देउवाले विश्वासको मत पाउने सम्भावना कति ?

 साउन ३, २०७८ आइतबार १४:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ : आज बस्न लागेको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै उहाँले विश्वासको मत लिने अनुमान गरिएको थिएन । किनकी प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनासम्म विश्वासको मत लिने सुविधा उहाँलाई छ । तर सबैले अनुमान गरे विपरीत उहाँले आज प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

एमालेमा पार्टी एकताको पहल भैरहेको र यो पहल सफल भएमा पछि विश्वासको मत पाउन नसकिने भएकाले देउवाले हतार गर्नुभएको बुझिएको छ । त्यसो त मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँले मन्त्रिपरिषद विस्तारभन्दा पहिले विश्वासको मतलाई प्राथमिकता दिंदै आउनुभएको छ । यसबीचमा उहाँले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ । नेता नेपाल पक्षबाट विश्वासको मत पाउने सुनिश्चित भएपछि उहाँले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले विज्ञप्ति नै निकालेर देउवालाई विश्वासको मत दिन आह्वान गर्नुभएको छ भने नेपाल समूहका सांसदहरु अनौपचारिक छलफलमा जुटेका छन् ।

यस्तो छ संसदको अङ्कगणित

​प्रतिनिधिसभा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादवको पक्षमा १७ र राष्ट्रिय जनमोर्चाकी एक सांसद गरी देउवाको पक्षमा १२८ मत पुग्छ । प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन प्रधानमन्त्री देउवालाई १३६ मत आवश्यक पर्छ । एमालेको माधव नेपाल समूहको कम्तिमा ८ मत पाएमा उहाँले विश्वासको मत पाउनुहुन्छ ।

एमालेको १२१ सांसदमध्ये २६ जनाले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए भने तीमध्ये २३ जना सांसदले सर्वोच्च अदालतमा परेको रिटका पक्षका हस्ताक्षर गरेका थिए। सर्वोच्चमा बुझाइएको रिटमा एमालेका यी सांसदसहित बहुमत अर्थात् १४६ सांसदको हस्ताक्षर जुटेको हुनाले देउवाले विश्वासको मत पाउने कांग्रेसको दावी छ । त्यसो त सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बन्ने प्रयोजनका लागि मत दिएबापत् सांसदहरूलाई कारबाही नगर्नु भनेर ह्वीप नलाग्ने निर्णय गरिसकेको अवस्था रहेकाले देउवाको पक्षमा क्रस भोटिङ हुने र सरकारले विश्वासको मत पाउने कांग्रेसको विश्वास छ ।एमालेले संस्थागत रुपमा देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

पार्टी फुटाउने षड्यन्त्र भयो : भीम आचार्य

नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताउनुभएको छ । आज माधव नेपाल निवासमा भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले एक महिना समय हुँदाहुँदै र अरु विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताउनुभएको हो ।

‘दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन’ उहाँले भन्नुभयो । उहाँले देउवालाई विश्वासको मत दिने बारेमा कुनै छलफल नभएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया