सत्तारुढ नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छाैँ : निर्वाचन आयोग

 फागुन १६, २०७७ आइतबार ८:१३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्ने तयारी थालेको छ ।

अब चुनावको तयारी गर्नु नपर्ने र पेस भएका दुवै पक्षका निवेदनहरुमाथि अध्ययन भइरहेकाले छिट्टै विवादको निरुपण गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । संवैधानिक व्यवस्था, कानुनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर आयोगले अध्ययन अन्तिम चरणमा पुर्याएको छ ।

यसअघि चुनावको प्रयोजनका लागि विभिन्न काम गर्नुपर्ने भएकाले नेकपाभित्रको विवाद समाधान गर्न समस्या भइरहेको र अहिले अवस्था सहज भएकाले केही दिनमै विवादको निचोड निकालिने उहाँको भनाइ रहेको छ । यति दिनभित्र नै विवाद निरुपण हुन्छ भनेर आंकलन गर्न सकिने अवस्था नरहेपछि अहिलेलाई केही दिनभित्रै हुन्छ भनेर बुझ्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइछ ।

यसैबीच, नेकपाको विवाद समाधानका लागि आयोगले देखाएको भूमिकाप्रति नेकपाको प्रचण्ड-नेपाल समूहले असन्तुष्टि जनाएको छ । आयोगले संविधान र कानुनसम्मत ढंगले सहज निर्णय नगर्दा अहिले समस्या भइरहेको प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

यसअघि आयोगमा प्रचण्ड-नेपाल समूह र ओली समूहले उपलब्ध गराएका दुवै निर्णयलाई वैधानिकता नदिने आयोगले निर्णय गरेको थियो । त्यसपछि फेरि प्रचण्ड-नेपाल समूहले अर्को निर्णय बोकेर आयोग पुगेको थियो ।

प्रचण्ड-नेपाल समूहले आवश्यक परे बहुमत सदस्य नै आयोगमा उपस्थित हुने भन्दै बहुमत सदस्यहरुको नागरिकता र पार्टीको परिचयपत्र सङ्कलन गरेर राखेको छ । ओली समूहले पनि आफूसँग अध्यक्ष, महासचिव, माइन्युट सबै भएकोले आफूहरु नै नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया