ओलीलाई भुसालकाे जवाफ : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

 चैत १७, २०७७ मंगलबार १४:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिनुभएको छ । ११ पृष्ठको स्पष्टीकरण जवाफ दिँदै भुसालले पार्टीको अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लाग्नु भएको हो ? भन्दै प्रश्न गर्नुभयो ।

ओलीकै कारण पार्टी वैचारिक, सैद्धान्तिक, राजनीतिक र साङ्गठानिक हिसाबले विसर्जनतर्फ जान थालेको नेता भुसालको भनाइ छ । पार्टीलाई बन्धक बनाएर तपाईँले के पाउनुभयो ? भन्दै नेता भुसालले प्रश्न गर्नुभएको छ ।

ता भुसालले प्रधानमन्त्री ओली एमालेको अध्यक्ष भएपछि पार्टीको विचार, सिद्धान्त, राजनीति तथा सङ्गठनात्मक सिद्धान्तको मूल्य हराउँदै गएको बताउनुभयो । पार्टी र आन्दोलनका विरुद्ध नजान आग्रह गर्दै भुसालले पार्टीलाई जोगाउँदै नवौँ महाधिवेशनका निर्णयका आधारमा पुनर्गठित गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रमा भनिएकाे छ, ‘पार्टी कार्यालयबाट प्रेषित औपचारिक पत्रको भाषा, त्यसको गूढार्थ र तपाईँले अपनाएको प्रक्रियाले तपाईँ के गर्न खोज्दै हुनुहुन्छ भन्ने स्पष्ट छ । नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियाजित रूपले लक्ष्यित तथाकथित न्यायिक प्रक्रियालाई कङ्गारु अदालत भनिन्छ । तपाईँले मागेको तथाकथित ‘स्पष्टीकरणसहित लिखित जवाफ’ ले तपाईँ त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ । शत्रु देशको नागरिकलाई पठाइएको जस्तो तपाईँको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन अर्थात् तपाईँले पठाउनुभएको मिथ्या पत्रका बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन तर तपाईँले लगाउनुभएका आरोपहरू कति पूर्वाग्रही छन् र तपाईँका दाबीहरू कति झुटा छन् भन्ने कुरा पार्टी पङ्तिलाई जानकारी गराउनुपर्ने भएकोले यो पत्र लेख्दै छु ।’ 

नेता भुसालले ओलीलाई सच्चिन पनि पत्रमार्फत आग्रह गर्नुभएकाे छ । उहाँले भन्नुभएकाे छ, ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’ 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया