सरकारले लकडाउनलाई कडाइ गर्दै कोभिड-१९ को परीक्षण, पहिचान र उपचारलाई तीव्रता दिने

 वैशाख ३, २०७७ बुधबार १९:४६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले लकडाउनलाई कडाइ गर्दै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचारलाई तीव्रता दिने भएको छ । 

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडाइ गर्ने भएको हो ।

समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एवं कोभिड १९ सङ्क्रमण रोकथात तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सचिव नारायण प्रसाद विडारीले सङ्क्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘सङ्क्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय भएको बताउनुभयो ।

यस्तै सङ्क्रमितको संख्या बढेकोले बढीभन्दा बढी संख्यामा परीक्षण गरी सङ्क्रमितलाई पहिचान गर्ने र उपचारमा जाने निर्णय भएको समेत उहाँले बताउनुभयो । जोखिमको सम्भावना बढी देखिएको स्थानमा परीक्षणलाई बढाउने निर्णय भएको बताउनुभयो ।

आन्तरिक उडान वैशाख १८ सम्म स्थागित

सचिव विडारीले आन्तरिक उडानलाई समेत वैशाख १८ गते (अप्रिल ३०) सम्म स्थागित गरिएको बताउनुभयो । यस्तै समितिले संयुक्त राष्ट्र संघ अन्तर्गत अफगानिस्तानमा रहि काम गर्दै आएका नेपाली नागरिकहरुलाई उद्धार गर्ने निर्णय समेत गरेको छ । संयुक्त राष्ट्र संघको विशेष अनुरोध रहेकाले उपयुक्त पद्दतिबाट उद्धार गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

नारायणी प्रादेशिक अस्पताललाई डेडिकेटेड अस्पताल बनाइने 

यसबाहेक बैठकले वीरगन्जमा रहेको नारायणी प्रादेशिक अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा विकास गर्ने र आवश्ययक उपकरणहरु थप गर्ने निर्णय पनि गरेको छ । यसबाहेक त्रिभुवन विश्व विद्यालयमा रहेको एक थान पीसीआर मेसिन प्रदेश २ सरकारलाई उपलब्ध गराउने निर्णय भएको समेत सचिव विडारीले बताउनुभयो ।

बैठकले औषधी र स्वास्थ्य सामग्री एवं उपकरणहरुको आयातको क्रममा निजी क्षेत्रबाट आयात गर्ने कुरालाई सहजीकरण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रायल मातहतको निकायबाट खरिद गर्ने प्रकृयालाई निरन्तरता दिने, सरकार/सरकारबीचको प्रकृयाबाट ल्याउने कार्यलाई पनि अगाडि बढाउने निर्णय बैठकले गरेको सचिव विडारीले बताउनुभयो ।

उहाँले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चीनको सम्बन्धित निकायमा पत्राचार भइसकेको र तीन चरणको भिडियो कन्फ्रेन्स मार्फत छलफल भएर सामग्री ल्याउन लागिएको जानकारी दिनुभयो ।

यस्तै बैठकले आपूर्तिलाई सहज राख्ने र सुरक्षालाई कडाइ गर्ने कुरालाई समन्वयात्मक ढंगले लैजाने र भन्सार नाकामा सहज र सुरक्षित बनाउने निर्णय समेत गरेको छ । यसबाहेक वस्तुगत रुपमा राहत पाउन योग्य भनेर निर्धारण गरिएका व्यक्तिहरुलाई राहत उपलब्ध गरिने निर्णय भएको समेत उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया