गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
उज्यालाे टिम
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले अघिल्लो हप्ता मन्त्री पदबाट राजीनामा दिए ।
‘आफ्नो बारेमा प्रश्न उठेकाले नैतिकताको आधारमा राजीनामा’ दिएपछि चुप लागेका बाँस्कोटा अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा लिएर जिल्ला अदालत पुगेका छन् । अडियो प्रकरण सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि सदन र सरकारसम्म मच्चिएको खैलाबैला शान्त नहुँदै नेकपाभित्र वामदेव गौतमको राष्ट्रिय सभा प्रकरण पनि भित्रिएको छ । सचिवालय विभाजित छ र नेकपाका दुई अध्यक्ष दुई ध्रुवमा उभिन पुगेका छन् ।
प्रश्नहरु अनेक जन्मेका छन् र सबै प्रश्नका जवाफ आजको भोलि आउने पनि छैनन् । तर यो प्रकरणमा पर्दा पछाडि को को थिए, कमिसनको चक्करमा के कस्ता राजनीतिक दाउपेच भए र एकाएक अडियो प्रकरण सार्वजनिक भयो ? गोकुल बाँस्कोटाले राजीनामा नदिँदै सभामुखले राजीनामा आएको अनौपचारिक घोषणा किन गरे जस्ता प्रश्नहरुले निकै रोचक र डरलाग्दा तथ्य बाहिर ल्याउने छन् ।
नेकपाभित्र भैरहेको शक्तिको संघर्षमा गुटका बद्लिदा समिकरण र शक्ति केन्द्रको आडमा देशलाई आफ्नो मुठीमा लिन खोज्ने केही व्यापारी र एजेण्टको स्वार्थ यो प्रकरणमा सिधै जोडिएको देखिन थालेको छ । सबैभन्दा पहिले सेक्युरिटी प्रेस खरिदको नालिबेली हेरौं ।
सेक्युरिटी प्रेस र बाँस्कोटाको संलग्नता
सबैभन्दा पहिले २०७३ साल वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको तत्कालीन सरकारको नीति तथा कार्यक्रममा यो विषय समावेश भएको हो ।
राहदानी, हुलाक टिकट, नोट, अन्तःशुल्क स्टिकर, बैंक चेक, परिचयपत्र, प्रश्नपत्र जस्ता संवेदनशील सामग्री आफ्नै देशमा छाप्नको लागि सुरक्षण मुद्रण अर्थात सेक्युरिटी प्रेस राख्नेगरी यो विषय सरकारको नीति तथा कार्यक्रममा परेको हो । त्यही वर्ष सरकारले देशभित्रै सेक्युरिटी प्रेस राख्ने व्यवस्थाका लागि सुरक्षण मुद्रण केन्द्र स्थापना गर्यो । तर काम अघि बढेन ।
त्यसबीचमा सरकार परिवर्तन भयो । पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि सुरक्षण प्रेसको विषय लगानी बोर्डमा पुग्यो । लगानी बोर्डमा यो विषय पुर्याउने व्यक्ति थिए, विजयप्रकाश मिश्र । दाहालको सरकारपछि देउवा प्रधानमन्त्री भए । देश चुनावमय भएपछि यो विषय आफैँ हरायो । २०७४ फागुन ३ मा वर्तमान सरकार गठन भएपछि फेरि सेक्युरिटी प्रेस स्थापना गर्ने विषयले गति लियो ।
गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्रीको पद बहाली गरेपछि मन्त्रालयले गर्नुपर्ने कामको अध्ययन थाले । मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन हुने भएपछि बाँस्कोटाले आफ्नो मन्त्रालयले नगरी नहुने काममा सेक्युरिटी प्रेस र स्याटलाइट पनि देखिएपछि मन्त्रालयमा यसबारे सोधीखोजी बढ्न थाल्यो ।
सेक्युरिटी प्रेसको विषयमा सोधीखोजी र कर्मचारीबीच यसका अनेक पाटाहरुबारे छलफल चल्दै थियो । एक दिन काभ्रेका आफैले चिनेका एक व्यक्ति पुष्पकमल दाहाल प्रचण्डको नाम लिएर बाँस्कोटालाई भेट्न पुगे । प्रचण्डले प्रधानमन्त्रीको कार्यालय बाहिर बाँस्कोटालाई यी व्यक्ति सेक्युरिटी प्रेसको लागि उपयुक्त हुन् भनेर पहिले नै चिनाइ सकेका थिए । पहिलेदेखि चिनेको र जिल्लाकै मानिस भएकाले बाँस्कोटाले ती व्यक्तिसित कुरा गरे ।
सेक्युरिटी प्रेसको विषयमा बाँस्कोटाको सम्पर्कमा पुगेका पहिलो व्यक्ति उनै थिए । सेक्युरिटी प्रेस खरिदका लागि थापा थरका ती व्यक्तिले ६५ अर्ब लाग्ने र यसबाट सरकार, पार्टी तथा मन्त्रीलाई पनि कमिशन आउने बताए ।
बाँस्कोटाले आफू जीटूजी माध्यमबाट मात्र अगाडि बढ्ने भएकाले सरकारी प्रतिनिधि या राजदूत ल्याए कुरा अघि बढाउने आश्वासन दिए । त्यसपछि उनी कहिल्यै पनि मन्त्रीलाई भेट्न आएनन् ।
सेक्युरिटी प्रेसको कुरा गर्ने दोस्रो व्यक्ति हुन्, अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्र । उनी एमालेका एक वरिष्ठ नेताको नाम लिएर आए र बाँस्कोटालाई भेटे । मिश्रलाई नजिकबाट चिन्नेहरुका अनुसार, उनको घर लमजुङ हो । उनी नेकपाका शीर्ष नेता र पार्टीको नाम लिँदै सञ्चार मन्त्रालय पस्थे र समय नलिइकनै मन्त्रीसँग भेट्न खोज्थे ।
मिश्र मन्त्रीसँग औपचारिकभन्दा अनौपचारिक रुपमा बढी प्रस्तुत हुन्थे । बाँस्कोटाले उनलाई पहिले पनि पार्टी कार्यालयतिर देखेका थिए । तर चिनेका थिएनन् । बाँस्कोटासँगको भेटमा मिश्रले आफू स्वीस कम्पनीको प्रतिनिधि भएको र आफूले मात्र सेक्युरिटी प्रेस खरिद गर्न सक्ने बताउँदै प्रचण्ड प्रधानमन्त्री हुँदै लगानी बोर्डले आफूलाई सुरक्षण मुद्रण गर्ने स्वीस कम्पनीको स्थानीय प्रतिनिधि भनेर स्वीकारेको दावी गरे । प्रचण्ड, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङको नाम लिंदै उनले सेक्युरिटी प्रेसको जिम्मा आफूलाई दिएमा पार्टी र मन्त्रीलाई कमिसन आउने कुरा गरे ।
उनलाई पनि बाँस्कोटाले जीटूजीमै जाने भएकाले स्वीस सरकारको प्रतिनिधि या राजदूत ल्याए कुरा अघि बढाउने जानकारी दिए । मिश्रले पनि राजदूत लैजान सकेनन् । उनले सेक्युरिटी प्रेस खरिद प्रक्रियाका लागि ४२ अर्ब लाग्ने दुई पानाको प्रस्ताव दिएका थिए ।
त्यसपछि एक जापानी कम्पनीका सीईओले जापानी राजदूत सहित मन्त्रीलाई भेटेर सेक्युरिटी प्रसको काम गर्ने इच्छा देखाए । तर, जीटूजीमा गर्ने बाँस्कोटाको कुरा सुनेपछि जापानी राजदूतले त्यसरी गर्न नमिल्ने जानकारी दिए । जापानसितको कुरा पनि त्यहीँ सकियो ।
त्यसबीचमा अर्को ब्रिटिश कम्पनी पनि बाँस्कोटाको सम्पर्कमा पुग्यो । उसले पनि जीटूजीमा जान नसक्ने बतायो । सो कम्पनीसित पनि बाँस्कोटाले राजदूत र परराष्ट्रका अधिकृत राखेर कुरा गरेका थिए । त्यसपछि नेकपाका केही सभासदले फिनल्याण्डको कम्पनीलाई भेट्न र कुरा सक्न मन्त्रीलाई दबाब दिए ।
सरकारले सेक्युरिटी प्रेस खरीद गर्दा जीटूजीमा मात्र गर्ने र थप अनुदान वा सहुलियत ऋणको प्रस्ताव अघि सारेपछि जर्मनी, फ्रान्स र स्वीटजरल्याण्डका कम्पनीले चासो देखाए । जर्मनीको एउटा समूह बाँस्कोटालाई भेट्न गयो । राजदूत समेत सहभागी त्यो कम्पनी जीटूजीमा जान तयार भयो । उसले कमिसनको कुरा गरेन । उल्टै खरिद गरेबापत नेपालले १ प्रतिशत कमिसन दिनुपर्ने कुरा भयो । जर्मनीले मात्र जीटूजीमा जाने भनेपछि २०७५ को असोजतिर बाँस्कोटा मन्त्रालयका प्रतिनिधिलाई लिएर जर्मनी गए ।
जर्मनीबाट फर्केपछि बाँस्कोटाले सुरक्षण मुद्रण केन्द्रलाई खरिद प्रक्रियाको लागत प्रस्ताव बनाउन भने । केन्द्रले बनाएको प्रस्तावको आधारमा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत २०७५ साल कात्तिकदेखि पुषसम्म स्विजरल्याण्ड, जर्मनी र फ्रान्सको कम्पनीलाई प्रस्ताव पेश गर्न पत्र पठायो ।
फ्रान्सले पनि यसमा चासो देखाएपछि गएको वर्ष फागुनमा बाँस्कोटा फ्रान्स गए । फ्रान्स सरकारको शत प्रतिशत स्वामित्व रहेको इन ग्रुप नामक कम्पनीसँग सेक्युरिटी प्रेस खरिदसम्बन्धी समझदारीमा हस्ताक्षर गरे । त्यही फ्रान्सेली कम्पनीको स्थानीय एजेन्ट यति होल्डिङ्सलाई ठेक्का दिलाउन सम्झौता भएको भन्दै विवाद भयो ।
समझदारीमा हस्ताक्षर गरे पनि त्यो सम्झौता थिएन । तर, सरकार दत्तचित्तले यस प्रकृयामा लागेपछि गएको असारमा पोल्याण्डको सरकारी कम्पनी पिडब्लू पिडब्लू एसएले नोट बाहेक ई-पासपोर्ट र अरु सामग्री छाप्ने सेक्युरिटी प्रेस ५ करोड युरोमा स्थापना गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै स्विजरल्याण्डको केबीए नोटासिस कम्पनीले २० करोड युरोमा प्रेस स्थापना गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै जर्मनीको भेरिडोसले ३० करोड युरोमा र फ्रान्सको इन ग्रुप नामक कम्पनीले नोटसहित २५ दशमलव ५ करोड युरोको प्रस्ताव ल्याएको थियो ।
यीमध्येबाट सरकारले जर्मनी र फ्रान्सका प्रस्तावलाई उपयुक्त मान्यो । मन्त्रिपरिषदले दुवै प्रस्तावको तुलनात्मक अध्ययन गरी एकको सिफारिस गर्न सञ्चार मन्त्रालयलाई जिम्मा दियो ।
सेक्युरिटी प्रेससम्बन्धी सुझावका लागि गठन भएको प्राविधिक समितिको प्रतिवेदन अनुसार इन ग्रुप फ्रान्सेली सरकारको शत प्रतिशत स्वामित्वमा रहेको, तर भेरिडोसमा जर्मन सरकारको स्वामित्व ४० प्रतिशत मात्र रहेको उल्लेख छ । दुवै कम्पनीले ३४ महिनामा सेक्युरिटी प्रेस नेपाललाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् । सेक्युरिटी प्रेससम्बन्धी प्रविधि हस्तान्तरण तथा सीप विकास र तालिम दुवै कम्पनीले आफ्नो देश र नेपालमा गर्ने प्रस्ताव गरेका छन् ।
ती कम्पनीले सुरक्षण मुद्रण सामग्रीलाई कागज र कार्डमा आधारित र बैंक नोट गरी दुईथरि प्याकेजमा प्रस्ताव गरेका छन् भने दुवैले ई-पासपोर्ट, परिचयपत्र, हुलाक टिकट, प्रमाणपत्र र अन्तःशुल्क स्टिकर छाप्ने प्रस्ताव गरेका छन् ।
सञ्चार, गृह, परराष्ट्र लगायत ७ वटा सम्बन्धित मन्त्रालयको प्राविधिक समितिको अध्ययनले फ्रान्स र जर्मनीका दुवै कम्पनी आर्थिक र प्राविधिक रुपमा योग्य रहेको ठहर गर्यो ।
दुईमध्ये एउटा छनोट गर्न मन्त्रिपरिषदलाई अनुरोध गर्ने तयारी भैरहेको बेला आफूलाई स्वीस कम्पनीको एजेण्ट भन्दै विजय मिश्रले बाँस्कोटाविरुद्ध लेखा समितिमा उजुरी दिए । प्रस्ताव पठाए पनि स्वीस कम्पनीले जीटुजीमा गर्ने या नगर्ने भन्ने विषयमा अहिलेसम्म पनि कुनै जानकारी दिएको छैन ।
त्यसपछि लेखा र अर्थ समितिले समेत सञ्चार मन्त्रालयलाई पत्र पठाएर सेक्युरिटी प्रेस खरिदमा अहिलेसम्म भएका कामबारेको कागजात मागे । मन्त्रालयले दुवै समितिलाई कागजात पठायो । त्यसको पर्सिपल्ट लेखा समितिले बाँस्कोटासँग जवाफ माग्यो । बाँस्कोटा जवाफ दिन गएको त्यो बैठकमा विज्ञको रुपमा उनै विजय मिश्र थिए । त्यो बैठक र त्यसपछि सञ्चार मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले आफूले कुनै अनियमितता नगरेको प्रष्टीकरण दिए ।
यस बीचमा लेखा समितिले छानबिन गर्दै थियो । फ्रान्सेली कम्पनीलाई दिने भनेर एमओयू नै भइसकेको अवस्थामा फेरि जर्मन कम्पनी पनि थपिनु र अध्ययनको नाममा समय लम्ब्याएर बार्गेनिङको चलखेल भएको आशंका लेखा समितिले गरेको थियो । तर उनै विजय मिश्रले कमिसनको डिल गरेको अडियो सार्वजनिक गरेपछि बाँस्कोटासहित लेखा समितिका केही सदस्यमाथि समेत प्रश्न उठ्यो ।
आफूमाथि प्रश्न उठेको भन्दै बाँस्कोटा राजीनामा दिएर मौन बसेका छन् भने सेक्युरिटी प्रेस खरिद प्रक्रिया तत्काललाई स्थगित भएको छ ।
(याे श्रृङ्खलाको दोस्रो भागमा नेकपाको घरझगडामा बाँस्कोटा प्रकरणको साइनो सम्बन्ध खोतल्नेछौँ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।