गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
सङ्खुवासभा - सङ्खुवासभामा निर्माण भैरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् ।
नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि यी सङ्ख्यामा रूख काटिएका हुन् ।
विद्युत् विस्तार गर्न सरकारी वन क्षेत्रका मात्रै पाँच हजार चार सय सङ्ख्यामा रूख काटिएका डिभिजन वन कार्यालयका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिनुभयो ।
अरुण तेस्रो जलविद्युत् परियोजना र कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि जिल्लाका १८ सामुदायिक वन क्षेत्रका रूख काटिएका बताइएको छ । विद्युत् आयोजनाका लागि सङ्खुवासभामा सामुदायिक र निजी क्षेत्रका १४ हजारभन्दा बढी रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा १२३ दशमलव २२ हेक्टरका ६ हजार दुई सय ९४ रूख काटिसकिएका निर्माण कम्पनी सतलजले जनाएको छ ।
आयोजनाले ट्रान्समिशन लाइनका लागि ९० हेक्टरका सामुदायिक वन र निजी वनका ६ हजार ९ सय ९७ रूख काट्नलाई निर्माण कम्पनीले नेपाल सरकारसँग माग गरेको थियो । अरुण तेस्रो परियोजनाको ५०१ ट्रान्समिशन लाइनमध्ये सङ्खुवासभामा ४३ ठूला टावर रहने कम्पनीले जनाएको छ ।
आयोजना स्थल ड्याम साइड र पावर हाउसमा लगिने ३३ केभी प्रसारण लाइनले ९ सय ९४ र २२० को कोशी करिडोरले ७ सय ३० रूख काटिने सहायक वन अधिकृत पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार ड्याम साइड, पावर हाउस पुखुवामा १२३ दशमलव २२ हेक्टर, कोशी करिडोर ४ दशमलव ३७ हेक्टर र ३३ केभीका लागि ४ दशमलव ९८ हेक्टर क्षेत्रमा रूख काट्न मन्त्रिपरिषद्ले अनुमति दिइ रूख काट्ने काम ९० प्रतिशत छ ।
विद्युत् प्रसारण लाइन हुने झण्डै दुई किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रूख काट्नु पर्नेछ । अरुण तेस्रो जलविद्युत् परियोजनाले मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ दशमलव १८ हेक्टर वन प्रयोग गरेको छ ।
वन ऐनअनुसार विद्युत् प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक रूख बराबर २५ बिरुवा र अन्य वन क्षेत्रमा एक रूख बराबर दुई बिरुवा लगाउनुपर्ने कानुनी प्रावधान छ ।
जिल्लामा निर्माणाधीन रहेका साना तथा ठूला विद्युत् आयोजनाबाट १४ हजार २१ रूख काटिनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।