मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
कोभिड-१९ का कारण होस् या अन्य विभिन्न कारणले नागरिकमा मानसिक स्वास्थ्य समस्या देखिन्छ। मानसिक समस्या भएकाहरुसँग काम गर्दै जाँदा पनौती नगरपालिकामा मानसिक स्वास्थ्य समस्याका तीन, चारवटा कारण देखेका छौँ । अलि पाका मान्छेमा १० वर्षे जनयुद्धका कारण पनि यो समस्या देखापरेको छ ।
यस्तै २०७२ सालमा गएको भुइँचालोले पनि यहाँका धेरैजसो नागरिकलाई यो समस्या देखियो । हिजोआज देखिएको मानसिक स्वास्थ्य समस्याको कारण भने प्रायः घरभित्रैको आन्तरिक किचलो बढी पाइन्छ । अब कुरा आउँछ यस्तो समस्या भएकाहरुको लागि पालिकाले के गरिरहेको छ त भन्ने।
यसका लागि पालिकाले पनौती स्वास्थ्य चौकी र कुशादेवी स्वास्थ्य चौकीमा दुई दिन डाक्टर ल्याएर ओपीडी सेवा दिइरहेको छ । ओपीडीमा जाँच गराइ औषधि खानुपर्नेलाई औषधि दिने र औषधि खान नपर्नेलाई मनोपरामर्शदाता कहाँ जान सल्लाह दिन्छौँ । उपचारपछि औषधि खानुपर्ने मानसिक समस्या भएकाहरुलाई चाहिने एक महिनाको औषधि नगरपालिकाले दिने गरेको छ ।
यो समस्या भोगिरहेकाहरुको पारिवारिक अवस्था कस्तो छ, सामाजिक रुपले उहाँहरु कसरी बसिरहनुभएको छ भन्ने विषयमा सहजीकरण गर्ने कुरा पनि हामीले गरेका छौँ । यो कार्य एक/दुई वर्ष पहिलेदेखि गर्दै आएको भए पनि विगत ६ महिनादेखि निरन्तर गर्दै आएका छौँ ।
पनौती नगरपालिकामा १२ वटा वडा छन् । ती सबै वडाका मानसिक स्वास्थ्य समस्या भएकाहरुको सूची हामीसँग छ । त्यहीअनुसार उपचारको लागि कुन दिन डाक्टर आउने भन्ने कुरा स्वास्थ्यले टुङ्गो लगाएको हुन्छ । त्यही आधारमा उहाँहरुलाई खबर गर्छौँ र उहाँहरु आफूलाई पायक पर्ने ठाउँमा आएर उपचार गर्नुहुन्छ ।
यो कार्यमा हाम्रो हरेक वडामा रहेका वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधिले आफ्नो टोल, छिमेकमा यस्तो समस्या भएका कोही भएमा उहाँहरुले स्वास्थ्य केन्द्रसम्म पुग्ने बाटो देखाउनुहुन्छ ।
सामाजिक समस्या
मानसिक स्वास्थ्य समस्या भएका धेरैजसो खुलेर नआउने समस्या छ । किनकि आफ्नो समस्या भनेर बाहिर आउँदा उहाँहरुले समाजबाटै दुर्व्यवहार सहनुपर्छ । यो समस्या भएकाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक छ । यस्तो समस्या भएकाहरुलाई सामूहिक कार्यमा नबोलाउने, यो त दिमाग नभएकोे मान्छे हो भन्ने, पागल भन्दै हेप्ने लगायतका विभिन्न सामाजिक लान्छनाले उहाँहरुलाई खुलेर आउन समस्या छ । यसको लागि सबैभन्दा पहिले समुदायलाई सचेत गराउन आवश्यक छ । अब हामी यो विषयमा पनि काम गर्नेछौँ ।
हामीले बनेपा अस्पतालको समन्वयमा मानसिक स्वास्थ्यबारे जनचेतनामूलक कार्यक्रम गर्ने योजना थियो । योजना अनुसार कार्यतालिका पनि तयार गरेका छौँ । तर, अहिले कोरोनाको कारण हामीले काम सुरु गर्न सकेका छैनौँ ।
स्वरोजगारको लागि पहल
यो समस्या धेरैबेर रहँदैन । नियमित औषधि खाएपछि उहाँहरुलाई ठिक हुन्छ । यसका लागि नगरपालिकामा रहेको स्वास्थ्यशाखाले पनि नियमित फलोअप गर्छ । त्यसपछि उहाँले सामान्यरुपमा के काम गर्न चाहनुहुन्छ, उहाँहरुको प्रस्तावनाको आधारमा स्थानीय सहकारीको सहयोगमा नगरपालिकाका लगानीमा उहाँले चाहेको काम गर्न हामीले सहयोग गरिरहेका छौँ । अहिलेसम्म हामीले चार जनालाई यस्तो सहयोग गरिसकेका छौँ ।
हामीले सहयोग गर्ने भनेको स्वरोजगार बनेर आत्मनिर्भर बनाउनका लागि हो । पालिकाले सहयोग गरेका चारजनाले कृषि र पशुपालनको क्षेत्रमा काम गरिरहनुभएको छ । कसैले बेमौसमी तरकारी गरिरहनुभएको छ भने, कसैले भैँसीपालन, कुखुरापालन गरिरहनुभएको छ । हामीले भैँसीपाल्नेलाई पाडाको व्यवस्थापन, कुखुरा पाल्न चाहनेको लागि कुखुरा वितरण गरेका छौँ । यस्तै तरकारीखेती गर्नेहरुलाई तरकारीको बेर्ना दिने गरेका छौँ ।
पालिकाको अबको योजना
अहिलेसम्म जति हामीले गर्नुपर्ने हो, त्यति काम यो क्षेत्रमा गर्न सकेका छैनौँ । मानसिक समस्या भएका व्यक्तिहरुसँग नजिकबाट काम गर्न थालेपछि हामीलाई पनि महसुस भएको छ कि अब मानसिक स्वास्थ्यका विषयमा पनि छुट्टै फाँट बनाएर काम गर्नुपर्छ ।
अब पालिकाले मानसिक स्वास्थ्यबारे मनोपरामर्शदाताको दरबन्दी राखेर नै यो सेवाअघि बढाउने भन्ने सोच बनाएका छौँ । अबको हाम्रो योजना के छ भने निश्चित रकम त्यहाँ राखेर नयाँ खालको कोष नै खडा गरी नीति बनाएर हिँड्नुपर्छ भन्ने लागेको छ । सबैभन्दा आवश्यक पर्ने बजेट हो । २० लाख रुपैयाँ छुट्याएर काम गरिरहेका छौँ, यो थोरै रकम हो ।
सङ्घसंस्थासँग समन्वय
मानसिक स्वास्थ्यका विषयमा हामीले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर पनि काम गरिरहेका छौँ । अहिले हाम्रो पालिकामा कोशिस संस्थाले मानसिक स्वास्थ्यका विषयमा काम गर्दै आएको छ । हामीले पनि त्यो संस्थासँग सहकार्य गरेका छौँ । अब यो कामलाई निरन्तर रुपमा गर्ने योजनामा छाैँ।
अहिले दुई ठाउँमा सञ्चालन भएको सेवा तीन ठाउँबाट दिने तयारीमा लागेका छौँ । किनकी, यो नगरपालिका ठूलो छ । यहाँको भूगोललाई हेर्दा अहिले हामीले दुई ठाउँबाट यो सेवा दिइरहँदा कतिपय ठाउँका नागरिकलाई त्यहाँ पुग्न समस्या भइरहेको छ ।
यस्तो समस्या भएकाहरुलाई हामीले उत्साहित गर्नुपर्छ । औषधि पनि खुवाउनुपर्छ । उहाँहरु स-साना कुरामा पनि पीर लिने चिन्ता लिने गर्नुहुन्छ । यस्ता सबै समस्या समाधान गर्दै उहाँहरुको चाहनाअनुसार काम गर्ने सोचमा छौँ ।
( न्यौपाने काभ्रेको पनौती नगरपालिकाका प्रमुख हुनुहुन्छ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
न्यौपाने काभ्रेको पनौती नगरपालिकाका प्रमुख हुनुहुन्छ ।