गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणमा काठमाण्डौ आइपुग्नुभएको छ ।
राष्ट्रपति सी भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाण्डौ आउनुभएको हो ।
नेपालको दुईदिने भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभयो । उहाँहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए ।
त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो ।
विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो ।
नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ ।
विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिकाे आतिथ्य एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।
चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक ताहाचललगायत स्थान चिटिक्क सिङ्गारिएको थियाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुनेगरी पानीको फोहरा निर्माण गरिएको थियो भने ढकमक्क फुलेका फूलले विमानस्थल र सवारी मार्गको शोभा नै बढाएको थियो ।
राष्ट्रपति सीलाई विमानस्थलबाट उहाँलाई आतिथ्य एवं आवासको व्यवस्था गरिएको स्थलसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरेका थिए ।
राष्ट्रपति सी विमानस्थलमा अवतरणका क्रममा सबै उडान रोक्नुको साथै सडकमा पनि सवारी साधन सञ्चालनमा रोक लगाउदै सडक पुरै खाली गराइएको थियो । सर्वसाधारणलाई सडकमा हिँडडुल गर्न तथा उभिएर हेर्न समेत रोक लगाइएको थियो ।
सडकमा बाक्लोगरी सुरक्षाकर्मी तैनाथ गरिएको थियाे । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ भने चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले शनिबारै साँझ राजकीय भोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको छ ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी हुनुहुन्छ । राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।
तस्बिरहरु: रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।