पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ–सन् २०१९ को अन्तिम दिनदेखि चीनको वुहानबाट कोरोना महामारीको प्रकोप फैलिन सुरु भयो । यसले त्यतिखेर चिनियाँ नयाँ वर्षको रमझमलाई आतङ्कित बनायो । अहिले नेपाली नयाँ वर्षलाई पुरै बिथोलिदिएको छ । क्रिश्चियन समुदायले मनाउने इस्टर पर्व पनि उनीहरुले शोक र त्रासमा डुबेर मनाउन बाध्य छन् ।
पाँच वर्षअघि हामी नेपालीले महाभूकम्पको कहर भोगेका थियौँ । त्यसलगत्तै भारतको अघोषित आर्थिक नाकाबन्दीको शिकार भएका थियौँ । अहिले विश्वव्यापी महामारीको कारण हामी जीवन र मृत्युको दोसाँधमा छौँ । कोरोना भाइरस नामक जीवाणुले लादेको भय, त्रास र अनिश्चिततासँगै हामी नयाँ वर्ष २०७७ मा प्रवेश गरेका छौँ ।
कोरोना भाइरसले अमेरिका, स्पेन, इटली, फ्रान्स, बेलायत, इरान र चीनजस्ता धनी देशमाजस्तो मानवीय क्षति पुर्याएको छ, त्यसको तुलनामा हाम्रो देशमा नगन्य असर पनि परेको छैन । कोरोना सङ्क्रमणबाट दर्जनजति नेपालीको ज्यान गएको छ ती सबै विदेशमा बसेका नेपाली हुन् । तर हामीसँग खुला सिमाना रहेको दक्षिणी छिमेकी भारतमा जुन अनुपातमा सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेको छ त्यसले हाम्रो भविष्यलाई अझ त्रसित र अनिश्चित बनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या शून्य छ । यस हिसाबले हामी भाग्यमानी छौँ । तर सङ्क्रमितको सङ्ख्या बिस्तारै बढ्दै छ । यसले हामी महामारीको उच्च जोखिममै छौँ भन्ने सङ्केत गर्छ । त्यसैले हामी नेपाली पनि मानवीय क्षतिको अनिश्चित भुमरीमै छौँ ।
विश्वको आधाभन्दा बढी जनसङ्ख्या ‘लकडाउन’को कारण घरमै गुम्सिन बाध्य छन् । औद्योगिक कलकारखाना र मोटरगाडी थन्किएपछि यसले प्रकृति र वातावरणमा भने असाध्यै राम्रो असर गरेको छ । जुन हामीले प्रत्यक्ष अनुभव गर्न सक्छौँ । तर ‘लकडाउन’को सबभन्दा शक्तिशाली प्रहार नेपालको विकास योजना र अर्थतन्त्र तथा गरिब र मजदुरमाथि हुने देखिन्छ ।
वर्तमान सरकारले यो आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो । गएको अक्टोबरमै विश्व बैंकले हाम्रो आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशतमा झर्ने अनुमान गरेको थियो । कोरोनाको कहरले हाम्रो आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतदेखि २ दशमलव ८ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकअनुसार नेपालको आर्थिक वृद्धिदरमा कोरोनाको असर अर्को आर्थिक वर्षमा पनि पर्ने निश्चित छ ।
हाम्रो अर्थतन्त्रमा रेमिट्यान्सको योगदान करिब ३० प्रतिशत मानिन्छ । सरकारी तथ्याङ्कअनुसार ६० प्रतिशत घरधुरीले रेमिट्यान्सको प्रयोग गर्छन् । यही कारणले नेपालमा गरिबीको दर घट्दै गएको छ । रेमिट्यान्सकै कारण ४२ प्रतिशत रहेको गरिबीको दर ३२, २८, २५ हुँदै अहिले २० प्रतिशतको हाराहारीमा पुगेको छ । तर विदेशमा रहेका नेपाली कामदारको रोजगारीमा असर गर्यो भने तल्लो तहका नेपाली नागरिकको जीवकोपार्जन मात्र कठिन हुने छैन, समग्र अर्थतन्त्रलाई नै प्रभावित पार्नेछ ।
हाम्रो अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २ देखि ३ प्रतिशत छ । कोरोनाको ताण्डवले सरकारको भ्रमण वर्ष २०२० को महत्वाकाङ्क्षी सपनालाई चकनाचुर पारिसकेको छ । अमेरिका, युरोप, जापान र अस्ट्रेलिया हाम्रो समग्र पर्यटन क्षेत्रको ४० प्रतिशत बजार हो । चीन र भारत हाम्रो अर्को ४० प्रतिशत बजार हो । यी सबैतिर कोरोना महामारीले आर्थिक र मानवीय क्षति गरेपछि हाम्रो पर्यटन क्षेत्र धरासायी भएको छ । यस्तोबेला आन्तरिक पर्यटनको सम्भावना पनि छैन । यसले पर्यटनसँग प्रत्यक्ष जोडिएका ११ लाख मानिसको रोजगारीमा असर पर्ने देखिन्छ ।
महामारीले विद्युत् आयोजना निर्माणलाई पनि नराम्ररी प्रभावित गरेको छ । चालु आर्थिक वर्षभित्रै कम्तीमा १ हजार मेगावाट जलविद्युत् उत्पादन बढाउने हाम्रो लक्ष्य थियो । त्यो पूरा नहुने देखिएको छ । अब ३ सय ५० मेगावाट नयाँ विद्युत् मात्रै उत्पादन हुने सम्भावना छ । हाम्रो आन्तरिक उत्पादन ९ सय ५० मेगावाट छ भने खपत १२ सय ५० मेगावाट छ । यसरी कोरोना भाइरसले यस वर्ष हजार मेगावाट उत्पादन थप्ने लक्ष्यलाई पर धकेलेर भारतबाट आयात गर्ने नियतिलाई निरन्तरता दिने छ ।
कोरोनाले निम्त्याएको सङ्कटले संसारभरि सबैभन्दा बढी कामदार र गरिब वर्ग मारमा परेका छन् । कोरोनाको कारण देशको श्रम बजार त्यसमा पनि असङ्गठित क्षेत्रका कामदारको अवस्था दयनीय बनेको छ । देशको श्रमबजारमा रहेका मानिसमध्ये ८५ प्रतिशत अनौपचारिक क्षेत्रमा छन् । यसरी १५ लाखभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्छन् ।
‘लकडाउन’ ले कामविहीन भएपछि हाम्रा विभिन्न सानाठूला सहर र कार्यस्थल छाडी उनीहरु हिँडेरै आफ्ना गाउँघर फर्किन बाध्य भएका छन् । उनीहरु पहिलेका कृषि मजदुर या कृषिमा आश्रित परिवारका सदस्य हुन् । यस्तै ‘लकडाउन’ सकिएपछि वैदेशिक रोजगारीमा गएका हजारौँ वा लाखौँ नेपाली युवाको रोजगार गुम्ने खतरा छ । त्यसपछि उनीहरु नेपाल फर्किने छन् । यसरी विदेश र स्वदेशबाट आफ्नै गाउँठाउँ फर्किने युवालाई सरकारले व्यवसायिक खेतीमा संलग्न गराउन सक्छ ।
मुलुकमा अहिले ठूलाठूला निर्माण र औद्योगिक विकासको लागि श्रमिक अभाव छ । विदेशबाट सीप र पुँजी लिएर आउने जनशक्तिलाई देशको नवनिर्माणमा लगाउन सकिन्छ । हाम्रो जनसङ्ख्याको सबभन्दा ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । हाम्रो अर्थतन्त्रमा कृषिको योगदान ३० प्रतिशत छ । यदि सरकारले विदेश र स्वदेशबाट गाउँ फर्किने युवालाई कृषि र पशुपालनमा संलग्न गराएर आधुनिकीकरण र व्यवसायीकरण गर्न सफल भयो भने हाम्रो अर्थतन्त्र कोरोना भाइरसको मारबाट उकासिने मात्र छैन, नयाँ कोल्टे पनि फेर्ने छ ।
तर अहिलेको सबभन्दा ठूलो चिन्ता र चासो भनेको समग्र मानवजातिका साथै नेपाली नागरिकको जीवन सुरक्षा नै हो । हामी गरिब देश वा अति कम विकसित देशका नागरिक भएकाले कोरोना भाइरसले नभए भोकमरीले पनि हामी मर्न सक्छौँ । त्यसैले एकातिर कोरोना महामारीबाट हामी जोगिनुपरेको छ भने अर्कोतिर भोकमरीको प्रकोपबाट बाँच्नुपर्ने बाध्यता छ । त्यसको लागि व्यक्ति, समाज, सरकार र अन्तर्राष्ट्रिय समुदायको विवेकपूर्ण सहकार्य र समन्वयमा मात्रै हामी यो वैश्विक मानवीय सङ्कटबाट पार पाउन सक्छौँ ।
इतिहासको हजारौँ वर्ष लामो कालखण्डमा विभिन्न रोग, भोक, महामारी, युद्ध र प्राकृतिक प्रकोपसँग लड्दै भिड्दै हामी मानवजाति यहाँसम्म आइपुगेका छौँ । हामी नेपालीले पनि निकट विगतमै पनि शोक, भोक, गरिबी, भूकम्प, युद्ध र नाकाबन्दीलाई जितेको इतिहास छ । विवेक, समझदारी र हौसलाका साथ फेरि पनि हामीले यो महाप्रलयलाई परास्त गरेर अगाडि बढ्ने छौँ भन्ने दरिलो आशा र विश्वास छ । यही आशा र विश्वाससहित नयाँ वर्षको मङ्गलमय शुभकामना !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यादव राजनीति र समसामयिक विषयमा लेख्न रुचाउनुहुन्छ ।