ओलीले राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्छाैँ : पम्फा भुसाल

 फागुन १२, २०७७ बुधबार १६:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिनुभएको छ । 

नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नैतिकता र मानवीय स्वाभिमान छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो । सर्वोच्च अदालतले निर्णय गर्नेबित्तिकै राजीनामा आउनुपर्नेमा अहिलेसम्म राजीनामा नआएको भन्दै नैतिकताको आधारमा राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने उहाँले चेतावनी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुस्वप्न हुनेछ । तेह्र दिनभित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँबाट गलहत्याएर फालिने छ । म अहिले पनि अपिल गर्छु यो संविधानको हत्या गर्ने र संविधानको संरक्षण गर्न नसक्नेहरूले छिटो भन्दा छिटो ठाउँ खाली गरिदिएर आफूले गरेको अपराधप्रति पश्चाताप गरेर कतै बसिदिए हुन्छ ।’

नेतृ भुसालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत राजीनामा दिन आग्रह गर्नुभएको छ । ‘बिहान पशुपतिनाथको जात्रा देखेको थिएँ मैले । त्यहाँ क्षमायाचना गर्नुभन्दा अब नागरिकका बीचमा क्षमायाचना गरेर हामीले छोड्याैँ भनेर फैसला गरे हुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधानको हत्या गर्ने र राष्ट्रपति निकायबाट त्यही रगतको टीका लगाउने काम भएको टिप्पणीसमेत नेतृ भुसालले गर्नुभयो । तर सर्वोच्च अदालतले निर्णय गरेपछि राजीनामा आउनुपर्नेमा प्रवक्तामार्फत राजीनामा नदिने भन्न लगाएको उहाँले बताउनुभयो । राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको पनि उहाँकाे भनाइ छ ।

नेतृ भुसालले भन्नुभयो, ‘केपी ओलीले संविधानको हत्या गर्ने, राष्ट्रपति निकायले त्यही रगतको टीका लगाउने । संविधानको रक्षा गर्न नसक्ने असक्षमहरूको प्रतिगामीहरूले कमसेकम अलिकति पनि नैतिकता छ भने, अलिकति मानवीय स्वाभिमान छ भने मैले हिजै राजीनामा देलान् भनेको थिए तर एक/दुई घण्टापछि उनैका प्रवक्ताद्वारा सुने, नदिने रे ।’

नेतृ भुसालले नागरिककाे अधिकारलाई सुरक्षा गर्न, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सर्वोच्च अदालतले खेलेको भूमिकाकाे प्रशंसा गर्नुभयो ।   

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया