काठमाण्डाै-केरुङ रेलमार्ग: सम्भाव्यता अध्ययन गरिने

 असोज २६, २०७६ आइतबार १५:३०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल र चीनबीच बहुचर्चित काठमाण्डाै–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेलमार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणका क्रममा यस्तो सम्झौता भएको हो । झण्डै एक वर्षअघि चीनको ‘नेशनल रेल्वे अथोरिटी’ले केरुङ–काठमाण्डौ रेलमार्गको प्रारम्भिक अध्ययन गरेको थियो । 

‘नेशनल रेल्वे अथोरिटी’ले गरेको अध्ययनको प्रतिवेदन नेपाल सरकारलाईसमेत बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा दुई देशबीच छलफल भएर सम्भाव्यता अध्ययनका लागि सहमति जुटेको हो ।  

सम्भाव्यता अध्ययनपछि मात्रै लगानीको ढाँचाका सम्बन्धमा थप छलफल हुने बताइएकाे छ ।

झण्डै ७२ किलोमिटर लामो केरुङ–काठमाण्डौ रेलमार्गको लागत ३ खर्ब रुपैयाँ र निर्माणका लागि ८ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । नेपाली पक्षले सीमा पार रेल मार्ग निर्माण चीनले अनुदानमा बनाइदिनु पर्ने अपेक्षा राख्दै आएकाे छ । 

चिनियाँ राष्ट्रपति सीले पनि रेलमार्ग निर्माणमा सबै प्रकारकाे सहयोग गर्ने वचन दिनुभएकाे छ ।

राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति सीले केरुङ हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि चीनले सबै प्रकारकाे सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएकाे थियाे ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २०७३ असार ५ देखि १० गतेसम्म गर्नुभएको चीनको औपचारिक भ्रमणका क्रममा यो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । त्यो सम्झौतासँगै प्रारम्भिक अधययन अघि बढाइएको थियो ।

प्रारम्भिक अध्ययन सकेर सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै सीमापार रेलमार्ग निर्माण हुने सम्भावना देखिएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया