गणतन्त्र दिवसमा प्रम ओलीको गीत- ‘बन्छ नमूना नेपाल’

 जेठ १५, २०७७ बिहीबार १२:१८:४६ | रासस
unn.prixa.net

काठमाण्डौ - 
‘स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास’ (केपी शर्मा ओली)

प्रधानमन्त्री केपी शर्मा ओली अब गीतकारका रुपमा पनि चिनिनुभएको छ ।

तेह्रौँ गणतन्त्रको दिवसको अवसर पारेर प्रम ओलीको गीत ‘बन्छ नमूना नेपाल’ आज यूट्युबमा रिलिज भएको छ । गीतमा स्वदेशमा श्रम, विकास निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ । 

देश लकडाउनमा परेका बेलामै उहाँले यसै वर्ष वैशाख २० गते रचना गरेको कवितालाई संगीतकार अशोककुमार राईले सङ्गीत भर्नाका साथै सङ्गीत संयोजन गर्नुभएको हो ।

‘प्रधानमन्त्रीको सचिवालयमार्फत हात परेको कविता वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्ष्य गरी लेखिएको पाएँ, यस्तो समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रुचि लागिहाल्यो’, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य राईले भन्नुभयो । 

यसअघि ओलीका  ‘खर्पन’ (२०४१), मेरो जून हरायो (२०६२), समृद्धिको सपना (२०७५), ‘अब आँसु खसाउनु पर्दैन’ (२०७७) कविता प्रकाशित छन् । कारागारमा सिसाकलमले चुरोटका खोलमा लेखिएका उहाँका केही कविता प्रहरीले त्यतिबेलै जफत गरी लगिसकेको छ । पन्ध्र वर्षजति कारागारमा रहँदा कविता लेख्ने गर्नुभएका ओलीलाई अहिले राष्ट्रको नेतृत्व हाँकिरहेका बेला त्यही कवि मनले बेलाबेला कविता लेख्न लगाइरहन्छ । 

गीतकार ओलीको गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी  चेम्जोङले स्वर दिनुभएको छ । छरिएर रहनुभएका गायकगायिकालाई मोबाइलमा स्वर भर्न लगाएर सङ्गीतकार राईले तिनलाई संयोजन गर्नुभएको हो ।

‘लकडाउनका बेला मनमैजु, बाँसबारी र मैतीदेवीमा बसेका गायकगायिकालाई ट्रयाक पठाई मोबाइलमा स्वर भर्न लगाएँ र तिनलाई जोडेर गीत तयार गरेँ’, ताप्लेजुङबाट आएर हाल मैतीदेवी बस्दै गर्नुभएका प्राज्ञ राईले भन्नुभयो । 

अन्तरा साङ्गीतिक समूह बागबजारका तर्फबाट निर्मित गीतको भिडिओ पनि तयार गरिएको छ जसको संयोजन सावन श्रेष्ठ र सौहार्द राईले गर्नुभएको छ ।

देशभक्ति, क्रान्तिकारी भावधारा तथा जनताको आवाजलाई लिपिबद्ध गरी करिब एक हजार गीति रचनामा सङ्गीत भरिसक्नुभएका ५० वर्षीय प्राज्ञ राई भन्नुहुन्छ, ‘सरकारले विदेशमा गएका नेपालीलाई स्वदेश ल्याएर व्यवस्थापन पनि गर्नुपर्छ ।’

यो गीतले प्रवासमा रहेका नेपालीलाई ठूलो सन्देश दिने उहाँको विश्वास छ । लकडाउन खुलेपछि ‘वैदेशिक रोजगारीका लागि विदेश जानुहुने सम्पूर्ण दिदीबहिनी दाजु इलाई सम्मान तथा सुस्वास्थ्यको कामना’ गरिएको  गीतलाई परिमार्जन गरिने सङ्गीत तथा नाट्य प्रतिष्ठानका संगीत विभाग प्रमुख राईको योजना छ । 

‘खेर जान्नन् नदीनाला
बाँझा हुन्नन् खेत
नाङ्गा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।’ (केपी शर्मा ओली)

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया