कोपा अमेरिका सेमिफाइनल : ब्राजिल भर्सेस अर्जेन्टिना, को पुग्ला फाइनलमा ?

 असार १७, २०७६ मंगलबार २२:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

कोपा अमेरिका फुटबलको दुवै सेमिफाइनल खेल बुधबार बिहान हुँदैछन् । नेपाली समयअनुसार विहान सवा ६ बजे चिली र पेरु भिड्दा हाई भोल्टेज म्याचमा ब्राजिल र अर्जेन्टिना आमनेसामने हुने छन् ।

क्वार्टरफाइनलमा चिलीले पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दा पेरुले उरुग्वेलाई पनि पेनाल्टी सुटआउटमा निराश बनाउँदै सेमिफाइनलमा भेट पक्का गरेको थियो ।

उता ब्राजिलले पाराग्वेलाई पेनाल्टीमा पन्छाउँदा अर्जेन्टिनाले भेनेजुएलालाई निर्धारित समयमै निराश बनाएको थियो ।

ब्राजिलले १९९३ देखि जब सेमिफाइनलमा खेलेको छ त्यतिबेला हरेक पटक फाइनलमा स्थान बनाएको छ । यी दुई बीच २६ वर्ष पछि पहिलो पटक सेमिफाइनलमा भेट हुँदै छ । जसले गर्दा उपाधि होडबाट ब्राजिल वा अर्जेन्टिना बाहिरिने पक्का छ ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिल र आफ्नो टिम उत्तिकै बराबर रहेको बताएका छन् । तर ब्राजिलको होम ग्राउण्ड पनि भएकाले केही सहजता भने उसलाई रहेको पनि कप्तान मेस्सी स्वीकार गर्छन् । बल्लतल्ल क्वार्टरफाइनलमा पुगेको अर्जेन्टिनाले त्यसपछि भने उत्कृष्ट खेल खेलेको थियो । तर अझै पनि मेस्सी गोल गर्न असफल जस्तै देखिएका छन् ।

ब्राजिलका प्रशिक्षक टिटेले अर्जेन्टिनाविरुद्धको खेलका लागि नर्भस भएको बताएका छन् । २०१६ मा ब्राजिलको खराब प्रदर्शनपछि डुंगाको ठाउँमा आएका टिटेले त्यतिबेलाको जस्तै महसुस गरेको बताए । उनले अर्जेन्टिनाविरुद्ध हुने सेमिफाइनलका लागि आफू ठीकसँग सुत्न पनि नसकेको बताए ।

२०१४ को विश्वकपमा जर्मनीसँग ब्राजिलले ७–१ ले हारेको घटना ताजा भइरहेको बताउँदै आफूलाई चयन नभएको उल्लेख गरे । उनले यस्तै अवस्थामा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीलाई पनि भएको हुनु पर्ने दावी गरे ।

ब्राजिलको टिममा स्टार खेलाडी नेयमार छैनन् । तैपनि ब्राजिलको प्रदर्शन जारी प्रतियोगितामा शानदार रहेको छ । पहिलो खेलमा बोलिभियालाई ३–० ले पराजित गरेको थियो भने भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेलमा पेरुमाथि ५–०को जित दर्ता गरेको थियो । क्वार्टरफाइनलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो । जसमा ब्राजिल ५–४ गोल अन्तरले विजयी भएको थियो ।

जारी प्रतियोगितामा अर्जेन्टिनाका लियोनल मेस्सी रहे पनि उनको प्रदर्शनले समर्थक भने खुसी छैनन् । उनले गोल गर्नै सकेका छैनन् । पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको थियो ।

पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा एसियाली देश कतारलाई २–० ले पाखा लगाएको थियो । कतार आमन्त्रित देशको रुपमा कोपा कप खेलेको हो । क्वार्टरफाइनलमा भेनेजुएलालाई २–० गोलले पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो ।

कोपाको प्रदर्शनका आधारलाई मान्ने हो भने अर्जेन्टिनाभन्दा ब्राजिल अगाडि रहेको छ । तर अर्जेन्टिनासँग मेस्सी रहेका छन् । उनले गोल गर्न बिर्सिए पनि उनको प्रदर्शनले अर्जेन्टिनाको टिमलाई आत्मबल भने बढाउने गर्छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया