सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तिय सम्झौता पत्रमा हस्ताक्षर

 चैत २०, २०७७ शुक्रबार १६:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि आठ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धकाे सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न शुक्रवार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात् ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपाली जनसङ्ख्यालाई खोप दिने सरकारको बृहत् योजनाका लागि यो सहयोग महत्त्वपूर्ण र सान्दर्भिक हुने बताउनुभयो ।

यस्तै खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न पनि प्राप्त सहयोग उपयोगी हुने उहाँले बताउनुभयो । 

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जार्भोसले कोभिड–१९ विरुद्धकाे सुरक्षित र प्रभावकारी खोपको समतामूलक र द्रुत पहुँच विस्तार गरी नागरिकको जीवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न यो रकम सहयोगी हुने बताउनुभयो ।

उहाँले नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण र आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया