‘सरकार बनाउने मात्र हाेइन, इतिहास बनाउने अवसर पनि हाे कांग्रेसलाई’

 असार २८, २०७८ सोमबार १५:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्च अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य र ऐतिहासिक भएको बताउनुभएको हो । 

उहाँले फैसलाले एकसाथ महत्त्वपूर्ण तीन वटा सन्देश दिएको बताउनुभयो । कार्यपालिकाले संविधान र कानुनभन्दा बाहिर गएर काम गरेको खण्डमा संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा न्यायालयले कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको प्रवक्ता शर्माले बताउनुभयो । त्यसैगरी संसदलाई जोगाउनका लागि संविधानले सांसदलाई दिएको राजनीतिक अधिकारको रक्षा र सुरक्षा पनि न्यायालयले गरेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक यात्रालाई विधि भित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ । नेपाली कांग्रेस यसलाई स्वागत गर्दछ । यो फैसलाले एकसाथ महत्त्वपूर्ण तीन वटा सन्देश दिएको छ । एउटा सन्देश यदि कार्यपालिकाले संविधान र कानुनभन्दा बाहिर गएर कार्य गर्दछ भने हामीले संविधानमा नै व्यवस्था गरेको प्रबन्धअनुसार संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा हाम्रो न्यायालयले त्यो कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको छ । र संवैधानिक इजलास साँचो अर्थमा सम्मानित पुष्टि भएको छ । अर्को सन्देश यसले राजनीतिक रूपमा पनि दिएको छ । संविधानले संसद्लाई जोगाउने राजनीतिक अधिकार सांसदलाई दिएको छ, त्यसको रक्षा र सुरक्षा पनि गरेको छ । यो फैसलाको अन्तर्निहित आत्माको व्याख्या गर्नुपर्दा अब नेपालको संविधान सभाले निर्माण गरेको संविधान भित्रबाट कुनै पनि अधिनायकको जन्म, यसबाट अधिनायकवादतर्फ लैजान्छु भन्ने दुःस्वप्न आजका प्रधानमन्त्री मात्रै होइन भविष्यका कसैले पनि गर्नु हुन्न र लोकतान्त्रिक यात्रालाई विधि भित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको छ । यसले (परमादेश) नेपाली कांग्रेस पार्टीका लागि सरकार निर्माण गर्ने अवसर मात्रै प्रवक्ताका रूपमा मैले भन्दै गर्दा पनि यो केवल सरकार बनाउने अवसर होइन है इतिहास निर्माण गर्ने अवसर हो ।’

संविधान ठिक ठाउँमा आउनुपर्छ भनेर आ–आफ्नो ठाउँबाट योगदान गर्नेहरूप्रति कांग्रेसले सम्मान व्यक्त गरेको छ । प्रवक्ता शर्माले पार्टीले सर्वोच्चको आदेशलाई नेपाली जनताको ऐतिहासिक जितको रूपमा, लोकतन्त्रको जितको रूपमा नेपालको संविधानको जितको रूपमा र यो जितलाई जनताको हितमा प्रयोग गर्ने ऐतिहासिक अभिभाराको रूपमा पनि लिने बताउनुभयो ।

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आवेगमुक्त भएर संयमतापूर्वक मार्गप्रशस्त गर्न ढिलाइ गर्नुहुने छैन भन्ने विश्वास कांग्रेसले लिएको पनि प्रवक्ता शर्माकाे भनाइ छ ।  

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया