मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घ...
फागुन १५, २०८१ बिहिबार
माेरङ – जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्न वर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ ।
मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुन भुटुनको जोहो गर्दै आएका छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डुम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ । मोरङको उत्तरी क्षेत्रमा पर्ने यो चारकोशे झाडीमा प्राकृतिक रुपमा उम्रिने निगुरो यसक्षेत्रका निम्नवर्गका मानिसहरुका लागि आयस्रोतको बन्ने गरेको छ ।
निम्न आयश्रोत भएका सर्वसाधारण दिनहुँ यो जंगलमा निगुरो टिप्न प्रवेश गर्छन् । उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारण समेत यहाँ निगुरो संकलन गर्न आउँछन् । एकाबिहानै जंगल प्रवेश गर्ने उनीहरु दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो संकलन गर्छन् । मिक्लाजुङ गाउँपालिका ३ की भिममाया विक दैनिक छिमेकी महिलाहरुसँग निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान ८ बजेदेखि ३ बजेसम्म लगातार टिप्दा प्रायजसो दैनिक एक डोको निगुरो लिएर गाउँ फर्किने गरेको उहाँले बताउनुभयो । अन्य महिनाको तुलनामा वर्षाको ३ महिना निगुरो बढी पाइने गरेको उहाँले सुनाउनुभयो ।
मधुमल्ला टाँडीकी देविका दर्जी समेत दैनिक महिलाहरुको समूह बनाएर डुम्रेको यो जंगलमा निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान बेलुकाको घरधन्दाबाट बँचेको समय उहाँले नियमितरुपमै निगुरो टिप्न खर्चिनुहुन्छ । निगुरो टिपेरै बालबच्चाको भरणपोषण र घरखर्च समेत चलाउने गरेको उहाँको भनाई छ ।
मधुमल्लाको टाँडीबाट निगुरो संकलन गर्न आइपुग्नुभएका मनबहादुर रसाइली पेशाले दैनिक ज्याला मजदुरी गर्नुहुन्छ । पछिल्लो समय कोरोनाका कारण शुरु भएको लकडाउन र निषेधाज्ञाका कारण ज्यालादारी गुमेपछि उहाँ समेत निगुरो टिपेरै दैनिक गुजारा चलाइरहनु भएको छ । निगुरो टिपेरै सबै खर्च नचल्ने भए पनि भरथेगसम्म हुने गरेको उहाँको भनाइ छ ।
जंगलबाट संकलन गरिने निगुरो अधिकांशरुपमा गाउँघरमै खपत हुने गरेको छ भने पूर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यस्को मुख्य बिक्री स्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरुले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित बिक्रीका लागि राखिने निगुरो खरिद गर्छन् । पौष्टिक सागको रुपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखि ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ । निगुरो प्राकृतिक रुपमै उम्रिने र हुर्किने भएकाले बिषादी र मलखाधको दुष्प्रभावबाट समेत मुक्त हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।