काठमाण्डौ उपत्यकाभित्र बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा, उपत्यका बाहिर पनि अनुगमन सुरु

 साउन ६, २०७८ बुधबार ७:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकाभित्र बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा परेका छन् । साउन एक गतेदेखि नै अनुगमन सुरु गरेको र पाँच दिनमा २ सय ५१ गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबारदेखि शनिबारसम्म १ सय ६० तथा आइतबार, सोमबार र मंगलबार गरी थप ९१ वटा गाडीलाई कारबाही गरेको थियो । हिजो मात्रै १७ वटा गाडी कारबाहीमा परेका छन् । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा साउन १ गतेदेखि लागू हुने गरी २८ प्रतिशतसम्म भाडा बढाएको थियो । तर अन्तर प्रदेशमा बढेको भाडादरलाई देखाएर छोटो दूरीमा समेत मनपरि भाडा लिन थालेपछि अनुगमन थालिएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

बढी भाडा लिने गाडीलाई निःशुल्क नम्बर १०३ मा फोन गरेर सूचना दिन पनि महाशाखाले आग्रह गरेको छ । एउटै गाडीले पटक पटक बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने पनि प्रवक्ता दासले बताउनुभयो । काठमाण्डौ उपत्यका बाहिर पनि बढी भाडा लिएको गुनासो बढ्न थालेको छ । प्रदेशभित्रकै एक जिल्लाबाट अर्को जिल्लामा चल्ने तथा छोटो दूरीका गाडीले बढी भाडा लिएपछि अनुगमन थालेको यातायात व्यवस्था विभागले जनाएको छ ।

कुनै बसले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा नजिकको प्रहरी वा प्रशासनमा उजुरी गर्न विभागले अनुरोध गरेको छ । उजुरीकै आधारमा तोकिएको भन्दा बढी भाडा लिने सिन्धु हेलम्बु यातायातको बा ३ ख २७१९ नम्बरको बस हिजो कारबाहीमा परेको छ । तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि कारबाही गरेको मेलम्चीका ट्राफिक प्रहरी प्रह्लाद दाहालले बताउनुभयो । बसमा अनिवार्य भाडा सूची टाँस्न, सिट क्षमता भन्दा बढी यात्रु नराख्न तथा कोरोना सङक्रमण जोखिम कायमै रहेकाले यात्रु, चालक तथा सहचालक सबैले स्वास्थ्यका मापदण्डको पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया