आश्रित परिवारले पेन्सन पाउन थालेपछि सामाजिक सुरक्षाप्रति आकर्षण बढ्यो

 पुष ४, २०७८ आइतबार १३:५०:५१ | रासस
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ–नेपाल आबद्ध परिषद्ले हिजो आयोजना गरेको 'सामाजिक सुरक्षाको वर्तमान अवस्था : आगामी कार्यदिशा' विषयक अन्तरक्रियामा उहाँले कोषमा आबद्ध भएकाहरुका आश्रित परिवारले पेन्सन पाउन थालेपछि यसप्रति आकर्षण र विश्वसनियता पनि बढेको बताउनुभयो । 

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न यस्तै प्रकृतिका अन्य निकायसमेत हुँदा कतिपयलाई अन्योल रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कोषले प्रदान गर्ने सुविधा अन्यत्रबाट प्राप्त गर्न कठिन रहेको बताउनुभयो ।

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रित परिवारको सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ । मन्त्री श्रेष्ठले कोषको दायरा विस्तार हुँदै जाँदा सबै क्षेत्रका श्रमिक आबद्ध हुने विश्वास व्यक्त गर्नुभयो । अहिले औपचारिक क्षेत्रका श्रमिकमात्र कोषमा आबद्ध हुँदै आएका छन् । सरकारले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई पनि कोषको दायरमा ल्याउने तयारी गरेको छ ।

आगामी दिनमा कोषबाट प्रदान गरिने सुविधा वृद्धि हुँदै जाने विश्वास दिलाउँदै उहाँले सामाजिक सुरक्षाका मूल्य मान्यता एवं सिद्धान्त, अन्तर्राष्ट्रिय अनुभव र अभ्यास एवं देशको आर्थिक एवं सामाजिक परिवेशलाई दृष्टिगत गरी यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । 

विसं २०७५ मङ्सिर ११ मा सामाजिक सुरक्षा योजना शुभारम्भ भएको थियो । हालसम्म कोषमा १६ हजार रोजगारदाता र तीन लाख श्रमिक आबद्ध भएका छन् । कोषले १२६ योगदानकर्ताका आश्रित परिवारलाई पेन्सन दिन थालेको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया