ठेकेदारलाई कुलमानको चेतावनी : समयमै काम नसक्ने भए छाडेर जानुस् !

 फागुन २६, २०७६ सोमबार १३:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि निर्माण भइरहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तीव्रता दिने सहमति भएको छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तीव्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ । 

टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका ५ को पहिरेबेसीमा निर्माणाधीन त्रिशूली ३ बी हब सबस्टेसन, कार्यालय निर्माणामा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो । 

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको सान्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत निरीक्षणमा गएको थियो । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत् आयोजनाहरुको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ । 

सहमतिअनुसार ठेकेदार कम्पनीले फागुनभित्रमा प्रसारण लाइन, चिलिमे र त्रिशूली ३ बी हब सबस्टेसन निर्माण गर्न साइटमा क्रमशः ४ सय, १ सय ३० र २ सय ५० श्रमिक परिचालन गर्ने छ । 

ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्या समाधानका लागि पेस भएका बिलको भुक्तानी प्रक्रियालाई सरलीकृत गरी छिट्टो टुङ्ग्याउन आयोजना र परामर्शदाताले आवश्यक पहल गर्नेछन् । चिनियाँ ठेकेदार कम्पनी पिङगाओ ग्रुप अफ् कम्पनीजको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भइरहेको छ । 

कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील भएकाले निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नुपर्ने बताउनुभयो । ‘तीन वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्, अहिलको गतिमा प्रसारण लाइन र सबस्टेसनको निर्माण सक्नै धेरै समय लाग्छ, यो या त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन, त्यसैले निर्माणलाई तीव्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौँ भन्दै हात उठाएर हिँड्नुहोस्’, उहाँले भन्नुभयो, ‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्ने छौँ, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनुपर्ने छ ।’

ठेकेदार कम्पनीले २७ किलोमिटर प्रसारण लाइनसँगै चिलिमे र त्रिशूली ३ बी हब सबस्टेसनको पनि निर्माणको जिम्मा पाएको छ । 

प्रसारण लाइनमा पर्ने ७८ वटा टावरमध्ये ८ वटाको जग हालिएको छ, ४० वटा जग हाल्न खनिएको छ भने बाँकीको जग हाल्न खन्ने काम भइरहेको र टावर तथा कण्डक्टर भारतबाट आउने क्रममा रहेको आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले जानकारी दिनुभयो । 

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुङ्गा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने अवस्था छ । निर्माण सामग्री तथा उपकरण लैजानका लागि रोपवेसमेत बनाइएको छ । 

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ । 

ठेक्का सम्झौताअनुसार प्रसारण लाइनको आगामी फागुनको दोस्रो साता (२९ फेब्रअरी २०२०) भित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । अहिले ठेकेदार कम्पनीले आगामी भदौसम्म म्याद थपको माग गरेको छ । परामर्शदाताले भने असारसम्म मात्रै म्याद थप्न सिफारिस गरेको छ ।   

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने झण्डै ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन र सबस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहेको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया