पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लकडाउन घोषणा गरेको लामो समय भइसक्यो । मानिसहरु घरभित्रै छन् । तर लम्बिँदो लकडाउनको बढ्दोे प्रभावको कारण मानिसमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका समाचारहरु आइरहेका छन् । अहिले धेरै मानिसले फोनमार्फत आफूमा भएको मानसिक समस्या सम्बन्धित विज्ञ वा डाक्टरलाई भन्ने र समाधान खोज्ने दर बढेको छ । केही व्यक्ति परिवारसँग हाँसीखुसी रमाइरहेका छन् ।
तर कतिपयमा अनिश्चित भविष्यबारे विभिन्न थरीका चिन्ता, जागिर पाइने हो कि होइन, पारिश्रमिक नपाइने हो कि, केमा लगानी गर्नेजस्ता चिन्ताले मानसिक समस्या बढाइरहेको छ । यसबाहेक कोरोनाको त्रास छँदैछ । कोरोना लागे के गर्ने, कोरोनाले भयावह रुप लिएमा मैले उपचार पाउँछु कि पाउँदिनलगायतका डर र चिन्ता पनि उनीहरुमा छ । यसले पनि मानसिक समस्या बढ्दै गएको छ ।
यस्ता विभिन्न कारणले मानिसहरुमा छटपटी हुने, हृदयको गति बढ्ने, पेटभित्र उकुसमुकुस हुने, एकाग्र हुन नसक्ने, स्मरण शक्ति घट्ने र पर्याप्त निन्द्रा नलाग्नेलगायतका समस्या हुन्छन् । जब मानिसमा डर, त्रास र असुरक्षा हुन्छ तब मानसिक समस्या देखिन्छ । तनावलाई लामो समय गुम्स्याएर राख्दा मुटु रोग, उच्च रक्तचाप र मधुमेहलगायतका स्वास्थ्य समस्या पनि देखिन सक्छन् । तनाब धेरै लिँदा मान्छे छिटो बुढो हुने, छाला चाउरी पर्ने र उमेर ढल्किँदै गएपछि बिर्सने रोगलगायतका समस्या हुन सक्छन् । तर समस्या आउन नदिनको लागि विभिन्न उपाय अपनाउन सकिन्छ ।
१) सकारात्मक सोच्ने
विश्वमा फैलिरहेको कोरोना भाइरस एउटा विपत्ति हो । विपत्ति सधैँ रहँदैन भनेर सोच्ने गर्नुपर्छ । म मात्र होइन, विश्वका अधिकांश मानिसले यो विपत्तिको सामना यसरी नै गरिरहेका छन् भन्ने मनमा लिनुपर्छ । सबै मिलेर समाधानको बाटोमा अगाडि बढ्न सके विपत्तिबाट पक्कै छुटकारा पाउन सकिन्छ भन्ने मानसिकता हुनुपर्छ । कोरोनाबाट बच्नको लागि जे जस्ता उपाय अपनाउनुपर्छ भनेर बताइएको छ ती सबै अनुसरण गरेको छु, त्यसैले मलाई सर्दैन भन्ने आत्मविश्वास बढाउनुपर्छ । यदि कोरोना लागिहाले पनि यसको मृत्युदर २ देखि ३ प्रतिशत मात्रै छ र यो घातक रोग होइन भनेर मनलाई सान्त्वना दिनुपर्छ । परिवार तथा साथीभाइलाई पनि तनाब व्यवस्थापनमा सहयोग गर्नुपर्छ ।
२) खानपानमा ध्यान दिने
कतिपय मानिसले जाँड, रक्सी, चुरोट र खैनीलगायतका वस्तुलाई तनाब व्यवस्थापनको उपाय मान्ने गर्छन् । तर यो गलत हो । यस्ता चिजको सेवनले तनाब घटाउनेभन्दा स्वास्थ्य समस्या बढाउन सक्छ । यसको सट्टा घरमा सकेसम्म पौष्टिक तत्व भएका खानेकुरा खानुपर्छ । यसले गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यस्तो वेलामा बरु जाँड, रक्सी, चुरोट र खैनी खाने बानीलाई बिस्तारै हटाउँदै जानुपर्छ । धुम्रपान र मध्यपान गर्नाले स्वास्थ्यको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले यसतर्फ सजग रहनुपर्छ ।
३) मानसिक समस्या लुकाएर नराख्ने
शारीरिक तथा मानसिक स्वास्थ्य फरक कुरा हुन् भन्ने धेरैमा भ्रम छ । उनीहरुमा शारीरिक स्वास्थ्यलाई मात्रै ख्याल गरे पुग्छ भन्ने बुझाइ रहेको पाइन्छ । यही बुझाइको कारणले धेरैले आफ्ना मानसिक समस्या लुकाएर राख्छन् । यसबारे कुरा गर्दैनन् र समाधान खोज्दैनन् । तनाब पनि मानसिक समस्याकै रूप हो । धेरै मानिस यसबारे खुलेर कुरा गर्न चाहँदैनन् । म तनाबमा छु भन्न हिच्किचाउँछन् । यसले झनै जटिल खालका शारीरिक र मानसिक समस्या निम्त्याउँछ ।
हामीलाई शारीरिक र मानसिक दुबै रोगले कमजोर बनाउँछ । त्यसैले तनाब व्यवस्थापनमा लाग्नुपर्छ । मानसिक समस्या भएको छ कि जस्तो लागेमा तत्काल अस्पताल वा स्वास्थ्य चौकी जान नसकेपनि विज्ञहरुसँग फोनमार्फत् परामर्श लिन सकिन्छ । मानसिक समस्यासँग सम्बन्धित कुनै औषधि खाइरहेको भए त्यसको नियमित प्रयोग गरिरहनुपर्छ ।
४) व्यायाम गर्ने
हरेक दिन १/२ घण्टा शारीरिक व्यायाम, योग र ध्यानका लागि छुट्याउनुपर्छ । दैनिक रुपमा गरिने योग, ध्यान र व्यायामले शारीरिक तथा मानसिक रुपमास्वस्थ राख्न मानिसलाई सहयोग गर्छ । योग, ध्यान र व्यायाम नगर्नेको तुलनामा यी क्रियाकलापमा गर्ने मानिसमा मानसिक रोग कम लाग्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । यसलाई जीवनशैलीकै रुपमा विकसित गर्न सके झनै राम्रो हुन्छ ।
५) सोचाइमा आउने परिवर्तनलाई ध्यान दिने
आफ्नो सोच्ने तरिकामा पहिलाको तुलनामा केही परिर्वतन आएको छ कि भन्नेबारे ध्यान दिनुपर्छ । यदि धेरै डर लाग्ने, मुटुको धड्कन बढ्ने, निन्द्रा नलाग्ने, खाना नरुच्ने, चिडचिडापन हुने, अत्तालिने, झर्को लाग्ने र बिनाकारण थाकेजस्तो हुने जस्ता लक्षणहरु देखिए यसलाई समयमै व्यवस्थापन गर्नुपर्छ । यसलाई समयमै व्यवस्थापन गर्न नसके ठूलै मानसिक समस्या देखिन सक्छ । त्यसैले, तनाबको कारण शारीरिक तथा मानसिक स्वास्थ्य र सोचमा आउन सक्ने परिवर्तनलाई ख्याल गर्नु जरूरी छ ।
६) रचनात्मक काम गर्ने
लकडाउनको समयमा बाहिर निस्कन पाइँदैन भन्दैमा धेरै समय मोबाइल र कम्प्युटरमा झुन्डिरहनु हुँदैन । यसले एक्लोपन महसुस गराउँछ । त्यसको सट्टा रचनात्मक र सिर्जनशील काममा समय बिताउनुपर्छ । व्यक्तिगत सरसफाइ, घरको सरसफाइमा ध्यान दिने, फुल रोप्ने, गोड्ने र परिवारका सदस्यसँग समय बिताउनेलगायतका काम गर्नुपर्छ ।
परिवारका सदस्यसँग कुराकानी गरेर समय बिताउनु तनाबबाट मुक्त हुने अर्को उपाय हो । परिवारसँग टाढा भएमा विश्वसनीय सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण भएका समाचार सीमित मात्रामा हेर्ने, बरु रमाइला कार्यक्रम वा फिल्म हेरेर समय बिताउनु राम्रो हुन्छ ।
७) दिनचर्यामा ख्याल गर्ने
तनाब भयो भन्दैमा आफ्नो दैनिकी खलबल्याउने गर्नुहुँदैन । ठिक समयमा खाना खाने, सुत्ने र उठ्ने गर्नुपर्छ । दिनमा ७÷८ घण्टा सुत्ने, पर्याप्त पानी पिउने, सागसब्जी र फलफूल खाने गर्नुपर्छ । दैनिक जीवनयापन खलबल्याउँदा पनि मानसिक समस्या बढ्न सक्छ । त्यसैले यसतर्फ ध्यान दिन आवश्यक छ ।
(वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा. डा. शर्मासँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रा. डा. शर्मा वरिष्ठ मानसिक रोग विशेषज्ञ हुनुहुन्छ ।