गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
जुम्ला - यतिबेला जुम्ला स्याउमय बनेको छ । किसान स्याउ टिप्न, भण्डार गर्न तथा निर्यातमा व्यस्त छन् । मुखै मिठ्याउने र मनै लोभ्याउने गरी स्याउ फलेपछि आन्तरिक पर्यटक पनि गाउँमै भुलेका छन् । गाउँबाट फर्किनेले कोसेलीको रुपमा स्याउ नै बोकेर लैजाने गरेका छन् ।
खाजाको रुपमा पनि स्याउकै प्रयोग भैरहेको छ । हरेक गाउँमा अतिथिहरुलाई स्याउले नै स्वागत गर्ने गरिएको छ । जुम्लामा अहिले प्रादेशिक कृषि औधोगिक महोत्सव भएकाले पाहुना र पर्यटकको चहलपहल छ । गाउँमा ४० देखि ५० रुपैयाँ किलोमा स्याउ बिक्री भैरहेको छ ।
किसान एकातिर आफ्नो बारीमा फलेका स्याउ बिक्री गर्न व्यापारीसँग समन्वय र सहकार्य गर्छन् भने अर्कोतिर आफैं पनि बजारमा स्याउ बिक्री गर्न लैजान्छन् । यस्तै स्याउ टिप्न र भण्डारण गर्न मात्रै नभई स्याउ खरिद गर्न व्यापारी बगैंचामा पुग्ने गरेका छन । आन्तरिक पर्यटकले समेत स्याउ बगैंचामा घुम्ने र खाने अवसर पाएका छन् ।
जुम्ला सदरमुकाम र अरु बजार क्षेत्रमा स्याउ बिक्री गर्न राखिएको छ । नेपालगन्ज, सुर्खेत र काठमाण्डौमा समेत निर्यात गर्ने, ढुवानी गर्ने काम पनि सँगै भैरहेको छ । यसका साथै स्याउका परिकार बनाउन समेत किसान व्यस्त छन् ।
विज्ञको सुझावमा भदौ पहिलो हप्तादेखि स्याउ टिप्न सुरु गरिएको हो । बगैंचाका केही स्याउ टिपेर बजार पुर्याइसकिएको छ भने उच्च भेगका स्याउ अझै बोटमै छन् ।
यसपालि एक महिनाभित्रै ५५ प्रतिशत स्याउ टिपेर सकिएको स्याउ सुपरजोन कार्यालय जुम्लाले जनाएको छ । सुपरजोन कार्यालयका कृषि विज्ञ जोगेन्द्र कान्दुका अनुसार यसपालि स्थानीय सरकारले बिक्रीको तथ्याँक राख्ने भएकाले पूर्ण विवरण आउन बाँकी छ ।
जुम्लाका सबै गाउँबस्तीका किसान स्याउ टिप्न र भण्डारणमा व्यस्त छन् । रारा पुग्ने पर्यटकले पनि जुम्लाका बगैंचाका ताजा स्याउ खाने अवसर पाएका छन् । सरकारी कामकाजमा जुम्ला आएका कर्मचारी पनि बगैंचामै छन् । आन्तरिक पर्यटकले अहिले स्याउ खाने अवसर पाएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालाकराम देवकोटाले जानकारी दिनुभयो ।
अग्लो स्थानमा रहेको क्षेत्र र गोल्डेन जातको स्याउ भने अझै टिप्न बाँकी रहेको छ । किसानले जिल्लाका विभिन्न ठाउँमा बनाइएका कोल्ड स्टोरमा स्याउ भण्डारण गरिरहेका छन् ।
जिल्लाको उर्थुचौतारा, कार्तिकस्वामीमा चिस्यान स्टोर भएकाले किसानले स्याउ स्टोर गर्न थालेका छन् । स्याउ राम्ररी टिपेर भण्डारण गरेमा राम्रो भाउ पाउने भएकाले निर्यात सँगै भण्डारमा जोड दिइएको पातारासी ५ उर्थुका स्याउ किसान अर्जुन बिष्टले बताउनुभयो ।
जुम्लामा यस वर्ष स्याउ उत्पादन बढ्ने भएको छ । गएको वर्ष ३ हजार ५ सय मेट्रिक टन उत्पादन भएको स्याउ अहिले बढ्ने अनुमान गरिएको सुपरजोन कार्यालयले जनाएको छ । यसपटक ६ हजार मेट्रिक टन स्याउ फलेको अनुमान छ ।
तस्बिर : एप्पल गार्डेन जुम्लाकाे फेसबुक पेजबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।