धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ ।
शनिबार काठमाण्डाैमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको पनि बताउनुभयो ।
‘पार्टी भित्रैपट्टिबाट वर्गउत्थान भएका केही नेताहरु जो विपरित वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरुको प्रलोभनमा फस्छन् र उनीहरुका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन् । आफू जहाँबाट जन्मिएको हो त्यो धर्ती उनीहरुले बिर्सिन्छन र आफूलाई हिजो जसका विरुद्ध लडाई गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधि जस्तो ठान्न पुग्छन् ।’ प्रचण्डले भन्नुभयाे, 'अहिले तपाईहरु हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन् ।’
आफूलाई महाराजधिराज ठान्न थालेदेखि पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रम्हव्याख्याको रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृति केपी ओलीमा देखिएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।
कम्युनिष्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको भन्दै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर केपी ओली लागेको पनि अध्यक्ष प्रचण्डले आरोप लगाउनुभयो ।
‘अहिले छोटो समयमा कम्युनिष्ट पार्टीकै नेतृत्वबाट आफैले बनाएको संविधान र त्यसको मर्ममाथि निर्मम खालको प्रहार भएको देखियो र यो सम्पूर्ण लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने दिशातिर गएकाे छ', उहाँले भन्नुभयो, 'कम्युनिष्ट आन्दोलनले हासिल गरेकाे उपलब्धिमा धब्बा लगाउने किसिमले कम्युनिष्ट पार्टीकै नेतृत्वबाट आएको यो दुःखद आश्चर्य हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।