कस्तो च्याउ खाने, कस्तो नखाने ?

 साउन १५, २०७७ बिहीबार ९:४०:५२ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – मंगलबार विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चार जनाको ज्यान गयो । ७ जना बिरामी छन् । यस्तै सोमबार डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको ज्यान गयो ।  परिवारका अरु चार जना बिरामी छन् । 

पछिल्ला यी दुई घटना त उदाहरण मात्रै हुन् । हरेक वर्ष यो माैसममा ३० देखि ४० जनाको ज्यान जंगली च्याउ खानाले ज्यान जाने गरेको तथ्याँक छ । यो अस्पताल गएकाहरुको मात्रै तथ्याँक हो । अस्पताल नगइकन वा  थाहा नपाइकन पनि कतिपयको विषालु च्याउको कारण ज्यान जाने गरेको छ । 

वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा धेरै प्रजातिका च्याउ पाइन्छन् । पुरानो रूखको ठुटो, पत्कर वा खुला चौर र पाखामा च्याउ उम्रिन्छ ।

यस्ता च्याउ खानयोग्य पनि हुन्छन्, विषालु पनि । जथाभावी  च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ । कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बच्न सकिने विज्ञहरु बताउँछन् । 

कस्ता च्याउ खान हुुँदैन ? 

जंगली च्याउ भौगोलिक अवस्था अनुसार फरक फरक हुन्छन् । त्यसैले सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा खानयोग्य भनेर छुट्याउन गाह्रो हुन्छ । यसका लागि प्रशस्त अनुभव र विज्ञताको खाँचो चाहिन्छ । नेपालमा खासगस् च्याउ पहाडी क्षेत्रमा पाइने र परम्परागत  अनुभवका आधारमा नै यसको  संकलन गर्ने गरिएको छ  ।

कहिलेकाहीँ च्याउ आफैंमा विषाक्त नभए पनि हामीले संकलन तथा  र भण्डारण तरिकाले पनि  विषाक्त बनाउने च्याउ वैज्ञानिक प्रेमबहादुर मगर बताउनुहुन्छ । च्याउ संकलन तथा प्रयोग गर्दा विषेश सावधानी अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार हेर्दा रङ्गीचङ्गी र आकर्षक देखिने च्याउ खानु हुँदैन । कचौरा आकारको च्याउ पनि विषालु हुने उहाँको भनाई छ । डाँठ र छाता रातो भएको च्याउ पनि खानु हुँदैन । यसबाहेक गन्ध आउने र बैजनी तथा गाढा रातो रङ्गो च्याउ प्रायः विषालु हुन्छन् ।

च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि  उठेको देखिएमा विषालु हो भनेर अनुमान गर्न सकिन्छ । नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो, गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा विचार पुर्याउन च्याउ विज्ञ मगरको सुझाव छ । 

विषालु च्याउको वरपर कीराहरु नलाग्ने हुन्छ । त्यसैले यी च्याउहरु हेर्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् । खान हुने वा नहुने च्याउ छुट्याउनु यी तरिकाहरु अपनाउन सकिने उहाँको भनाई छ । तर यसैको आधारमा च्याउ विषालु हो या होइन छुट्याउन गाह्रो हुने उहाँ बताउनुहुन्छ । ठाउँ र हावापानी अनुसार च्याउको प्रजातिमा फरक पर्ने हुँदा कुन च्याउ खान हुने र नहुने ठ्याक्कै छुट्याउन भने विशेषज्ञता नै चाहिने विज्ञहरुको भनाइ छ ।  

नेपालमा १२ सय ९१ प्रकारका जंगली च्याउ पाइन्छ । तीमध्ये ७४ प्रकारका च्याउमा  औषधीय गुण हुन्छ । १ सय ५९ प्रजातिका च्याउ खानयोग्य हुन्छन् भने १ सय प्रजातिका च्याउ विषालु हुने मगरले बताउनुभयो । 

च्याउको विषबाट बच्न के गर्ने ?

  • सकभर आफूले चिनेको र जानेको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्री वितरण गर्ने  र खाने । 
  • संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम एवं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने ।
  • सकभर दुई प्रजातिका फरक– फरक च्याउ सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनुभन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।​
  • उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नष्ट हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।
  • च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि  बिरामी होशमै छ भने नुनपानी खान दिएर बान्ता गराउने वा  पखाला लगाउने कुनै विधि अपनाउने ।
  • परम्परागत रुपमा प्रयोग गरिंदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ । तर छिटो भन्दा छिटो अस्पताल पुर्याउनु पर्ने हुन्छ । 

सबैलाई च्याउका सबै प्रकारहरुको ज्ञान नहुने हुँदा सकेसम्म राम्ररी ज्ञान नभएको प्रजातिको च्याउ प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । यसका साथै च्याउ संकलन र प्रयोग गर्दा समेत विशेष सावधानी अपनाउनुपर्छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया