्री लोते छिरिङ, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र मौरिससका प्रधानमन्त्री प्रविन्द जगनाथ रहेका छन् ।
पहिलो कार्यकालमा नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफलगायतका सार्क नेताहरु सहभागी थिए । यसपटक भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारतले निम्तो नै पठाएन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने विशेष कारणवश सहभागी हुन नसक्ने जनाएकी थिइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी तथा यूपीए अध्यक्ष सोनिया गान्धी पनि उपस्थित थिए । त्यस्तै खेलाडी तथा बलिउडका कलाकारहरु पनि सपथ ग्रहण समारोहमा उपस्थित थिए ।
मोदीको दोस्रो कार्यकालमा मन्त्रिमण्डलमा भने केही फेरबदल भएको छ । यस पटक बीजेपी अध्यक्ष अमित शाहलगायत केही नयाँ अनुहार मन्त्रिमण्डलमा समेटिएका छन् । भारतका पूर्व विदेश सचिव एस जयशंकर समेत मोदी सरकारमा समेटिएका छन् ।
त्यस्तै ३५२ सिट जितेको एनडीए गठबन्धनको प्रमुख घटक दल जनता दल युनाइटेड भने अहिलेलाई सरकारमा नजाने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।