प्रचण्डमाथि ओलीकाे व्यङ्ग्य : अदालत मजाक गर्ने ठाउँ हाे र ? दर्ता खारेज गरिदियो, पार्टी आ–आफ्ना भइसके

 चैत १७, २०७७ मंगलबार १९:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि व्यङ्ग्य गर्दै अदालतलाई मजाक गरिने ठाउँ बनाएकाे बताउनुभएकाे छ । प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उहाँले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गर्नुभएकाे हाे ।   

मंगलवार रिपोर्टर्स क्लब नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार । अदालत कुनै मजाक गर्ने ठाउँ हो र ! दर्ता खारेज गरिदियो । पार्टी आफ्ना आफ्ना भइसके ।’

प्रधानमन्त्री ओली केही मान्छेहरूको महत्वकाङ्क्षाका राजनीतिक अस्थिरता निम्तिन खोजेको बताउनुभयो । केही व्यक्तिहरूले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताउनुभएकाे छ । सरकारले गच्छेअनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले स्वतन्त्रताको उपभोग गर्दा सही ढङ्गले उपभोग गर्नुपर्छ । नत्र भने त्यसको दुरुपयोग हुने खतरा छ । अब त हामीले सिक्नुपर्छ भन्ने मलाई लाग्छ । सरकार स्वतन्त्रतामा कुनै बन्देज लगाउने वा कुनै नियन्त्रण गर्ने अथवा कुनै अङ्कुश लगाउने वा कुनै हिसाबले न्यून गर्ने पक्षमा छँदै छैन र हुँदैन । सरकारको तर्फबाट सञ्चार क्षेत्रलाई पुर्‍याउनुपर्ने सहयोग, त्यसलाई अरू फस्टाउनका लागि गर्नुपर्ने सहयोगका सन्दर्भमा गच्छेले भ्याएसम्म सरकार त्यो गर्न तयार छ ।’

अहिले देशमा समस्या पर्‍याे भन्ने प्रचार गरिएको भन्दै देशलाई र देशको राज्य प्रणालीमा कुनै प्रकारको समस्या नरहेको ओलीले बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कुनै प्रकारको समस्या नरहेको उहाँले स्पष्ट पार्नुभयो । प्रदेश सरकारहरूलाई केन्द्र सरकारबाट दिइने बजेटमा कहीँ कतै विभेद नभएको पनि उहाँकाे भनाइ छ ।  

उहाँले भन्नुभयो, ‘सङ्घीयतामा समस्या के पर्‍याे ? केही केही अनुभूतिका कुराहरू छन् तर अब अनुभूतिबाहेक भन्ने हो भने कुनै पनि प्रदेशलाई केन्द्रबाट बजेटमा कम गरिएको छैन । बरु जहाँनिर पछाडि परेको छ त्यहाँका लागि प्रोजेक्ट तयार गरिएको छ ।’   

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया