कोरोना भाइरसको उपचार विधि : हल्ला र वास्तविकता

 फागुन २५, २०७६ आइतबार ९:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोभिड नाईन्टिन अर्थात कोरोना भाइरसको जोखिमबाट बचाउने तथा औषधि  हुने भन्दै सामाजिक सञ्जालमा विभिन्न वस्तुको प्रचार भैरहेको छ ।धनगढी नगरपालिकाले त कोरोनाबाट जोगिन बोझो, बेसार र लसुन खान औपचारिक आग्रह नै गर्‍यो ।

तर यस्ता वस्तुले कोरोना रोक्न वा निको पार्न भूमिका निर्वाह गर्ने कुरा कतै पुष्टि भएको छैन । कोरोना भाइरसको सङ्क्रमण रोक्ने वा निको हुने भन्दै गरिएका प्रचारहरुमा सत्यता नभएको एक अध्ययनको निष्कर्ष छ । 

अहिलेसम्म कोरोनाको कुनै खास औषधि पत्ता लागिनसकेको र सामाजिक सञ्जालमा गरिएका चर्चाहरुमा सत्यता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिले कोरोनाबाट बचाउने भन्दै लसुनको धेरै प्रचार भैरहेको छ । लसुनमा आयुर्वेदिक औषधीय गुण भए पनि कोरोनाबाट बचाउन सक्ने बारेमा कुनै प्रमाण भेटिएकाे छैन । चीनमा एकजना महिलाले औषधि हुने भन्दै डेढ किलो लसुन खाँदा घाँटीमा समस्या आएर अस्पताल भर्ना गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै बीबीसीले सामान्य अवस्थाकोभन्दा धेरै लसुन नखान आग्रह गरेको छ । 

यस्तै अहिले क्लोरीन डाइअक्साइड लगायतका वस्तुले कोरोना ठिक गर्छ भन्ने प्रचार भैरहेकोमा यस्ता उत्पादनले उल्टै बान्ता हुने, पखाला लाग्ने लगायतका समस्या आउन सक्ने चेतावनी दिएको छ । 

यस्तै अल्कोहल अर्थात रक्सीलाई सेनिटाईजर अर्थात निर्मलीकरण गर्ने वस्तुको रुपमा प्रयोग गर्न सकिने र घरमै विभिन्न वस्तु मिसाएर सेनिटाईजर बनाउन सकिने बारेमा सामाजिक सञ्जालमा प्रचार भैरहेको छ । 

घरमा बनाउने सेनिटाईजरले केही हदसम्म काम गरे पनि छालामा सङ्क्रमण हुने भएकोले सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तै, खान मिल्ने चाँदीको घोलले कोरोनाको सङ्क्रमण ठिक गर्ने प्रचार भैरहेको भए पनि त्यसले कोरोना ठिक पार्ने कुनै प्रमाण नरहेको र उल्टै मिर्गौलासहितका अङ्गमा क्षति गर्ने विभिन्न अध्ययनले देखाएको बीबीसीले जनाएको छ । 

हरेक १५ मिनेटको फरकमा पानी पिउँदा कोरोना सङ्क्रमण नहुने र भएको पनि ठिक हुने प्रचार सामाजिक सञ्जालमा भैरहे पनि यसरी पानी पिउँदा सङ्क्रमण रोकिने तथा ठिक हुने कुनै प्रमाण नरहेको डाक्टरहरुले बताएका छन् । 

पानी पिउनु राम्रो भए पनि यसले कोरोनाबाट बचाउने भन्ने कुरा गलत भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस्तै आईसक्रिम तथा चिसो खानेकुरा नखान दिईने सल्लाह पनि सामाजिक संजालमा धेरै पाईन्छ । 

रुघाखोकी, निमोनियाका लागि चिसो बस्तु जोखिमयुक्त भएकोले यो सल्लाहमा केही सत्यता भए पनि कोरोना रोक्न भूमिका भने नखेल्ने राष्ट्रसङ्घीय बालकोष यूनिसेफले जनाएको छ । तातो पानीले नुहाउँदा, तातोमा बस्दा वा तापक्रममा भएको वृद्धिले कोरोनाका भाइरस मर्ने कुरा पनि सत्य नभएको यूनिसेफले जनाएको छ । 

६० डिग्री सेल्सियस तापक्रममा भाइरस मर्ने भए पनि तातोपानीले नुहाउने, आगो तथा हिटर ताप्ने जस्ता क्रियाकलापले भाइरस नमर्ने बीबीसीले जनाएको छ ।अहिले प्रचारमा आईरहेका विभिन्न सुझावको सत्य जाँच गर्दै बीबीसीले अहिलेसम्म कोरोना भाईरसको औषधि पत्ता लागिनसकेकोले त्यस्ता प्रचारको पछि नलाग्न आग्रह गरेको छ ।

तर नियमित व्यायाम, प्रयाप्त पानी पिउने, ताजा फलफूल तथा तरकारीहरू र सन्तुलित भोजन जस्ता स्वस्थ व्यवहारले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाएर फाईदा भने गर्ने बीबीसीले जनाएको छ ।   

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया