तनहुँ जलविद्युतको बाँध निर्माणका लागि १६ अर्ब ६२ करोड रुपैयाँको ठेक्का सम्झौता

 चैत ९, २०७७ सोमबार २०:२९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

पहिलो प्याकेजका निर्माणका लागि सोङ्ग दा कर्पोरेशन भियतनाम–कालिका कन्सट्रक्शन नेपाल जेभीबीच खरिद सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको प्रवर्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सोङ्ग दा–कालिका जेभीका तर्फबाट प्रतिनिधि विक्रम पाण्डेले हस्ताक्षर गर्नुभएको छ । कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक) मा खरिद सम्झौता भएको हो । 

ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको प्रबन्ध–सञ्चालक थिकेले बताउनुभयो । 

आयोजनाको प्याकेज एक (हेडवर्क्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सीएमसी डी राभेना इटालीसँग २०७५ असाेज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपछि कम्पनीले मिति १२ वैशाख २०७६ मा फेरि बोलपत्र आह्वान गरेको थियो । कम्पनीले त्यस बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरू सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरूप मिति २०७६ फागुन १६ मा दोस्राे पटक फेरि बोलपत्र आह्वान गरेको थियो । 

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको देशव्यापी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेस गर्ने म्याद थप गरिएको थियो । अन्ततः तीन वटा अन्तर्राष्ट्रिय बोलपत्रदाताले बोलपत्र पेस गरेकोमा प्राविधिक बोलपत्रहरूको मूल्याङ्कनपछि सारभूत रूपमा प्रभावग्राही दुई वटा बोलपत्रदाताको आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरूको मूल्याङ्कनपछि न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही सोङ्ग दा–कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरिद सम्झौता गरिएको हो । 

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत् गृह खन्ने कार्यका साथै सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ ।  

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहाेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया