कोरोनासँग लड्न अहिलेको तयारीले पुग्दैन, सबै मिलेर थप तयारी थालौँ

 वैशाख ३१, २०७७ बुधबार १८:१३:४० | डा. अनुप बास्तोला
unn.prixa.net

काठमाण्डौ - नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । केही दिनअघि सरकारले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेको थियो । त्यो निर्णय गरिएको केही दिनमै विभिन्न जिल्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमित फेला परेका छन् । त्यसैले यसलाई झन् कडाइ गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ । 

कोरोना सङ्क्रमण एकबाट दुई पुग्न धेरै समय लागेपनि एक सयबाट दुई सय पुग्न धेरै दिन लागेन । सीमा नाकामा कडाइ नहुनु र परीक्षणलाई तीव्रता दिन नसक्नुलगायतका कारणले सङ्क्रमणको डर झनै बढेर गएको छ । तराईका केही जिल्लासहित काठमाण्डौ उपत्यका कोरोना सङ्क्रमणको ‘रेड जोन’मा परेको छ । 

सङ्क्रमण दर तीव्र गतिमा बढ्दै गइरहेकोले आम नागरिक र सरकारले थप सक्रियता देखाउनुपर्ने देखिन्छ  । आम नागरिक र सरकारले तलका विषयमा विशेष ध्यान दिन सकेनन् भने देशले थेग्नै नसक्नेगरी सङ्क्रमण बढ्न सक्छ ।

१) मास्क अनिवार्य रुपमा लगाऔँ

लकडाउनका सुरुका दिनमा सबैले मास्कको प्रयोगलाई प्राथमिकता दिएको पाइएको थियो । तर, अहिले धेरै मानिसले मास्क लगाउन छाडेको देखिन्छ । मास्क भल्भ नभएको लगाउनुपर्छ । भल्भ भएको मास्कले कोरोनाको सङ्क्रमण रोक्न त्यति धेरै सहयोग गर्दैन । त्यसैले भल्भ नभएकै मास्क चाहिन्छ । घर वरपर हुँदा पनि मास्क लगाउनुपर्छ । 

२) सरसफाइमा विशेष ध्यान दिऔँ

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा चुनौती झन् थपिँदै गइरहेको छ । जुनसुकै समयमा पनि हाम्रो शरीरमा कोरोनाको सङ्क्रमण हुन सक्छ । त्यसैले वेलावेलामा साबुनपानीले हात धुने र नुहाउनेलगायतका क्रियाकलाप गरिरहनुपर्यो । खानेकुरामा विशेष ध्यान दिनुपर्यो । हामीले खानेकुरा पकाउने र बस्ने ठाउँ सफा राख्नुपर्छ । अहिलेकै सरसफाइको अवस्था आउँदा दिनमा अपुग हुन सक्छ । हामी सबैले समयमै स्वास्थ्यमा ध्यान दिऔँ ।

३) खोकी, ज्वरोको लक्षण छ भने अस्पतालमा सम्पर्क गरौँ  

यदि कसैलाई खोकी र ज्वरोलगायतका लगायत लक्षण छन् भने तुरुन्त अस्पतालमा फोन गनुउर्छ । ‘फिभर क्लिनिक’ मा गएर परीक्षण गराउनुपर्छ । खोकी र ज्वरो त हो नि भनेर हेलचेक्र्याइँ गरियो भने जो कोहीले पनि आफूसँगै आफ्नो परिवार र समाजमा कोरोनाको संक्रमण निम्त्याउँदै छु भनेर बुझ्नुपर्यो । 

४) भिडभाड नगरौँ

अहिलेकै सजगताले अबका दिनमा नपुग्न सक्छ । हामीले भिडभाड गर्यौँ भने त्यही भिडमा कसैमा सङ्क्रमण छ भने भिडमा रहेका सबै व्यक्तिमा सङ्क्रमण फैलिन सक्छ । अनि भीडमा रहेकाहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा पनि सङ्क्रमण हुन सक्छ । एक जनाको कारणले पुरै भिड, भीडले पुरै समुदाय र समुदायले पुरै जिल्ला र देशलाई सङ्क्रमित बनाउन सक्छ । सबैले सामाजिक दूरी कायम गरौँ । भिडभाड बन्द गरौँ । अनि मात्रै आफू र परिवारसँगै सिङ्गो देशलाई नै बचाउन सकिन्छ ।

५) अस्पताल सतर्क हुनुपर्यो  

अबका दिनमा जो कोहीमा पनि कोरोना सङ्क्रमण हुन सक्छ । अस्पतालले ज्वरो आएका, खोकी लागेकालगायतका बिरामी आएका छन् भने विशेष सतर्कता अपनाउनुपर्छ । कोही भारतबाट वा बाहिर कतैबाट एकदेखि साढे एक महिनाभित्र आएका छन् भने अस्पतालले परीक्षण गर्न तत्काल जनशक्ति पठाउनुपर्छ । त्यो व्यक्ति कोरोना सङ्क्रमित हो वा होइन भनेर पहिचान गरी अस्पतालले आवश्यक रणनीति बनाउन ढिला गर्नुहुन्न ।

६) परीक्षणको दायरा बढाउनुपर्यो 

अहिले जति पनि परीक्षणको काम गरिरहेको छ, यसको दायरालाई सरकारले बढाउनुपर्छ । अहिलेकै रफ्तारमा परीक्षणलाई अघि बढाउने हो भने हाम्रो आवश्यकतालाई यसले थेग्न सक्दैन । लक्षण भएको सबैलाई परीक्षण गर्न पनि सरकारले सकेको छैन । भारतबाट आएका सबैलाई परीक्षण गर्न सकिएको छैन । 
मुख्य सहर एवं काठमाण्डौमा पनि परीक्षण व्यापक बनाउन सकिएको छैन । अहिलेसम्म मानिसहरु आफैंले खोजीखोजी अस्पताल गएर परीक्षण गरेको मात्रै हो । सरकारले प्रभावित क्षेत्रमा परीक्षणलाई तीव्रता दिन सक्रियता देखाउन सकेको छैन ।

७) कन्ट्याक्ट ट्रेसिङ चुस्त बनाउनुपर्यो 

कन्ट्याक्ट ट्रेसिङलाई थप तीव्र बनाउनुपर्यो । ट्रेसिङलाई गर्न तीन दिन मात्रै ढिलो भयो भने त्यसपछिको ट्रेसिङको अर्थ रहदैन । किनभने त्यो समयसम्म दोस्रो व्यक्तिले पनि अरु धेरै जनालाई सारिसकेको हुन सक्छ । कोही सङ्क्रमित व्यक्ति भेटियो भने त्यसको कन्ट्याक्ट ट्रेसिङ २४ घण्टाभित्र गरिसक्नुपर्छ । अहिलेकै रफ्तारले ट्रेसिङ गरेर कोरोनालाई रोक्न सकिँदैन । तत्काल यसको दायरा बढाएर चुस्त बनाउनुपर्यो ।

८) सङ्क्रमणको स्रोत अस्पताल बन्न सक्छ

सबै अस्पतालले थप सुरक्षा प्रणाली अपनाउनुपर्ने देखिन्छ । ज्वरो आएका बिरामीहरुलाई अहिले ओपिडी सेवातिर गइरहेको पनि भेटेका छौँ । यदि त्यो व्यक्ति कोरोना सङ्क्रमित हो भने अस्पतालभित्र उसले सङ्क्रमण फैलाउन सक्ने जोखिम हुन्छ । सामान्य ज्वरो आएको छ भने पनि त्यो कोरोना हो वा के हो भनेर तत्काल परीक्षण गर्नुपर्ने अहिलेको आवश्यकता हो । सेवा दिने नाममा अस्पताललाई नै सङ्क्रमणको स्रोत बनाउनु हुँदैन ।

९) अस्पताल व्यवस्थापनमा ढिलाइ गर्नुहुन्न 

कोरोना भाइरसका बिरामी आएमा सबैभन्दा पहिले कुन अस्पताल जाने, त्यो अस्पताल भरियो भने अर्को कुन अस्पतालमा लग्ने भन्ने तयारी अहिलेसम्म भएको छैन । अहिले जुन जुन अस्पताल तोकिएका छन्, यही रफ्तारमा सङ्क्रमित थपिने हो भने ती अस्पतालले नपुग्न सक्छ । 
तीन वटा अस्पताल भरियो भने चौथो अस्पताल कहाँ हो ? त्यसको तयारी अहिलेसम्म भएको छैन । सबै बिरामी सबैतिर भर्ना गरेर हुँदैन । कोरोना पुष्टि भइसकेपछि कुन कुन अस्पतालमा लैजाने भनेर अहिले भरपुर तयारी गर्नुपर्ने देखिन्छ ।

१०) नर्स र डाक्टरलाई तालिम दिनुपर्छ

अहिलेकै पूर्वाधार र तयारी अबका दिनमा अपुग हुन सक्छ । अस्पतालमा आवश्यक सबै पूर्वाधार खडा गरिनुपर्छ । अस्पतालमा डाक्टरदेखि नर्स र सबै स्वास्थ्यकर्मीका लागि आवश्यक तालिमको व्यवस्था गर्नुपर्छ । अवस्था जटिल बनेको अवस्थामा कसरी सामना गर्ने भनेर अहिलेदेखि उनीहरुलाई तयारी अवस्थामा राख्नुपर्छ । पछिको अवस्थालाई मूल्याङ्कन गरेर जनशक्ति विस्तार गर्नुपर्ने छ भने त्यो तत्काल गर्नुपर्यो । जनशक्ति बढाउने, उनीहरुलाई तालिम दिने र तयारी अवस्थामा नराख्ने हो भने हाम्रोजस्तो स्रोत तथा साधन कम भएको देशले कोरोना सङ्क्रमणलाई सामना गर्न निकै गार्हो हुन्छ ।

११) लाखौँ पिसिआर किट चाहिन्छ

द्रुत गतिमा सङ्क्रमण बढिरहेकोले अबको एकदेखि दुई महिनाभित्र चारदेखि पाँच लाख पिसिआर किटको आवश्यक पर्छ । यो न्यूनतम आवश्यकता हो । योभन्दा धेरै किटको आवश्यकता पनि पर्न सक्छ । कुनै दाताले २० हजार र ३० हजार दिएको भरमा मात्रै हुँदैन । अबको केही दिनमै लाखौँको सङ्ख्यामा परीक्षण गर्नुपर्ने हुन सक्छ । कोरोना परीक्षण गर्दै जाँदा दुई हप्तापछि किट सकियो भने बहानाबाजी गर्ने छुट हामीलाई हुँदैन । किट व्यवस्थापनको काम यसअघि नै गरिसक्नुपर्ने थियो । अहिलेको जस्तैगरी २० हजार र ३० हजार किट ल्याएर पुग्दैन ।

१२) लाखौँ मास्क आवश्यक छ

आउँदा दिनमा एन–९५ मास्कले पुग्दैन । नेपाललाई लाखौँ मास्क आवश्यक पर्ने दिन आउँदैछ । यतिका समयसम्म देशभित्रै एन–९५ मास्क उत्पादन गर्न सरकारले केही गरेन । यस्तो सुस्त पाराले हामीले कसरी कोरोनालाई जित्न सक्छौँ ? मास्क ल्याउने विषयमा कसैसँग सम्झौता वा कुरा गरेर मात्र हुँदैन । हामीलाई तत्काल चाहिएको छ । देशमा उत्पादन गर्न नसकिने हो भने बाहिरबाट ल्याउनेतिर सोच्नुपर्यो । 

१३) औषधी र अक्सिजन व्यवस्था गर्नुपर्यो 

औषधीजन्य सामग्रीको अहिलेको व्यवस्थापनले भोलिको आश्यकतालाई धान्न सक्दैन । देशमा अक्सिजनको अभाव छ । देशभित्र २/३ ठाउँमा मात्रै अक्सिजन उत्पादन हुँदै आएको छ । सङ्क्रमण फैलिएको यतिका महिनामा अक्सिजन बनाउने प्लान्ट बनाउन सकिन्थ्यो । कम्तीमा एक प्रदेशमा अक्सिजन उत्पादन गर्ने एउटा प्लान्ट बनाएको भए भोलिका दिनमा केही राहत मिल्थ्यो । 

भारतले नाकाबन्दी गर्दा देशमा अक्सिजनको अभाव भएको थियो । त्यसबाट पाठ सिकेर सरकारले काम गर्न सकेन । यदि पश्चिममा अक्सिजन चाहियो भने कहाँबाट लैजाने ? केही समयपछि काठमाण्डौमै अक्सिजन नपुग्ने अवस्था आउन सक्छ । अझै पनि समय छ, यसको व्यवस्थापन गर्न सरकारले ढिला गर्नुहुन्न ।
१४) सीमा पारिबाट आउनेलाई रोक्नु पर्यो

सरकारले मुख्य नाकामा मात्रै कडाइ गरेको पाउँछौँ । नाकाभन्दा अरु क्षेत्र र चोर बाटोबाट मानिसहरु नेपाल भित्रिरहेका छन् । भारतबाट मान्छे नोपल छिर्ने वातावरण बन्द गर्नुपर्यो । मानिसहरुले नाकाबाट छिर्न पाएनन् भने अन्तबाट पनि छिर्छन् । नेपाल आउन चाहनेलाई व्यवस्थापन गर्ने र क्वरेण्टीन बढाउने गर्नुपर्यो । अहिलेको क्वरेण्टीनले पुग्दैन भने अरु थप्नुपर्यो । 

हाम्रा लाखौँ नागरिक मलेसिया र अरब देशहरुबाट आउन चाहिरहेका छन् । उनीहरुलाई नेपाल त ल्याउनै पर्छ । ल्याएपछि उनीहरुलाई राखे व्यवस्थापन खोइ ? सिमानामा अलपत्र परेकालाई ल्याएर राख्ने ठाउँ छैन । सरकारले तदारुकता नदेखाएपछि लुकेर उनीहरु आइरहेका छन् । उनीहरुलाई ल्याएर राख्न तत्काल क्वारेन्टीन बढाउनुपर्छ । 

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलासँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. अनुप बास्तोला

डा. बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया