सर्वाेच्चकाे फैसलाले नागरिक र संविधानकाे जित भएकाे छ : सभामुख सापकाेटा

 फागुन ११, २०७७ मंगलबार २०:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिककाे जित र संविधानवाद्को जित भएको प्रतिक्रिया दिनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै सिंहदरबारमा रहेकाे आफ्नै कार्यकक्षमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उहाँले सर्वोच्चको फैसलाले संविधानवाद्को जित भएको बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्त्वपूर्ण अङ्गहरूको शक्ति पृथकीकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, सर्वोच्चको आजको फैसलाले समस्त नेपाली नागरिककाे जित भएको छ । संविधानवाद्को जित भएको छ र नेपाली नागरिकमा अदालतप्रतिको विश्वास थियो, त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ । समग्रमा भन्नुपर्दा यसले एउटा नयाँ आयाम खडा भएको छ । साथै यसले लोकतन्त्रको विकास विस्तार र सुदृढीकरणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । फैसलाको प्रारम्भिक अध्ययन गर्दा राज्यका महत्त्वपूर्ण अङ्गहरूको शक्ति पृथकीकरण र भूमिकाको बारेमा स्पष्ट मार्ग निर्देश गरेको छ । पुस ५ गतेदेखि आजको दिनसम्म बहसको बीचबाट यसले संविधानको रक्षा मात्रै होइन विकास र समृद्धि गर्नुको साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको छ । सभामुखको हैसियतले म के भन्न चाहन्छु भने मैले शपथ लिएकै दिन संसद्लाई जीवन्त र जनमुखी बनाउने भनेर सङ्कल्प गरेको थिएँ, त्यो सङ्कल्प पूरा गर्नका लागि आधारशीला खडा भएको छ ।

सर्वोच्चको संवैधानिक इजालासले गएकाे पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो । फैसलामा १३ दिनभित्रै संसद् बैठक बोलाउन पनि भनिएको छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया