काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् ।
आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी हुने, घाँटी खसखस हुने, टाउको दुख्ने, रुघाखोकी लाग्ने तत्कालीन असर हो । पहिलादेखि नै दमका औषधि खाँदै आएकाहरुलाई पनि तत्काल असर देखिन सक्छ ।
यसैगरी दीर्घकालीन रुपमा मुटुको समस्या, स्नायु प्रणालीमा समस्या हुने र कतिपयमा क्यान्सरसमेत हुन सक्छ । हामी सधैं प्रदूषित वातावरण भएको ठाउँमा बस्यौँ भने पछि गएर पनि यस्ता खालका समस्याहरु देखिन सक्छन् ।
वायु प्रदूषण धेरै भएको बेला सकेसम्म घर बाहिर ननिस्कन विज्ञहरुले आग्रह गर्दै आएका छन् । तर दैनिक गुजारा चलाउनुपर्ने भएकाले घरबाट बाहिर ननिस्कन सम्भव हुँदैन । हाम्रा दैनिक क्रियाकलापहरु घरबाहिर नै हुने गर्छन् ।
घर बाहिर निस्कँदा विभिन्न खालका सावधानी अपनाउनुपर्ने हुन्छ । जस्तै : मास्क लगाउने । मास्क पनि शतप्रतिशत नै सुरक्षित हुँदैन । तर मास्कले केही हदसम्म भए पनि प्रदूषणका कारण हुन सक्ने स्वास्थ्य समस्याबाट जोगाउँछ । अझ दीर्घरोगी, दमका समस्या भएकाहरुले भने मास्क लगाएर पनि बाहिर हिँड्नु हुँदैन । यसो गर्न सके स्वास्थ्यमा देखिन सक्ने समस्यालाई कम गर्न सकिन्छ ।
कस्तो अवस्थामा अस्पताल जाने ?
रुघाखोकी, आँखा पोल्ने र सामान्य टाउको दुख्ने समस्या भएमा घरमा आराम गर्दा पनि ठिक हुन्छ । तर तत्काल नै समस्या देखिएको भए पनि लामो समयदेखि दमका कारण औषधि खाइरहेकाहरु, फोक्सोको समस्या भएकाहरु भने अस्पताल जानुपर्छ ।
सामान्य मात्रै समस्या भएजस्तो लागेमा आफूले जँचाउने गरेको डाक्टरको सल्लाह पनि लिन सकिन्छ । मुटु र फोक्सोको क्यान्सरसमेत वायु प्रदूषणका कारण हुन सक्छ । तर यस्ता समस्या वायु प्रदूषणले गर्दा नै भएको हो भनेर हामीले सोचेका हुँदैनौँ ।
लामो समय प्रदूषणमा बस्दा पछि गएर पनि समस्या देखिन सक्छ । त्यस्तो अवस्थामा उपचारबाहेक दोस्रो विकल्प अरु केही हुँदैन । त्यस्ता व्यक्तिहरुले, सम्बन्धित विशेषज्ञसँग सल्लाह गर्नुपर्ने हुन्छ । आँखा पोल्यो, टाउको दुख्यो, घाँटी खसखस गर्यो भने प्रदूषण बढेर होला भनिन्छ । तर दीर्घकालीन रुपमा देखिन सक्ने गम्भीर समस्याका बारेमा भने त्यति हेक्का राखिँदैन ।
बच्ने उपाय
प्रदूषणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सकेसम्म घरबाट बाहिर ननिस्कनु हो । तर सबैका लागि, सधैं सम्भव नहुने भएकाले नीतिगत रुपमा नै वायु प्रदूषण बढाउने, कलकारखानालाई नियन्त्रण गर्नुपर्छ । गएको दश वर्षको अवधिमा धेरै गाडीहरु थपिएका छन् ।
डढेलो लगाउने कामलाई रोक्नुपर्छ । यसका लागि नागरिकको त आफ्नो दायित्व हुन्छ नै, त्योसँगै नीति निर्माताहरुले पनि यो कुरामा ध्यान दिनुपर्छ । यसमा नागरिकको साथ र सहयोग उत्तिक्कै आवश्यक हुन्छ । वायु प्रदूषण आजको भोलि देखिने भन्दा पनि बिस्तारै बढ्दै गएर भयावह स्थितिमा पुग्ने हो ।
प्रदूषण आजको भोलि नै नियन्त्रण गर्न सकिँदैन । दशकौँ कुर्नुपर्ने हुन सक्छ । यो नेपालको मात्र समस्या नभएर विश्वव्यापी समस्या हो । प्रदूषण बढेको बेलामा मात्रै चासो लिने, बहसहरु हुने गरेका छन् । तर सधैँभरि प्रदूषण नियन्त्रणका लागि प्रयास गर्नु जरुरी हुन्छ ।
पहिला नै अध्ययन गरेर प्रतिवेदनहरू तयार पारिएको छ भने त्यसलाई कार्यान्वयन गर्नुपर्छ । तर कार्यान्वयन हुनेबित्तिकै हावा स्वच्छ भइहाल्छ भन्ने होइन । वर्षौं लाग्न पनि सक्छ । प्रदूषणमुक्त वातावरण निर्माणका लागि हामीले त्यही अनुसारको रणनीति बनाउन आवश्यक छ ।
मुख्य कुरा भनेको प्रदूषण गराउने जिम्मेवार कुराहरुलाई कटौती गर्नु हो । डेनमार्क, स्वीडेन लगायतका देशमा प्रदूषण नहोस् भन्नका लागि उच्च ओहोदामा भएकाहरुले पनि साइकल चलाएको देखिन्छ । हाम्रो देशमा पनि प्रदूषण बढाउने कुराहरुलाई कटौती गर्दै लैजानुपर्छ अनि मात्र प्रदूषणबाट बच्न र आउँदा पुस्तालाई बचाउन सकिन्छ ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डाक्टर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाे क्लिनिकल रिसर्च युनिटका संयाेजक हुनुहुन्छ ।